लुटेराहरुको निसानामा लालबन्दीका व्यापारीहरु,सुरक्षा निकायमाथि गम्भीर प्रश्न खडा

199 Shares

सर्लाहीको लालबन्दी क्षेत्रमा पछिल्लो पटक  भएको एक घटनाले स्थानीय व्यवसायीलाई त्रसित बनाएको छ।मधेस प्रदेशको व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गएको लालबन्दीमा व्यापारीहरुलाई लक्षित गरि भएको लुटपाटको प्रयासका क्रममा गोली प्रहार भएपछि लालबन्दीको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठेको छ।यद्यपि व्यवसायी र उनीसँग रहेका साथी सकुशल रहे पनि घटनाले अपराधी समूहको बढ्दो सक्रियता र रातिको सुरक्षा व्यवस्थाको कमजोरीलाई उजागर गरेको छ।
“लालबन्दी नगरपालिका–९ बस्तीपुर निवासी तथा लालबन्दी नगरपालिका–७ स्थित बजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका हरिप्रसाद सापकोटा बुधबार राति पसल बन्द गरी एक जना साथीसँग मोटरसाइकलमा घर फर्किरहेका थिए।राति करिब ९ बजे लालबन्दी नगरपालिका–७ र लालबन्दी नगपालिका–९ को सीमामा रहेको आइडियल स्कुल नजिकको सुनसान सडकमा उनीहरूलाई मोटरसाइकलमै आएका अपरिचित व्यक्तिहरूले रोकेर लुटपाटको प्रयास गरेका थिए।”जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
कार्यालयका अनुसार प्रारम्भिक अनुसन्धान अनुसार आक्रमणकारीहरूले पहिले व्यवसायीलाई नियन्त्रणमा लिएर लुट्न खोजेका थिए।तर सापकोटाले प्रतिकार गरेपछि सामान्य धकेलाधकेल भएको र त्यसलगत्तै आक्रमणकारीले कटुवा पेस्तोलबाट गोली प्रहार गरेका छन्।गोली व्यवसायीलाई नलागेपछि मानवीय क्षति हुनबाट जोगिएको भए पनि घटनाले व्यवसायी समुदायमा भयको वातावरण सिर्जना गरेको छ।
घटनास्थलबाट पड्किसकेको गोलीका दुई वटा खोका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक वेदप्रसाद गौतमले बताए।उनका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीबाट प्रहरी नायव उपरिक्षकको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेको थियो।सम्भावित क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरिए पनि समाचार तयार पार्दासम्म घटनामा संलग्न व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन्।
लालबन्दी पूर्व–पश्चिम राजमार्गसँग जोडिएको व्यस्त व्यापारिक बजार हो।दैनिक ठूलो परिमाणमा नगद कारोबार हुने भएकाले यहाँका व्यवसायी लामो समयदेखि अपराधी समूहको निगरानीमा पर्ने गरेको छन््।विशेषगरी मोबाइल,सुनचाँदी,इलेक्ट्रोनिक्स तथा वित्तीय कारोबारसँग सम्बन्धित व्यवसायीहरू साँझ पसल बन्द गरेर घर फर्किने समयमा बढी जोखिममा पर्ने गरेका उद्योग बाणिज्य संघ लालबन्दीले जनाएको छ।अपराध अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार यस्ता घटनामा संलग्न समूहले पहिले केही दिनसम्म व्यवसायीको गतिविधि निगरानी गर्ने,उनी कहिले पसल बन्द गर्छन् ? कुन बाटो प्रयोग गर्छन् ? र साथमा कति नगद वा सामान हुन्छ ? भन्ने जानकारी संकलन गर्ने प्रवृत्ति देखिएको छ। त्यसपछि सुनसान स्थान रोजेर लुटपाटको प्रयास गरिन्छ।
यस घटनामा प्रयोग भएको भनिएको कटुवा पेस्तोल अवैध रूपमा सीमावर्ती क्षेत्रमा भित्रिने घरेलु हतियार हो। यस्ता हतियार सस्तो, सजिलै लुकाउन मिल्ने र आपराधिक गतिविधिमा बढी प्रयोग हुने भएकाले सुरक्षा निकायका लागि चुनौती बन्दै आएका छन्।मधेशका आठ वटा जिल्ला सहित २१ वटा जिल्लाका भारतसँग खुला सीमा जोडिएका छन् ।यी जिल्लाहरु हुने अवैध हतियारको ओसार पसार पूर्ण रूपमा नियन्त्रण गर्न अझै चुनौती रहेको सुरक्षा विश्लेषकहरूको भनाइ छ।पछिल्ला वर्षहरूमा प्रहरीको सक्रियताका बाबजुद यस्ता हतियार प्रयोग गरेर लुटपाट,धम्की तथा हिंसात्मक घटना हुने क्रम पूर्ण रूपमा रोकिएको छैन।
घटना राति धेरै ढिलो नभई करिब ९ बजे भएको हो। बजार क्षेत्रबाट केही दूरीमै रहेको स्थानमा गोली चल्दासमेत अपराधी फरार हुन सफल हुनु सुरक्षा व्यवस्थाका लागि चुनौतीपूर्ण विषय बनेको छ।स्थानीय व्यवसायीहरूका अनुसार बजार बन्द हुने समयमा प्रहरी गस्ती अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ।व्यापारिक क्षेत्रबाट घर फर्किने व्यवसायीलाई लक्षित गरी हुने सम्भावित अपराध रोक्न संवेदनशील सडकखण्डमा नियमित निगरानी, सीसीटीभी विस्तार तथा मोबाइल गस्ती बढाउनुपर्ने माग स्थानीयले गरेका छन्।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि घटनास्थल आसपासका सीसीटीभी फुटेज,सम्भावित भाग्ने मार्ग तथा अन्य प्राविधिक प्रमाणको विश्लेषण गरिरहेको जनाएको छ।घटनास्थलबाट बरामद गोलीका खोका पनि फरेन्सिक परीक्षणका लागि पठाउने साथै घटनाको प्रकृति हेर्दा यो योजनाबद्ध लुटपाटको प्रयास हुन सक्ने कोणबाट अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीले जनाएको छ।आक्रमणकारीहरूले व्यवसायीको गतिविधिबारे पूर्वजानकारी राखेको हुन सक्ने आशंकालाई पनि प्रहरीले नकारेको छैन।पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लामा नगद तथा मूल्यवान् सामाग्री बोकेका व्यवसायीलाई लक्षित गरेर हुने लुटपाटका प्रयासले सुरक्षा चुनौती बढाएको देखिन्छ।यस्ता घटनाले व्यवसायीको मनोबल घटाउने मात्र नभई स्थानीय आर्थिक गतिविधिमा पनि नकारात्मक असर पार्न सक्छ।भने मधेश आन्दोलनको समयमा सुरक्षित मानिएको महोत्तरीको बर्दिवास,सर्लाहीको लालबन्दी,हरिवन र बागमती,रौतहटको चन्द्रनिगाहापुरका साथै बाराको निजगढ क्षेत्र पछिल्लो समय असुरक्षित हुँदै गएका छन् ।

सम्बन्धित समाचार