डाकुहरुको पुनर्वासबाट पहिचान फेरेर निस्केका किरण

254 Shares

नेपालका एक राजाले बासस्थान उपलब्ध गराइदिएको र अर्का राजाले सो स्थानको लालपूर्जा उपलब्ध गराइदिएको सर्लाहीको लालबन्दी नगरपालिका–२“पुनर्वास”का जनताले आफ्नो पहिचान पुरै फेरेका छन्।यो पुनर्वास के हो त ? भन्ने विषयमा हामी यहाँ विस्तृतमा चर्चा गर्दै गरौँला अहिले भने सोही वस्ती लालबन्दी नगरपालिका–२ का वडा अध्यक्ष किरण कुमार पासवानको बारेमा चर्चा गरौं।बुवा रामपुकार पासवान र आमा उम्दा देवीको कोखबाट २०३९ जेठ ३ गते जन्मेका किरण यतिवेला सर्लाहीको लालबन्दी नगरपालिका–२ का वडा अध्यक्ष छन्।देश संघीयता संरचनामा गएपछि भएको पहिलो र दोस्रो  स्थानीय तहको निर्वाचनमा किरण वडा अध्यक्षमा निर्वाचित भए ।
किरणका बुवा रामपुकार नेपाली कांग्रेसका क्रियाशिल सदस्य थिए।बुवाको राजनीतिक सक्रियताले पनि हुन सक्छ,किरणले किशोरावस्थादेखि नै सामाजिक विषयमा रुची राख्थे।उनी स्कूलमै पढिरहँदा घरमा आउने पार्टीका नेताहरुले“छोरालाई राम्ररी पाऊ,जागिर लगाइदिन्छ भन्ने गर्थे”किरणलाई पढाइमा मन पनि लाग्थ्यो।तर,कृषक पृष्ठभूमि भएको परिवारमा हुर्केका उनलाई दिउँसो विद्यालय गएपनि बिहान–बेलुका खेतमा काम गर्नेपर्ने बाध्यता थियो।खेतको काम र पढाइसँगै गर्दा जागिर खानेगरी पढाइको स्तर राम्रो हुन सकेन।लालबन्दीकै जनज्योति मा.विबाट एसएलसीसम्म त पढियो सरकारबाट पाएको र बुबाले जोडेको समेत करिब पाँच विघा आफ्नो खेत थियो।टमाटरको खेतीमा लालबन्दी पहिल्यैदेखि नाम कहलिएको थियो । किरणले पनि सोही खेतीलाई व्यवसायिक रुपमा अघि बढाउने प्रण गरे।खेतीमा मेहनत गरे धेरै आम्दानी हुन्थ्यो ।परम्परागत रुपमा परिवारले गर्दै आएको खेतीसम्म ठिकै थियो । किरणले त्यसैलाई मुख्य पेशा बनाइरहन उपयुक्त देखेनन् । आखिर साथीसंगतले जिल्ला विकास (जिविस) को ठेक्कासम्म किरणलाई पुरयाइदियो ।

740712654_2092968554951611_2183375440772266123_n.jpg
राजमार्ग साइडमा नदीजन्य वस्तु सप्लाइ गर्ने काम राम्रो आम्दानीको आधार थियो।जिल्ला विकासको ठेक्का हात पार्न ग्वाङ नै परिचालन गर्नुपर्ने प्रवृत्ति थियो।आफूले ठेक्का पाउनु छ भने अर्को पक्षलाई तह लगाउन युवाहरुलाई बाउन्सरको रूपमा प्रयोग गर्ने चलनले किरणलाई त्यहाँसम्म लगेको हो।केही समय नबित्दै किरण आफै ठेकेदारको भूमिकामा प्रस्तुत हुन थाले ठेक्काको काम गर्दागर्दै निर्माण व्यवसायीको पहिचान बनाउन पुगेका किरणले दोस्रो संविधान सभा निर्वाचनमा सभासदका लागि चुनावी मैदानमा ओर्लिए।गाउँका सक्रिय होनहार युवाको रुपमा परिचित किरणलाई दलित जनजाती पार्टीले टिकट दियो।चुनाव जित्न त सकेनन् तर दलितको रुपमा पछि पारिएका समुदायको हकहितका लागि निर्वाचनले उनलाई भने प्रतिबद्ध बनाइदियो ।
मामाका छोरा दाजु राधेश्याम पासवानले अगुवाइ गरेको उक्त पार्टीको नाममा किरणले टोल, वस्ती,नगर र क्षेत्रका जनताबीच अधिकारको आवाज बुलन्द गर्न थाले ।प्रथम संविधान सभा निर्वाचनमा राधेश्याम आफै उम्मेदवार थिए।किरणले चुनाव लड्नु अगाडी निर्माण व्यवसायमा लागेर गाउँका करिब दुई दर्जन युवालाई रोजगारी दिएका थिए ।
