सर्लाहीको लालबन्दी,मलंगवा,हरिवन र बरहथवा लगायतका स्थानका करिब एक दर्जन होटलहरुलाई मधेश प्रदेश सरकारले जरिवाना गरेको छ।मधेस प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री फकिरा महतो नेतृत्वको अनुगमन समितिले गरेको स्थलगत अनुगमनका क्रममा सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित रहेको होटल युनाईटेडलाई रु एक लाख, हरिवन स्थित सम्राट होटललाई रु २० हजार,नयाँ रोडको सिता प्यालेसलाई रु एक लाख र होटल होलिडेलाई रु एक लाखका साथै बरहथवाको काफ्ले होटललाई रु सात हजार,
लब्ली स्वीटलाई रु २० हजार,अन्नपुर्ण होटललाई रु २० हजारका साथै वर्गर हाउनलाई रु १५ हजार त्यसैगरी मलंगवाको महेन्द्र होटललाई रु २० हजार,नवरंग होटललाई रु २० हजार, पञ्चवर्ती होटललाई रु २० हजार,न्यू ग्रिन ब्याम्बोलाई रु १५ हजारका साथै न्यू हटअफ मलंगवालाई रु १५ हजारका साथै प्रेम पानी उद्योगलाई सिल गरिएको मधेस प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री महतोले जानकारी दिए ।
उनका अनुसार अनुगमनका क्रममा अधिकांश होटलहरूले सेवाग्राहीलाई गुणस्तरहीन खाना खुवाउने गरेको तथा खाना पकाउने भान्सामा सरसफाइ प्रति पर्याप्त ध्यान नदिएको पाइएको छ।केही होटलमा खाद्य सामाग्रीको व्यवस्थापन र सरसफाइको अवस्था सन्तोषजनक नरहेको भेटिएपछि पहिलो चरणमा चेतावनी स्वरुप सामान्य कार्बाही गरिएको मन्त्रालयले जनाएको छ ।
बजारमा मन्त्री स्वयम उपस्थित भएर अनुगमन गरेपछि स्थानीयवासीले यसको स्वागत गरेका छन्।यद्यपि,केहीले नियमित अनुगमन र प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।“अनुगमन गर्नु राम्रो कुरा हो,तर यसको कार्यान्वयन कति हुन्छ भन्ने मुख्य विषय हो।समय–समयमा अनुगमनसँगै प्रभावकारी कार्यान्वयन पनि हुनुपर्छ।”स्थानीयले बताए ।
उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्न नहुने बताउँदै होटलहरूले सरसफाइमा ध्यान नदिएको र समय–समयमा बासी खाना समेत बिक्री हुने गरेको गुनासो व्यापक आएपछि स्थलगत अवलोकन गरिएको मन्त्री महत्तोको सचिवालयले जनाएको छ।मन्त्री महत्तोको पहलको प्रशंसा गर्दै स्थानीय सरकारले समेत यस्ता अनुगमनलाई निरन्तरता दिई प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेका छन्।सर्लाहीमा मात्र नभई मधेस प्रदेशका आठै जिल्लाका होटल तथा खाद्य व्यवसायमा अनुगमन अभियान सञ्चालन गरिने मन्त्री महतोले बताए ।