सर्लाहीको हरिवनमा भव्य कार्यक्रमका बिच शनिबारबाट तीन दिने हरिवन व्यापार तथा औद्योगिक मेला २०८१ सुरु भएको छ ।हरिवन नगरपालिका ११ स्थित हरिवन नगर उद्योग वाणिज्य संघको आयोजनामा तीन दिने व्यापार तथा औद्योगिक मेलाको उद्घाटन गरिएको हो ।
हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)को प्रमुख आतिथ्यतामा उद्धघाटन गरिएको हरिवन व्यापार तथा औद्योगिक मेला २०८१ मा हरिवन नगरपालिकाकी नगर उप प्रमुख हरिमाया घलान र घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका प्रमुख संजिव कुमार दुवे लगायतको विशेष उपस्थिति रहेको हरिवन नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रयाग राज पोतेले जानकारी दिए ।
उनका अनुसार कोरोना महारीको संकट पछि निरन्तर ओरालो लागेको उद्योग तथा व्यापार व्यवसायलाई चलायमान बनाउन मेलाको आयोजना गरिएको हो ।मंसिर ३ गते सम्म चल्ने मेलामा सांस्कृतिक कार्यक्रम,कृषि तथा औद्योगिक उत्पादन र व्यापार प्रदर्शनीका लागि २५ वटा स्टल समेत निर्माण गरिएको छ ।
त्यसैगरी विश्व प्रसिद्ध बाराको पञ्चवर्षिय गढिमाई मेला पनि मंसिर १ गतेबाट शुरु भएको छ।बाराको महागढिमाई नगरपालिका २ स्थित गढिमाई मन्दिर परिसरमा लाग्ने मेला हरेक पाँच वर्षमा लाग्ने र एक महिनासम्म चल्ने गरेको महागढिमाई नगरपालिका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार मेलामा देश विदेशबाट हजारौं दर्शनार्थीहरुको घुईँचो लाग्ने र हजारौंको संख्यामा राँगा र बोका लगायतका पशुपंक्षीको बलि दिने परम्परा रहेको छ।गढिमाई विश्वमै सबैभन्दा बढी पशुबलि दिने मेला भनेर पनि चिनिन्छ।यद्यपि पशु अधिकारकर्मीहरुले भने बलि प्रथाको विरोध गर्दै आएका छन्।मेलामा मंसिर २३ गते आईतवार रांगा बलि र २४ गते बोका बलि दिईने कार्यक्रम रहेको मेला व्यवस्थापन समितिले जनाएको छ।