ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात व्यवस्था कार्यालयबाट पाउने सेवा अबदेखि नपाउने भएका छन्।उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाख पथले ट्राफिक कारबाहीमा परेर पनि लामो समयसम्म जरिबाना नतिर्ने सवारी चालकको विवरण यातायात कार्यालय पठाएको कार्यालयका प्रवक्ता एवम प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
उनका अनुसार ट्राफिक प्रहरीले पठाएका विवरणका आधारमा यातायात कार्यालयले सवारी चालकहरु तथगा सवारी धनीहरुले यातायातबाट पाउने सेवा रोक्का गरि दिने भएको हो । उपत्यका ट्राफिक प्रहरीले अनलाइन प्रणालीमार्फत कारबाही प्रक्रिया थालेदेखि हालसम्म जरिबाना नतिर्ने दुई लाख ६१ हजार सवारी चालकको विवरण यातायात व्यवस्था कार्यालय पठाएको प्रवक्ता सुवेदीले बताए ।
सोही विवरणका आधारमा कार्यालयले उनीहरूले पाउने सेवा रोकेको हो।लामो समय जरिबाना नबुझाइ सोही रसिदलाई लिएर सवारी चालकहरुले अर्काे जरिवाना नकाट्ने तथा लामो समय सम्म जरिवाना वापतको रकम नतिर्ने गरेपछि ट्राफिक प्रहरीले यो तरिका अपनाएको हो ।
“ट्राफिक कारबाही परेका सवारी चालकले लामो समयदेखि जरिबाना नबुझाएको पाइएपछि हामीले विवरण यातायात कार्यालय पठाएका थियौँ।कार्यालयले भने उनीहरूको सेवा रोकेको जनाएको छ ।”प्रवक्ता सुवेदीले बताए ।
योसँगै अब जरिवाना नतिर्ने सवारी चालकले यातायात कार्यालय मार्फत हुने सवारीसाधन खरिद बिक्रीको काम गर्न नपाउने भएका छन् भने नयाँ सेवाका लागि जरिवाना अनिवार्य तिरेको हुनुपर्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ।हाल जरिवाना नतिर्ने सवारी चालक तथा सवारी धनीहरुलाई यातायात व्यवस्था कार्यालयले एसएमएस मार्फत जानकारी गराउन थालेको छ ।