काभ्रेको रोशी खोला जलाधार क्षेत्रमा सोमबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेपछि सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै वि.पी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि स्थगित गरिएको छ।यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जिल्ला प्रहरी कार्यालय सिन्धुली र काभ्रेपलान्चोकले विशेष सूचना जारी गरी राजमार्गमा चलिरहेका सवारीलाई सुरक्षित स्थानमा रोकेको जनाएको हो ।
रोशी खोला क्षेत्रमा लगातार वर्षा भइरहेकाले नदीको जल प्रवाह कुनै पनि बेला आकस्मिक रूपमा बढ्न सक्ने अवस्था देखिएपछि दुवै तर्फका सवारी साधनहरुलाई रोकिएको काभ्रे र सिन्धुली प्रहरीले जनाएको छ।वि.पी.राजमार्गका नदी किनार तथा जोखिमयुक्त सडक खण्डमा बाढी वा पहिरोको खतरा उत्पन्न हुन सक्ने भएकाले पूर्वसावधानीस्वरूप सवारी आवागमन रोक्ने निर्णय गरिएको हो ।
गत वर्ष आएको बाढीपहिरोले रोशी खोला आसपासको वि.पी.राजमार्गमा ठूलो क्षति पुर्याएको दृष्टान्तलाई दृष्टिगत गर्दै यसपटक सामान्य वर्षाको अवस्थामा पनि सम्भावित जोखिम न्यूनीकरणका लागि सुरुदेखि नै सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।प्रहरीका अनुसार यात्रुको ज्यानको सुरक्षा र सडक पूर्वाधारमा थप क्षति हुन नदिन समयमै सावधानी अपनाइएको हो।
हालसम्म राजमार्गमा पहिरो खस्ने वा लेदो जमेर ठूलो अवरोध सिर्जना भएको अवस्था नरहेको भएपनि यात्रु तथा सवारी साधनहरुको सुरक्षाका लागि सवारी साधनलाई रोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।मौसममा सुधार आएपछि तथा रोशी खोलाको जलसतह सामान्य अवस्थामा रहेको सुनिश्चित भएपछि सम्बन्धित निकायले आवश्यक स्थलगत निरीक्षण र प्राविधिक मूल्यांकन गर्ने र त्यसपछि अर्को सूचना जारी गर्दै राजमार्ग सञ्चालनमा ल्याइने प्रहरीले स्पष्ट पारेको छ ।
यता,काठमाडौंबाट पूर्वी नेपाल तथा तराईका विभिन्न जिल्लातर्फ प्रस्थान गरेका सवारी साधन र वि.पी राजमार्ग हुँदै संघीय राजधानी काठमाडौं जाने सवारीसाधनहरुलाई दुवै तर्फ सुरक्षित बजार क्षेत्र तथा आसपासका व्यवस्थित स्थानमा रोकेर राखिएको छ । वर्षायाममा पहाडी भूभाग तथा नदी किनारका राजमार्गमा यात्रा गर्दा आकस्मिक बाढी,पहिरो र सडक अवरोधको जोखिम उच्च रहने भएकाले यात्रा सुरु गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।