सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अवस्थित ऐतिहासिक सम्पदा नाढीमन ताल संरक्षण र व्यवस्थापनका लागि गाउँपालिकाले प्रयास गर्दै आएको छ।जैविक विविधता,धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यो तालसम्म पुग्न भिन्न सडक निर्माण हुनुका साथै तलको सौन्दर्यकरणको काम भई रहेको गाउँपालिका अध्यक्ष राज कुमार महत्तोले बताए।उनका अनुसार नाढीमन ताललाई जोड्ने सडकहरु व्यवस्थित भए ताल परिसर जिल्लाकै उत्कृष्ट पर्यटकीय स्थल बनाउने गरी काम भई रहेको छ ।
गाउँपालिकाले अझ पहल गरेर सडक निर्माणसँगै तालको सरसफाइ र सजावटमा ध्यान दिने उनको भनाइ छ।“यो प्राकृतिक तालसम्म आउन धेरै मानिस लालहित छन् तर यसको उचित संरक्षणसँगै यहाँसम्म आउन सडकहरु राम्रा हुन जरुरी छ।”स्थानीयले बताए ।उनीहरुका अनुसार तालको संरक्षण,नियमित सरसफाइ तथा पर्यटकीय पूर्वाधार निर्माणमा गाउँपालिका र यहाँका जनप्रतिनिधिहरुको ध्यान पुग्नुपर्ने छ।तालको वरिपरि व्यवस्थित विश्रामस्थल,पर्यटन सूचना बोर्ड तथा हरियाली व्यवस्थापन गरिए आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको स्थानीय बताउँछन् ।
स्थानीयका अनुसार नाढीमन तालको ऐतिहाँसिक अवस्थाबारे प्रचार प्रसार काम भएको छ ।यो ताल जैविक विविधता,धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण भएपनि प्रचार प्रसारको अभावमा आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित हुन सकिरहेका छैनन् ।ताल संरक्षण गर्न पालिकाले गरेको प्रयास र पुराना बोट संचालनमा गरेको प्रयास पनि सराहनिय रहेको स्थानीय बताउछन् ।उनीहरुले सुरुमा ताललाई घेराबेरा गरेर थप अतिक्रमण हुन दिन नहुनेमा जोड दिए ।वर्षायाममा तालमा पानीको सतह बढ्ने र विभिन्न प्रजातिका चराचुरुङ्गी तथा जलचर देखिने गरेका स्थानीयले बताए।वातावरण संरक्षणसँगै स्थानीय आयआर्जनमा समेत योगदान पुग्ने भएकाले तालको दीर्घकालीन संरक्षण आवश्यक रहेको उनीहरुको भनाई छ ।
ऐतिहासिक नाढीमन तालको संरक्षणमा गाउँपालिकासँगै प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने चन्द्रनगर गाउँपालिकाका पुराना राजनीतिज्ञ सत्यदेव सिंह दनुवारले बताए ।उनले गाउँपालिका एक्लैले ताल संरक्षण गरेको भए पनि प्रदेश र संघ सरकारले सहयोग नगरेको दुःख व्यक्त गरे ।
नेपाल सरकारले ताललाई देशका उत्कृष्ट सय भ्रमण स्थलको सूचीमा राखेको छ ।वि.सं. १९७४÷०७५ तिर राणा प्रधानमन्त्री चन्द्र शम्शेरले यो क्षेत्र बडाकाजी मरिचमान सिंह प्रधानलाई दिएका थिए।तिनै मरिचमान सिंहको नामबाट यसलाई नाढीमन भनिएको विज्ञद्दहरु बताउँछन् ।कुनै समय यो ताल ५१ बिगा जमिनमा फैलिएको थियो।तर,अतिक्रमणका कारण अहिले यसको पानीको भाग खुम्चिएर करिब ३५ बिगामा सीमित भएको छ ।