सर्लाही ट्राफिकले गर्याे, सडकमै चालककाे स्वास्थ्य र सवारीसाधनकाे यान्त्रिक परीक्षण

389 Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रालाई प्राथमिकता दिँदै सडकमै चालकको स्वास्थ्य परीक्षण र सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण अभियान सञ्चालन गरेको छ।

पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले स्वास्थ्यकर्मी तथा प्राविधिकको सहकार्यमा उक्त अभियान सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक झलक पाैडेल शर्माले बताए। उनका अनुसार अभियान अन्तर्गत पूर्व–पश्चिम राजमार्ग तथा जिल्लाका विभिन्न व्यस्त सडकखण्डबाट सञ्चालन हुने यात्रुवाहक बस,ट्रक, माइक्रोबस,जिप,टेम्पो तथा अन्य सवारीसाधनहरुका ६२ जना  चालकहरुकाे स्वास्थ्य तथा सवारीसाधनहरुकाे यान्त्रिक परिक्षण गरिएको हाे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीको आयाेजना तथा लालबन्दी माेडेल अस्पताल लालबन्दीकाे स्वास्थ्य प्राविधिक सहयाेगमा चालकको रक्तचाप,मधुमेह, दृष्टिक्षमता तथा अन्य आधारभूत स्वास्थ्य परीक्षण गरिएको छ। साथै चालकको शारीरिक अवस्था सुरक्षित रूपमा सवारी चलाउन उपयुक्त भए/नभएको र यातायात व्यवस्था कार्यालय मलंगवा सर्लाहीको प्राविधिक सहयाेगमा सवारी साधनको ब्रेक प्रणाली,टायरको अवस्था, स्टेरिङ, लाइट, इन्डिकेटर, वाइपर,हर्न,इमर्जेन्सी उपकरण तथा अन्य अत्यावश्यक यान्त्रिक पक्षको समेत परीक्षण गरिएको हाे ।

परीक्षणका क्रममा सामान्य कमजोरी देखिएका सवारीलाई तत्काल मर्मत गर्न निर्देशन दिइएको छ भने गम्भीर प्राविधिक समस्या भएका सवारीलाई मर्मत नगरी सञ्चालन नगर्न चेतावनी दिइएको सर्लाही ट्राफिक प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक शर्माले चालकको स्वास्थ्य अवस्था र सवारीसाधनको प्राविधिक कमजोरीका कारण पनि धेरै दुर्घटना हुने भएकाले यस्तो अभियान सञ्चालन गरिएको बताए।उनका अनुसार दुर्घटना भएपछि कारबाही गर्नेभन्दा दुर्घटना हुनै नदिन पूर्वसावधानी अपनाउनु नै अभियानको मुख्य उद्देश्य हो।

दूरीका चालकले नियमित स्वास्थ्य परीक्षण गराउनु आवश्यक रहेको बताए। उच्च रक्तचाप,मधुमेह, अत्याधिक थकान,निद्राको कमी तथा दृष्टिसम्बन्धी समस्याले सवारी दुर्घटनाको जोखिम बढाउने भएकाले चालकले आफ्नो स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने स्वास्थ्य प्राविधिक तर्फ समन्वय गरेकाे लालबन्दी माेडेल अस्पतालका प्रमुख डा. आलाेक कुशवाहाले बताए । अभियानका क्रममा ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सडक सुरक्षा सम्बन्धी सचेतना समेत दिएको छ।

मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, सिटबेल्ट तथा हेल्मेट अनिवार्य प्रयोग गर्न, तीव्र गति नियन्त्रण गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ। सडकमै स्वास्थ्य तथा यान्त्रिक परीक्षण गरिन थालेपछि चालकहरूले पनि यसको स्वागत गरेका छन्। समयमै स्वास्थ्य अवस्था थाहा पाउनुका साथै सवारीसाधनमा रहेका प्राविधिक समस्या पहिचान भएर दुर्घटना हुनबाट जोगिन मद्दत पुग्ने उनीहरूको भनाइ छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै सडक सुरक्षा अभिवृद्धिका लागि सम्बन्धित निकायसँग समन्वय गरी नियमित रूपमा स्वास्थ्य परीक्षण,यान्त्रिक परीक्षण तथा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। प्रहरीका अनुसार नियम कार्यान्वयनसँगै जनचेतना र सवारीको प्राविधिक अवस्था सुधार गर्न सके सडक दुर्घटनामा उल्लेखनीय कमी ल्याउन सकिने विश्वास गरिएको छ।

सम्बन्धित समाचार