जनतामा परिचित र धेरैले मन पराउने अनुहार भनेर दोस्रो चुनावमा किरणलाई उम्मेदवार बनाइएको थियो।समुदायमा चेतना अभिवृद्धि गरी सदनमा प्रतिनिधित्व सुनिश्चित गर्दै पछि परेका समुदायलाई उकास्ने कानून निर्माण गर्नु उनको मुख्य ध्येय थियो।चुनावमा पराजित भएपछि उनलाई दलित समुदाय भित्रै सिमित रहेर अधिकार स्थापित गराउन नसकिने बोध भयो ।विकल्पको रुपमा कुनै ठूलो पार्टीमा आबद्ध भएर सबैको साथ लिएर उद्धेश्य अनुरुप काम गर्नुपर्ने निष्कर्षमा उनी पुगे । 
जनताको प्रतिनिधिले लेखेको संविधान जारी भएपछि २०७४ मा करिब २० वर्षपछि स्थानीय निर्वाचन सम्भव भयो।किरणले नेकपा(माओवादी)पार्टी रोज्दै वडा अध्यक्षका लागि पुनःमैदानमा ओर्लिए।जनताले अनुमोदन गरिदियो र उनी वडा अध्यक्ष भए।यसका लागि पुनर्वासका जनताको एकताले राम्रो भूमिका खेलेको उनी सम्झन्छन् ।
पुनर्वासको कथा ?
पुनर्वासको कथा लामो छ।यहाँ छोटकरीमा प्रस्तुत गर्छौं।धनुषाको झिझामा पासवान समुदायको ठूलै बस्ती थियो।ती बस्तीका युवा पुरुषहरुले रात्रीकालिन समयमा चोरी गर्थे।एक हिसाबले उनीहरुको पेशा नै चोरी थियो।राजा महेन्द्र शाहको पालाको कुरा हो।कुनै वेला भारतको बिहारबाट संगठित रुपमा डाकाहरुको हुल नेपालमा पसेर दिन दहाडै बैंकहरु लुट्थे।उनीहरुले बढी नै दुःख दिन थालेपछि नेपालको प्रहरी प्रशासनलाई ठूलो चुनौती आइपर्यो।जे गरेपनि उनीहरुको आतंक नियन्त्रण गर्न सहज नदेखिएपछि झिझाका युवाहरुलाई नेपाल प्रहरीले नै हातहतियार उपलब्ध गराइ दिएर भारतीय भूमिमा डकैती गर्न पठाउन थाल्यो।यसले त्यहांको सुरक्षा निकायलाई पनि चुनौती बढ्यो । अन्ततःदुई देशबीचका सीमावर्ती सुरक्षा नेतृत्वले आपसमा समझदारी गर्दै आ–आफ्ना मुलुकका डाकाहरुलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे।सोही दिनबाट अन्तरदेशीय समस्या समाधान भएपनि आन्तरिक चोरी र डकैतीका घटना निरन्तर भइरहयो ।
एक समय राजा महेन्द्र शाहको सवारी जलेश्वरमा थियो।सुरक्षाका लागि तैनाथ गरिएको घेराको भित्री भागमा बर्दीविनाका युवाहरु देखिए।राजा महेन्द्रले उनीहरुको बारेमा जिज्ञासा राखेपछि प्रहरी नायव उपरिक्षक मान बहादुरले फेहरिस्त सुनाए।राजाले बासस्थान परिवर्तन गरेपछि पुरानो पेशाको विकल्प रोज्न सहज हुने युक्ति निकाले।त्यस क्रममा भारत सरकारले उनीहरुलाई सामुहिक रोजगारीका लागि पनि अफर गयो ।२०–२२ जना गए पनि तर केही समयमै उनीहरु फर्केर आए।राजा महेन्द्रको आदेशमा उनीहरुलाई नवलपरासीतिर ठूलो जग्गाको व्यवस्था गर्ने जोहो गरियो।उनीहरुले भने नाता कुटुम्बहरु नजिकैका गाउँमा रहेकाले आउजाउ र भेटघाट गर्न असहज हुने समस्या तेस्र्याए।त्यसपछि जनकपुरकै एयरपोर्ट नजिक व्यवस्था गरियो।पुरानो बस्तीबाट त्यो दुरी नजिकै भएको हुनाले बासस्थान फेर्नुको औचित्य नहुने देखियो।