सर्लाहीका उखु किसानहरुको अनुदान रकम आजबाट वितरण सुरु

157 Shares

सर्लाहीका उखु उत्पादक किसानहरुका लागि सरकारले पठाएको अनुदान वापतको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवा सर्लाहीले शुक्रबारबाट वितरण सुरु गरेको छ ।२०८३ असार १६ गते कार्यालयलाई सर्लाहीका १८ हजार तीन सय ५१ जना उखु उत्पादक किसानहरुका लागि अनुदान वापतको रकम ४१ करोड २२ लाख २१ हजार आठ सय ६९ रुपैँया ५० पैसा प्राप्त भएकोमा उखु उद्योगहरुले किसानहरुको विवरण समयमै उपलब्ध नगराउँदा अनुदान वापतको रकम करिब १० दिनपछिबाट वितरण सुरु भएको प्रमुख कोष नियन्त्रक एवम कार्यालय प्रमुख पदम प्रसाद पौडेलले बताए ।
उनका अनुसार “असार १६ गते कार्यालयलाई रकम प्राप्त भयो।असार १८ गते भुक्तानी समिति सहित चिनी मिलहरु बसेर छलफल गरी  तीन दिन भित्रमा चिनी मिलहरुले किसानहरुको तथ्यांक उपलब्ध गराउने भनिएको भएपनि चिनी मिलहरुले छ दिनपछि बुधबार मात्रै किसानहरुको विवरण कार्यालयलाई उपलब्ध गराएका र कार्यालयको र चिनी मिलहरुको प्राविधिक टिम बसेर सबै तयारी गरि सकेको छ।तर आर्थिक वर्षको अन्त्य भएकाले बिहीबार भुत्तानी नगरिएको र शुक्रबारबाट हरिवन स्थित इन्दु शंकर चिनी उद्योगले उपलब्ध गराएको तथ्यांक अनुसार भुक्तानी गर्न सुरु गरिएको हो ।”
शुक्रबार करिब १० हजार किसानहरुका लागि अनुदान वापतको रकम भुक्तानी हुने र असार महिना भित्रैमा सबै रकम भुक्तानी गरि सक्ने र किसानहरुको खाता नम्बर नमिलेको अवस्था बाहेक किसानहरुको अनुदानको रकम फ्रिज हुन नदिने गरी कार्यलयले काम गर्ने प्रमुख कोष नियन्त्रक एवम कार्यालय प्रमुख पौडेलले बताए ।
उखु क्रसिङ सिजन २०८२÷०८३ मा इन्दुशंकर चिनी उद्योग हरिवन,महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौलले जिल्लाका १८ हजार तीन सय ५१ जना उखु उत्पादक किसानहरुबाट खरिद गरेको ५८ लाख ८८ हजार आठ सय ८३ दशमलव ८५ क्विन्टल उखु क्रसिङ गरेका र सो विवरण अनुसार सरकारले प्रतिक्विन्टल रु ७० का दरले अनुदान रकम पठाएको हो । 
त्यही अनुसार असार १८ गते मलंगवामा तीनवटै चिनी उद्योगका प्रतिनिधि सहित भुक्तानी समिति र कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवा सर्लाही बसेर उखु उत्पादक किसानहरुलाई अनुदान रकम भुक्तानी दिने विषयमा बैठक बसेको थियो।सो बैठकमा चिनी उद्योगका प्रतिनिधिले तीन दिनभित्र आ–आफूले उखु खरिद गरेको किसानको पूरा ठेगाना खुल्ने गरी नामावली,बैङ्क खाता र खरिद गरिएको उखुको परिमाण लगायतका विवरण पठाउने सहमति जनाए पनि बुधबार मात्रै उखु उत्पादक किसानहरुकोे विवरण प्राप्त भएकोले कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवा सर्लाहीले करिब १० दिनपछि भुक्तानी सुरु गरेको कार्यालयले जनाएको छ ।
तीन दिनभित्र किसानको विवरण दिइसक्छौँ भनेका चिनी उद्योगका प्रतिनिधिले छ दिन पछि मात्रै विवरण पठाउँदा भुक्तानी हुन नसकेको प्रमुख कोष नियन्त्रक एवम कार्यालय प्रमुख पौडेलको भनाइ छ।उनका अनुसार आर्थिक वर्षको अन्तिममा जिल्लाभरका ७४ बढी कार्यालयको भुक्तानीको प्रणाली हेर्नुपर्ने र हरहिसाब समेत मिलान गर्नुपर्ने चापका साथै चिनी मिलहरुले विवरण ढिलो पठाउँदा किसानहरुको अनुदान रकम भुक्तानीमा ढिलो भएको हो ।
यता,उखु उत्पादक किसानहरुको विवरण तयार पार्न अत्यन्त झन्झटिलो रहेकाले प्रत्येक उखु उत्पादक किसानहरुको विवरण पठाउन ढिलाइ भएको सर्लाहीका चिनी मिलहरुको भनाई छ ।अनेक कार्यविधि बनाएर उखु उत्पादक किसानहरुलाई झन्झट दिने काम मात्र भइरहेको चिनी मिलहरुको भनाई छ ।सर्लाहीमा रहेका तीन वटा चिनी मिलहरु मध्य इन्दु शंकर चिनी उद्योग बाहेक महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौलले आफैले उखु उत्पादक किसानहरुलाई भुक्तानी गर्नुपर्ने रकम चुक्ता गरेका छैनन् । 

सम्बन्धित समाचार