सर्लाहीको लालबन्दी नगरपालिका ११ बाहुनीहुँदै लालबन्दी नगरपालिका १६ परवानीपुर जोड्ने सडक र उक्त सडकमा पर्ने कलभर्ट निर्माण गुणस्तरहिन भएको स्थानीयको आरोप छ ।मधेश प्रदेश सरकारको “एक निर्वाचन क्षेत्र,एक सडक”कार्यक्रम अन्तर्गत लालबन्दी नगरपालिका ११ बाहुनी हुँदै लालबन्दी नगरपालिका १६ परवानिपुर चोक सम्मको छ किलोमिटर सडक तथा उक्त सडकमा पर्ने नाला निर्माण कार्यमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरिएको,सडक निर्माणस्थलमा सूचना बोर्ड नराखेको,कलभर्टमा ढलान गर्दा भाईब्रेसन नदिएको र प्राविधिकको अनुपस्थितिमा निर्माण कार्य गरिएको स्थानीयको आरोप छ ।
पुर्वाधार विकास कार्यालय मलंगवा सर्लाहीले २०८२ असार ४ गते बागमती नगरपालिका १२ को एस.आर.कन्ष्ट्रक्सनले १३ करोड १२ लाख ३७ हजार पाँच सय तीन रुपियाँ २३ पैसामा छ किलोमिटर सडक तथा त्यसमा पर्ने कलभर्ट निर्माण गर्ने भन्दै ठेक्का सकार गरेको भएपनि गुणस्तरहिन निर्माण कार्य गर्दा स्थानीय चिन्तित बनेका छन् ।
उक्त क्षेत्रमा कालोपत्रे सडक निर्माण हुने भएपछि खुसी भएका स्थानीय गुणस्तरहिन निर्माण कार्य हुँदा फेरी निराश भएका छन् ।विकास निर्माणका नाममा करोडौं रुपैयाँ खर्च भए पनि कामको गुणस्तर कमजोर हुनु तथा मापदण्ड अनुसार निर्माण सामाग्री प्रयोग नगरिनु र प्राविधिक अनुगमन कमजोर हुनु दुर्भाग्यपूर्ण रहेको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार निर्माणाधीन अवस्थामा सडक र कलभर्टहरू गुणस्तरहिन हुनु दिर्घकालीन विकास योजना विपरित हुनु हो।निर्माण व्यवसायीहरुले लागत घटाउन गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेको स्थानीयको आशंका छ।उनीहरूका अनुसार आवश्यक मात्रामा सिमेन्ट प्रयोग नगरिएको र रड तथा फलाम कम प्रयोग गरिएको छ ।
विकास निर्माणका लागि बजेट विनियोजन गर्ने तर अनुगमन कमजोर हुनु,निर्माणस्थलमा प्राविधिक उपस्थित नहुनु र काम सम्पन्न भएपछि मात्रै कागजी प्रक्रिया पूरा गर्ने गरिदा निर्माण व्यवसायीहरुको मनोवल बढी रहेको स्थानीय जानकारहरु बताउँछन् । जनप्रतिनिधि, कर्मचारी तथा निर्माण व्यावसायीहरुबीचको मिलेमतोका कारण गुणस्तरमा सम्झौता भएको हुनसक्ने आशंका गरिएको छ।
यता,उक्त निर्माण कार्यमा गुणस्तरीयतामा कुनै किसिमको सम्झौता नगरेको र गुणस्तरिय काम गरेको इन्जिनियर रन्जीत साहले दाबी गरे।उनले कलभर्टमा भाईब्रेट चलाउनु पर्ने र उक्त क्षेत्रमा विद्युत नभएकाले भाईब्रेट नचलाएको स्वीकार गरे ।उनले अरु विषयमा लगाईएको आरोप निराधार रहेको दाबी गरे।“ठेक्का सम्झौता अनुसार नै काम गरिएको हो।प्राविधिकको स्वीकृति बिनाको कुनै काम गरिएको छैन।”उनले भने ।
सार्वजनिक खरिद नियमावली अनुसार कुनैपनि निर्माण स्थलमा सूचना बोर्ड अनिवार्य राख्नु पर्ने भएपनि उक्त निर्माण स्थलमा सूचना बोर्ड समेत नराखिएको पाइएको छ ।उक्त निर्माणस्थलमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र दीर्घकालीन रूपमा टिकाउ हुने गरी पुनःनिर्माण गर्न स्थानीयले माग गरेका छन्।गुणस्तरहीन विकासले जनधनको क्षति मात्र नभई जनताको विश्वासमा समेत असर पर्ने भन्दै उनीहरूले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।