उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले एकद्वार सेवा प्रणाली पूर्ण रूपमा लागू गरेको छ । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले नमुना कार्यालय बनाउने अभियान अन्र्तगत एकद्वार सेवा प्रणाली पूर्ण रूपमा लागू गरेको प्रमुख टेकेन्द्र कुमार थापाले जानकारी दए ।उनका अनुसार राजस्व दाखिला कार्यालयबाटै हुने व्यवस्था मिलाइएको,सेवाग्राही मैत्री प्रतीक्षालय र सेवाग्राही कक्ष निर्माण गरिएको,स्तनपान कक्ष व्यवस्थापन,सिसिटिभी जडान, विद्युतीय हाजिरी प्रणाली सञ्चालन,कार्यालयको वेबसाइट निर्माण तथा मोबाइल चार्जिङ सुविधा सहितको प्रतीक्षालय सञ्चालनमा ल्याइएको छ । आर्थिक वर्ष २०८२÷०८३ को विनियोजित बजेट,लक्ष्यअनुसार खर्च हुन नसक्नुका कारण,प्राप्त प्रगति,चालु आर्थिक वर्षमा संकलित राजस्व तथा कार्यालयले सम्पन्न गरेका महत्वपूर्ण कार्यहरुका साथै“एक कार्यालय एक वस्तु विकास केन्द्र” समेत शुभारम्भ गरिएको कार्यालय प्रमुख थापाले बताए ।

उद्योग तथा वाणिज्य कार्यालय,सिन्धुलीका कार्यालय प्रमुख थापाको अध्यक्षता तथा उद्योग, वाणिज्य,भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गर्दै कार्यालयलाई नमुना कार्यालयको रुपमा शुभारम्भ गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि एवम मन्त्री श्रेष्ठले बजेट विनियोजन भए पनि समयमै कार्यविधि नबन्दा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै साउन महिनाभित्र आवश्यक कार्यविधि तयार गरी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताईन् ।

करको दर बढाउने भन्दा करको दायरा विस्तार गर्ने सरकारको नीतिअनुसार आर्थिक विधेयक मार्फत उद्योग दर्ता नवीकरण शुल्क ५० प्रतिशतले घटाइएको र यो निर्णयले उद्योग दर्ता तथा प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने मन्त्री श्रेष्ठले विश्वास व्यक्त गरिन् ।मन्त्री श्रेष्ठले यस वर्षदेखि हरेक वर्ष मंसिर २८ गते हस्तकला दिवस मनाउने निर्णय गरिएको जानकारी दिँदै पहिलो हस्तकला दिवसका अवसरमा काठमाडौंको हनुमानढोकामा बागमती प्रदेशका १३ जिल्लाका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका सामग्रीहरूको प्रत्यक्ष प्रदर्शनी आयोजना गरिने बताइन् ।
उद्योग दर्ताको संख्या बढाउनु मात्र कार्यालयको उद्देश्य नभएको उल्लेख गर्दै दर्ता भएका उद्योग सञ्चालनमा छन् वा छैनन्, अनुदानका लागि मात्र दर्ता भएका त होइनन् भन्ने विषयमा नियमित अनुगमन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताईन् ।पर्याप्त बजेट विनियोजन भए पनि अपेक्षाअनुसार काम हुन नसकेको उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए ।इच्छुक नागरिकले भन्दा राजनितिक दलका कार्यकर्ताहरुको तालिम पाउँने गरेको बताउँदै उनले तालिम पश्चात सिप प्रयोगमा नआएको गुनासो गरे ।