सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय,कर्मैयाका डिभिजन प्रमुख सहित मेकानिकल अधिकृत घुस रकम सहित अख्तियारको फन्दामा परेका छन्।डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई रु आठ लाख २१ हजार भन्दा बढी घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले नियन्त्रणमा लिएका हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका प्रमुख राम वहादुर कुरुमवाङको नेतृत्वमा खटिएको टोलिले डिभिजन प्रमुख ढकालको क्वाटरबाट रु सात लाख ५० हजार फेला परेको र खानतलासीका क्रममा स्रोत नखुलेको थप रु ७१ हजार एक सय १५ गरी कुल रु आठ लाख २१ हजार एक सय १५ बरामद गरेको कार्यालयले जनाएको छ ।भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय,कर्मैयाले बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरमा क्वाटर लिएको र उक्त क्वाटरमा छापामार्दा डिभिजन प्रमुख ढकाल बसेको सोफा मै सेवाग्राहीबाट लिइएको रु सात लाख ५० हजार बरामद् भएको हो ।
कार्यालयका अनुसार भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय,कर्मैयाले विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानीको रकम माग्दा कमिसन माग गर्ने गरिएको पाइएको र सोही अनुसार डिभिजन प्रमुख ढकालले मेकानिकल अधिकृत चौधरी मार्फत घुस माग गरेकी थिईन् ।
सोही क्रममा मेकानिकल अधिकृत चौधरीले डिभिजन प्रमुख ढकालको निर्देशनमा सेवाग्राहीबाट रु सात लाख ५० हजार रकम बुझी उक्त रकम डिभिजन प्रमुख ढकालको सरकारी क्वाटरमा पु¥याएका पाईएको अख्तियारले जनाएको छ।सो घटनापछि डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरी दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बाढाईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।