“जलवायुमैत्री प्रविधि,धानमा आत्मनिर्भरता र समृद्धि”भन्ने मूल नारासहित सिन्धुलीमा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ । हरेक वर्ष असार १५ गते मनाईने यो दिवश कमलामाई नगरपालिका र कृषि विकास कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा सहित कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल र प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको विशेष उपस्थितिमा मनाईएको हो ।
पूर्वाधार विकाससँगै कृषिमैत्री विकासलाई पनि समान प्राथमिकता दिनुपर्ने जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख लामाले बताए ।उनले तीनै तहका सरकारबीच समन्वय गरी कृषि उत्पादन वृद्धि र कृषकको आयआर्जनमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।खेतीयोग्य जमिनमा बढ्दो पूर्वाधार निर्माणका कारण जिल्लामा धान उत्पादन घट्दै गएको कमलामाई नगरपालिकाका नगर प्रमुख पोखरेलले बताए ।उनले आधुनिक प्रविधिमा आधारित खेती प्रणाली अपनाउनु पर्नेमा जोड दिँदै कृषि उत्पादन बढाउन प्राङ्गारिक मलको प्रयोग आवश्यक रहेको उल्लेख गरे ।
राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल नगरी समृद्ध र उन्नत नेपाल निर्माण सम्भव नभएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताईन् ।उनले धान केवल खाद्यान्न बाली मात्र नभई यसको आर्थिक,सामाजिक,सांस्कृतिक र धार्मिक महत्व समेत रहेको उल्लेख गर्दै आगामी दिनमा स्थानीय तहहरूले कृषि क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिइन्।
कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीकमलामाई नगरपालिकाकी उपप्रमुख शान्ता कार्की लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी तथा कृषि प्राविधिकहरु सहित कृषकहरूको उल्लेख्य सहभागितामा धान रोप्नुका साथै दही चिउरा खाएर दिवस तथा रोपाई महोत्सव मनाईएको हो ।