सर्लाहीको लालबन्दी नगरपालिका ७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिको प्रवेशद्वार उद्घाटन भएको छ । लालबन्दी नगरपालिका ७ को लालबन्दी बजारमै रहेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीको प्रवेशद्वार बिहीबार उद्घाटन भएको हो । प्रदेश सरकारको रु २५ लाख र बजार व्यवस्थापन समितिको १५ प्रतिशतको लगानीमा प्रवेशद्वार निर्माण गरिएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको छ ।
कृषि ज्ञान केन्द्र सर्लाहीको आयोजनामा भएको कार्यक्रममा प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री सैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहले प्रदेश समृद्ध बनाउन प्रदेशका सबै नागरिक आर्थिंक रुपले सबल र समृद्ध हुनु पर्ने बताउनुभयो । उहाँले प्रदेश २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउने गरी प्रदेश सरकार लागि परेको बताउनु भयो ।
मन्त्री साहका अनुसार प्रदेश २ सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर नीति,कार्यक्रम तथा बजेट विनियोजन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सर्लाहीका किसानहरुलाई जिल्ला बाहिरबाट बीउ ल्याएर खेती गर्नुपर्ने बाध्यता रहदै आएको प्रदेश सरकारले महसुस गरेको र यस्तो अवस्थाबाट किसानहरुलाई छुटकारा दिलाउन अब चाँडै सर्लाही जिल्लामै बीउ उत्पादन तथा भण्डारण गर्ने व्यवस्था मिलाउने तयारी प्रदेश सरकारले गरिरहेको समेत जानकारी गराउनुभयो ।
प्रवेशद्वार उद्घाटन कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य बेची लुङ्गेली, सञ्चमाया मोक्तान, लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खडका , कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा लगायतको विशेष उपस्थिती रहेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको छ ।