अन्त्यमा सर्लाहीको लालबन्दी नजिक जग्गा व्यवस्थापन गरी त्यहीँ पुनर्वास गराइयो। राजा महेन्द्रले २०३४ सालमा उपलब्ध गराइ दिएको उक्त जग्गाको लालपूर्जा पछि राजा विरेन्द्र शाहले बाँडेका थिए।पहिचान फेर्न सफल किरण चोरी र डाकाको पहिचान फेर्न भनेर राज्यले पुनर्वावास गराइदिएपछि पासवान समुदायलाई वैकल्पिक पेशा अंगाल्न गाह्रो भइरहेको थियो। सरकारले नै खेतीका लागि जग्गा र आवश्यक प्रविधिसमेत उपलब्ध गराइ दिएपछि धेरै हदसम्म सफलता पनि प्राप्त भयो ।
किरणले भने चोरी गर्ने समुदायलाई खेतीमा सामेल गरेर मात्र नपुग्ने सोचे।वैदेशिक रोजगारीसँगै बालबालिकालाई गुणस्तरीय शिक्षा दिएर स्वदेशमै रोजगार र स्वरोजगारका विभिन्न उपायहरु खोज्दै गए ।सोही क्रममा किरणले गाउँको विद्यालयलाई सुधार गरे।पासवान बस्तीको झुपडीमा सञ्चालन भइरहेको सामुदायिक विद्यालय (सलहेश आधारभूत विद्यालय)लाई पक्की बनाए।सोही अनुरुपको जनशक्ति व्यवस्थापन गरे।व्यवस्थित स्वास्थ्य चौकी बनाइ दिए।लगभग सबैको खेतमा चाहिएको बखत स्वीच थिचेर प्राप्त गर्न सक्नेगरी सिचाइँको व्यवस्था गरिदिए।
वडा अध्यक्षको रुपमा किरणले जित्नुभन्दा अगाडीसम्म सडक र विकास भनेको नवलपुर चोकसम्म सिमित थियो ।गाउँ,बस्तीको नक्शामा बाटो थियो हिँड्न थिएन।लखनदेही नदीले वर्षाको समयमा रातभर जाग्राम बस्ने समुदायका लागि जित्ने बित्तिकै किरणले तटबन्ध गरी सुरक्षित गरिदिए।गाउँभरीका बाटो पत्ता लगाएर पीच र ढलान गराइदिए।अहिले नगर कै
सबैभन्दा बढी व्यवस्थित सडक भएको वडा किरणकै हो।अब खेतीमा केही विद्युतीकरण र एकाध सडक पीच गर्नु बाहेक भौतिक रुपमा गर्न बाँकी काम नै छैन।यसै कार्यकालको बाँकी अवधीमै त्यो पनि पुरा गरी छाड्ने उनको विश्वास छ।सुरुमा चुनाव लड्दा पुनर्वासको भर पर्ने किरणले अब आउने निर्वाचनमा उम्मेदवारी मात्रै दिए कम्तीमा नगरका दुई वडाबाट ८० प्रतिशत भन्दा बढी मत पाउने विश्वास गर्छन्।उनले दलित समुदायको पहिचान फेर्न उनीहरुका बालबालिकालाई अनिवार्य रुपमा आवासीय विद्यालयमा भर्ना गरी गुणस्तरीय शिक्षा दिन सक्नुपर्ने तर्क गर्छन्।अन्य समुदायका युवाहरुसँग जुनसुकै क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्नेगरी सक्षम नबनाएसम्म दलित र अधिकारका कुरा कुरैमा सिमित रहने उनको धारणा छ।उनी पहिलो पाँच वर्षको कार्यकालमा गरेको कामको रफ्तारले अर्को कार्यकालमा निरन्तरता पाउन नसकेकोमा असन्तुष्ट छन्।नगर प्रमुख जिम्मेवार र क्रियाशिल भए स्थानीय सरकारको काम गर्ने गति बढ्ने भएपनि प्रमुख असक्षम भए बाँकी प्रतिनिधिले चाहेर पनि केही गर्न नसक्ने हालत भोगिरहेको दुखेसो उनले सुनाउँछन्।जे भएपनि गरिबीको पृष्ठभूमि भएका जनप्रतिनिधिले गरिबलाई कल्याण गर्नेगरी काम गर्न सक्ने अनुभव उनको छ।अगामी निर्वाचनका लागि स्वास्थ्य अवस्थाको कारण आफू पूर्ण रुपले तयार नरहेपनि जनताप्रति इमान्दार नेतृत्व चयन गर्न नगरबासीसँग किरणले अपिल गरे ।

सम्बन्धित समाचार