सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ तीनकन्या बेखटाँडीमा एक घर पूर्ण रूपमा पुरिँदा एक जना घाईते भएका छन्।लगातारको अविरल वर्षापछि आएको पहिरोले गोलन्जोर गाउँपालिका–४ तीनकन्या बेखटाँडीमा घर पूर्ण रूपमा पुरिँदा हेमबहादुर मगर घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।कार्यालयका अनुसार घरमा पुरिएका मगरलाई करिब पाँच घण्टाकोे निरन्तर उद्धार अभियान पछि सकुशल अवस्थामा बाहिर निकालिएको छ।पहिरोमा परेर घाइते भएका मगरको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार पहिरो खस्ने बेला उनी घरभित्रै रहेकाले माटो र घरका भग्नावशेषमा च्यापिएर फसेका थिए।घटनाबारे जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी,सशस्त्र प्रहरी बल तथा स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको संयुक्त उद्धार टोलीले उद्धार गरेको हो ।संयुक्त टोलीले प्रतिकूल अवस्था र जोखिमका बीच निरन्तर उद्धार अभियान सञ्चालन गरेको करिब पाँच घण्टाको कठिन प्रयासपछि मगरलाई जीवित अवस्थामा बाहिर निकाल्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार वेश खुर्काेटले जनाएको छ ।
घटनापछि उक्त क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेको गोलन्जोर गाउँपालिका–४ का वडा अध्यक्ष भक्त बहादुर भुजेलले बताए।उनका अनुसार पहिरो प्रभावित स्थान नजिकै रहेको अर्को घरसमेत उच्च जोखिममा रहेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन पनि वडाअध्यक्ष भुजेलले अनुरोध गरे ।
यता,जिल्लामा निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम उल्लेखनीय रूपमा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।प्रशासनले विशेषगरी पहाडी तथा भिरालो भूभागमा बसोबास गर्ने नागरिकलाई मौसमको अवस्थाबारे निरन्तर जानकारी लिँदै सम्भावित विपद्प्रति सचेत रहन आग्रह गरेको हो ।