Close This

धानको उत्पादन घट्ने चिन्तामा सिन्धुलीका किसानहरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-१७ गते   २३११ पटक हेरिएको

सिन्धुलीका किसानहरुलाई यतिबेला धानबाली भित्र्याउन हतार छ । बर्षभरी खाने अन्नबाली भित्र्याउन किसानहरु बिहान देखि बेलुकी सम्म खेतमै भेटिन्छन् तर धानबाली भित्र्याउन उत्साहित बनेका कतिपय किसानहरुलाई यस वर्ष धानको उत्पादनले निरास बनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष धानको उत्पादन कम भएकोमा किसानहरु निरास भएका हुन् ।

दुधौली नगरपालिकाका-३, निपानेका किसान उमेश काफ्ले यस वर्ष धानको उत्पादन घटेकोमा चिन्तित हुनुहुन्छ । कोरोना भाइरस माहामारीका कारण लामो समयसम्म भएको लकडाउनका कारण राम्रो बिउ, मलखाद, प्राविधिकहरुको उचित सरसल्लाह नपाएको कारण धानबालीमा विभिन्न रोग लाग्दा धानको उत्पादन घटेको बताउनु भयो । अहिले कोरोना भाइरस महामारीका कारण बाहिर कमाउन जाने परिवारका सदस्यहरु पनि गाउँघरमानै छन् । जिविकोपार्जनको मुख्य स्रोतनै धानबालीलाई बनाएको किसानहरु परिवार पाल्नै मुस्किल हुने बताउँछन् ।

दुधौली नगरपालिका-३, निपानेकी किसान हेम कुमारी कटुवाल भोकमरीकै अवस्था आउने हो की भन्ने चिन्तामा हुनुहन्छ । धानबालीमा नै निर्भर उहाँको परिवारलाई यस बर्ष धानको उत्पादनले नधान्ने भए पछि अहिले देखिनै बालबच्चा कसरी पाल्ने भन्ने चिन्ताले सताएको बताउनु भयो ।

दुधौली नगरपालिकाकै किसान ट्रम बाहदुर कार्कीले धान बालिमा लाग्ने रोग, किराले हैरान बनाएको बताउनु भयो । दशैँ-तिहार कुनै पनि चाडपर्वको प्रवाह नगरि दैनिक खेतबारीमै खटिएर काम गरे पनि धानको उत्पादन राम्रो नभएको बताउनु हुन्छ । हिजोआज किराले बाला काटेर खेतमा झारेको धान जम्मा गर्दै बडालकुडाल गर्दागर्दै दिन बित्ने गरेको बताउनु भयो । महामारीको समयमा बाहिर निस्किएर कमाउन जान नसकिने र कृषि पेशामा पनि उन्नती राम्रो नभए पछि आफुलाई मात्र नभएर समुदायमा सबैलाई चिन्तित बनाएको उहाँको भनाई छ ।

कृषिज्ञान केन्द्र सिन्धुलीका सूचना अधिकारीका श्री कृष्ण अधिकारीका अनुसार अघिल्लो वर्ष फौजी किराले र यो वर्ष  गबारो र डढुवा जस्ता रोगले धानबालीमा क्षती गरेका करण धानको उत्पादनमा घटबढ हुन सक्ने बताउनु हुन्छ । यस बर्ष सिन्धुलीमा १४ हजार ७ सय हेक्टरमा धान खेति गरिएको थियो । सरकारी निकाय बाट वितरण हुने मल, बिउबिजन बालिनालीमा देखिने रोग, किरा जस्ता समस्याको समाधान समयमानै नहुँदा किसानले बालिनालीबाट वर्षेनी घाटा बेहोर्दै आएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech