सर्लाहीको बागमती नगरपालिका वठा नम्बर ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको नेपाल कै सबैभन्दा ठूलो मानवनिर्मित ताल “भरत ताल”अहिले मधेस प्रदेश घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ बनेको छ ।चुरे पर्वतको मनोरम फेदी र सधैं कलकल बगिरहेको बागमती नदीको किनारमा अवस्थित यो ताल अहिले सर्लाहीको मात्र नभई सिंगो मधेस प्रदेशकै एउटा नयाँ र आकर्षक पहिचानको रूपमा स्थापित भइसकेको छ।झट्ट हेर्दा समुद्रकै अनुभूति गराउने यस विशाल मानवनिर्मित संरचनाले नेपालदेखि छिमेकी देश भारतको बिहार प्रान्तसम्मका हजारौँ पर्यटकलाई दैनिक रूपमा आकर्षित गरिरहेको छ।भने आन्तरीक आयस्रोतको राम्रो सम्भावना बोकेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत सर्लाहीको बागमती नगपालिका–११ कर्मैयास्थित वागमती पुलबाट करिब तीन किलोमिटर दक्षिण लागेपछि पुगिने यो ताल विशेषगरी नवविवाहित जोडीहरू,फोटो खिच्ने र टिकटक बनाउने युवायुवतीहरूदेखि लिएर पारिवारिक जमघट र बिदाको दिन पिकनिक मनाउन आउनेहरूका लागि मधेसकै पहिलो रोजाइको पर्यटकीय थलो बनेको छ।हाल यस ताल र यसको वरपर भइरहेको अभूतपूर्व विकासको अध्ययन तथा अवलोकन भ्रमणका लागि देशका विभिन्न स्थानीय तहहरुका जनप्रतिनिधिहरू,कर्मचारीहरु र अध्ययन टोलीहरू आउने क्रम समेत दिनानुदिन बढी रहेको छ ।
विगतमा बागमती नदीको बगर र बाँझो जमिनको रूपमा रहेको खाली भू–भागलाई स्थानीय सरकारको दूरदर्शिता र विशेष पहलले अहिले मधेस प्रदेश कै एउटा चम्किलो पर्यटकीय स्थलको रुपमा रूपान्तरण गरि दिएको छ।देशका अन्य पालिकाहरू अनावश्यक खर्च देखाएर भ्यू टावर बनाएर आम्दानी बढाउने परम्परागत र अनुत्पादक योजनामा अल्झिरहँदा बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुख भरत कुमार थापाले भने बहुउद्देश्यीय परियोजनाको परिकल्पना गरेर एउटा पृथक र उदाहरणीय काम गरेर देखाएका छन्।
नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ बाट आम्दानीको स्रोत बढाउन र माछापालन गर्ने लक्ष्यका साथ “बागमती माछापोखरी”बनाउने योजना अन्तर्गत बाँझो जमिन खन्न सुरु गरेको थियो।तर,पोखरी बनाउँदै जाँदा एक सय २१ बिघा क्षेत्रफल ओगट्ने विशाल आकार लियो र पछि यसलाई भव्य पर्यटकीय तालकै रूपमा विकास गरियो।आधिकारिक रूपमा निर्माणस्थलको बोर्डमा अझै पनि “बागमती माछा पोखरी परियोजना”नै नामकरण गरिएको भएपनि नगर प्रमुख थापाकै विशेष नेतृत्व र परिकल्पनामा यो काम भएकाले स्थानीयवासी र पर्यटकहरूले स्वतःयसलाई “भरत ताल”भनिदिए।सामाजिक सञ्जालमा यो नाम यसरी भाइरल भयो कि ताल वरपरका होटल,पसलदेखि लिएर यहाँ चल्ने सवारीसाधन र बोटहरूमा समेत “भरत ताल”नै लेखिएपछि यो नाम देश–विदेशमा प्रख्यात बन्न पुग्यो।
यो बहुउद्देश्यीय पर्या–पर्यटन परियोजनाको निर्माण कार्य सुरुवाती चरणमा निकै तीव्र गतिमा अगाडि बढेको थियो।ताल र यसको वरपरको प्रारम्भिक संरचना बनाउन करिब रु ६० रकम खर्च गरिसकेको नगरपालिकाले हालसम्म आइपुग्दा करिब रु ९८ करोड खर्च भइसकेको जनाएको छ।यस बृहत् परियोजनामा मधेस प्रदेश सरकारको ८० प्रतिशत,बागमती नगरपालिकाको १५ प्रतिशत र संघीय सरकारको पाँच प्रतिशत लागत साझेदारी रहेको छ।
यसरी कानुनी अड्चनका कारण मुख्य कामहरू रोकिए तापनि भरत तालको क्रेज र रौनक भने कति पनि घटेको छैन।अचम्मको कुरा त के छ भने,हालसम्म निर्माण भइसकेका सिमित भौतिक संरचना,पार्क र बोटिङ क्षेत्रकै भरमा पनि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड थामि नसक्नु छ।अपुरो अवस्थामै रहेको यो ताल क्षेत्र अहिले पनि स्वदेशी र भारतीय पर्यटकका लागि मधेसकै सबैभन्दा चल्तीको “हब”बनिरहेको छ।कानुनी प्रक्रिया सुल्झिएर बाँकी रहेको रु एक अर्ब बराबरको बहुउद्देश्यीय गुरुयोजनाले पूर्णता पाउने हो भने यो क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने आधार हाल निर्मित संरचनामा ओइरिएका पर्यटकको भीडले प्रमाणित गरिसकेको छ।
बागतमी नगरपालिकाले वार्षिक करिब रु ६० लाख पर्यटक आकर्षित गर्ने महत्वकांक्षी लक्ष्यका साथ तालको दक्षिण र पश्चिम भागमा पर्ने बाँझो जमिनलाई समेटेर एक सय २५ बिघा क्षेत्रफलमा एउटा विशाल नगर बगैँचा र पार्क निर्माणको काम अगाडि बढाएको थियो।उक्त क्षेत्रमा आँप,लिची लगायतका फलफूलका विभिन्न बिरुवाहरू रोपिएका छन्।पर्यटकलाई विश्वस्तरीय सेवा सुविधा दिनका लागि तालकै बीच भागमा रु सात करोडको लागतमा एउटा सुविधा सम्पन्न र अत्याधुनिक होटल निर्माणाधिन अवस्थामा छ ।
यसबाहेक,तालको उत्तरपट्टिको भागमा सुमेरु पर्वतको सुन्दर आकृति बनाएर त्यहाँ शिव–पार्वतीको विशाल मूर्ति स्थापना गर्ने,जहाँ भगवान् शिवको जटाबाट पानी कलकल झरेको आकर्षक स्वरूप देखिने योजना तत्कालीन नगर उप प्रमुख लीलाकुमारी मोक्तानले बताएकी थिइन्।यसका साथै ताल परिसरमा ३० वटा अत्याधुनिक पिकनिक स्पट,५० वटा चौतारा र प्रतीक्षालयहरू बनाउने तथा चलचित्र विकास बोर्डको प्रस्तावमा यहाँ चलचित्र छायांकन क्षेत्र र सिङ्गो देशको झल्को दिने “मिनी नेपाल”बनाउने अद्भुत परिकल्पना गरिएको थियो।
तर,वर्तमान समयमा निर्माण प्रक्रियामा आइलागेको कानुनी अड्चन र बजेटको अन्योलताका कारण यी बृहत् योजनाहरू हाललाई पूर्ण रूपमा रोकिएर अधुरो अवस्थामै सीमित बन्न पुगेका छन्।योजनाहरू कागजमै थन्किएर भौतिक संरचनाहरू अधुरै रहँदा पनि यहाँ आउने पर्यटकहरूको संख्यामा कुनै कमी आएको छैन।हाल जति पार्क र हरियाली क्षेत्र बनेको छ, त्यतिमै पनि रमाउन,टिकटक बनाउन र घुमफिर गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको भीडले भरत तालको साखलाई मधेस प्रदेशकै शीर्ष स्थानमा कायमै राखेको छ।
प्रकृतिको काखमा अवस्थित करिब ४५ फिटसम्म गहिरो यो विशाल ताल पर्यटकीय दृष्टिले मात्र नभई पर्यावरणीय र कृषिका लागि समेत वरदान साबित भएको छ।मधेस क्षेत्रमा चुरे दोहनका कारण जमिन मुनिको पानीको सतह घट्दै गएको र पानीका मुहानहरू दिन प्रतिदिन सुक्दै गइरहेका बेला यो एक सय २१ बिघाको तालले “वाटर रिचार्ज”को काम गरिरहेको छ। जसका कारण पहिले सुकेका तल्लो भेगका रैथाने कुवा र इनारहरूमा ताल निर्माण भएपछि स्वतःपानी भरिन थालेको स्थानीयले अनुभव छ ।
यो तालमा पानीको कमी कहिल्यै हुन नदिन नजिकै बहने बागमती नदीबाट पानी हाल्ने स्थायी व्यवस्था मिलाइएको छ।पानीको निकासका लागि आधुनिक“सुली गेट”बनाइएकाले एकातिरबाट नदीको पानी हाल्ने र अर्कोतिरबाट जमेको पानी निकाल्ने गरिन्छ।यो निरन्तर जल–प्रवाहका कारण तालको पानी कहिल्यै फोहोर हुँदैन र दुर्गन्धित हुने सम्भावना पनि रहँदैन।यद्यपि, गहिराइ बढी भएकाले र पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै तालमा मानिसहरूलाई पौडी खेल्न र माछा मार्न पूर्ण रूपमा निषेध गरिएको छ।
भरत ताल पुग्ने पर्यटकहरूका लागि मनोरञ्जन र साहसिक खेलका थुप्रै विकल्पहरू तयार पारिएका छन्।तालमा तीव्र गतिमा कुद्ने मोटरबोटदेखि मिनी क्रुज र ३५ सिट क्षमता भएको जेटबोटले पर्यटकलाई नेपालमै बसेर समुद्रमा घुमेको जस्तो रोमाञ्चक आभास दिलाउने गरेको छ।हाल तालमा २६ वटा अत्याधुनिक इलेक्ट्रोनिक बोटसहित साना–ठूला गरी करिब ४० वटा डुङ्गाहरू सञ्चालनमा आइसकेका छन्।
बिदाको दिनबाहेक सामान्य दिनमा पनि दैनिक रु.एक लाखसम्मको टिकट बिक्री हुने गरेको छ भने शनिबार,आइतबार र अन्य सार्वजनिक बिदाका दिनमा दुई हजारभन्दा बढी पर्यटकले बोटिङको आनन्द लिने गरेका छन्।बोटिङका अतिरिक्त तालको एक छेउमा रोमाञ्चक “स्काई साइक्लिङ”,घोडचढी,उँटचढी र बालबालिकाहरूका लागि अत्याधुनिक खेल सामाग्री सहितको फनपार्क समेत सञ्चालनमा छ।तालको पानीमा पौडिइरहने हंसराज प्रजातिका हाँसहरू र हावाको बेगसँगै छल्किने पानीको फोहोराले यहाँको सौन्दर्यलाई थप लोभलाग्दो बनाएको छ।
आर्थिक वर्ष २०७८÷०७९ बाट आंशिक रूपमा सञ्चालनमा आएको यस तालले मधेसको आर्थिक र सामाजिक जनजीवनमा अभूतपूर्व क्रान्ति ल्याएको छ।बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार,हाल निर्माण कार्य रोकिएको विषम परिस्थितिमा पनि यस तालमा भइरहेको बोटिङ र अन्य व्यवसायबाट मात्र नगरपालिकालाई वार्षिक रु एक करोड भन्दा बढीको प्रत्यक्ष आन्तरिक आम्दानी भइरहेको छ।आगामी दिनमा कानुनी अड्चनहरू सुल्झिएर दुवै खण्ड पूर्ण रूपमा निर्माण भई सञ्चालनमा आउन सके यो आयस्रोत अझै कयौँ गुणा बढ्ने नगरपालिकाले विश्वास लिएको छ।
रोजगारीको सवालमा यो आयोजना मधेसकै सबैभन्दा ठूलो र दिगो स्रोत बनेको छ।ठूला भौतिक निर्माणका कामहरू ठप्प भए तापनि हाल चालू रहेका पर्यटकीय गतिविधिमार्फत दैनिक पाँच सय भन्दा बढी स्थानीयले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् भने करिब एक हजार भन्दा बढी मानिसले अप्रत्यक्ष रोजगारी पाएका छन्।ताल बनेपछि खुलेका छेउछाउका होटल, रेस्टुरेन्ट,साना खाजा घरहरू र पर्यटकको चापका कारण स्थानीय अटो रिक्सा व्यवसायीहरूको व्यापार निकै फस्टाएको छ।
यस तालको देशव्यापी चर्चा र लोकप्रियताले गर्दा बागमती नगरपालिका मात्र नभई करिब पाँच किलोमिटर आसपासको दूरीमा रहेको रौतहटको“नुनथर क्षेत्र”र सर्लाहीकै ऐतिहासिक “हरिहर क्षेत्र”मा समेत पर्यटकहरूको आगमन बढेको छ।ताल घुम्न आएका आन्तरीक पर्यटकहरुले पहिले ताल र बोटिङ हेर्न पोखरासम्म धाउनुपर्ने बाध्यता रहेकामा अब आफ्नै छिमेकी जिल्लामा पोखराको लेकसाइडको भन्दा बढी आनन्द लिन पाउने ताल निर्माण भएको भन्दै खुसी व्यक्त गरेका छन्।
यस तालको निर्माण र सौन्दर्यकरणका क्रममा प्रशासनिक रूपमा कानुनी विवाद र अनियमितताका चर्चाहरू बाहिर आएर अहिले काम रोकिन पुगे तापनि यसले स्थानीय स्तरमा पु¥याएको बहुउद्देश्यीय फाइदा र आर्थिक समृद्धिका अगाडि ती आलोचनाहरू फिका सावित भएका छन्।नदी उकास बगर र बाँझो जमिनलाई कानुनी उतार चढावका बीच पनि कसरी एउटा जीवन्त पर्यटकीय सम्भावना र समृद्धिको बलियो आधार बनाइ राख्न सकिन्छ भन्ने बागमती नगरपालिकाको यो“भरत ताल”परियोजना सिंगो देशका सात सय ५३ वटै स्थानीय तहका लागि एउटा उत्कृष्ट र ऐतिहासिक “सिकाई मोडेल”बनेको छ।