सी डिभिजन लिगमा बागमती युथ क्लब सर्लाहीलाई दोस्रो जित

204 Shares

सर्लाहीको बागमती युथ क्लबले सी डिभिजन लिगमा दोस्रो जित हात पारेको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बागमती युथ क्लब सर्लाहीले सामाजिक युथ क्लबलाई २–० ले पराजित गरेको बागमती युथ क्लब सर्लाहीका महासचिव एवम बागमती नगरपालिकाको नगर खेलकुद विकास समितिका संयोजक सागर मैनालीले जानकारी दिए ।उनका अनुसार बागमतीको जितमा निर्मल बल र सनम घिमालले पहिलो हाफमा गोल गरे ।
निर्मलले आठौं मिनेटमा गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए भने सनमले ३४ औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारेका बागमती युथ क्लब सर्लाहीले जनाएको छ । दोस्रो हाफमा भने दुवैतर्फबाट गोल हुन सकेन ।दोस्रो चरणमा आरसी ३२ फुटबल एकेडेमीसँग ३–० ले पराजित भएको बागमतीले तेस्रो चरणमा जित निकाल्दै पुनरागमन गरेको बागमती युथ क्लब सर्लाहीका सचिव कुमार प्रधानले जानकारी दिए।उनका अनुसार दोस्रो जितपछि तीन खेलबाट ६ अंक जोडेको बागमती तेस्रो स्थानमा उक्लेको छ ।
पहिलो चरणमा पुल्चोक स्पोर्ट्स क्लबसँग ३–० ले पराजित भएको सामाजिक युथले दोस्रो खेलमा सानेपासँग बराबरी खेलेको थियो ।तीन खेलबाट सामाजिकको जम्मा १ अंक भएको छ भने सामाजिक युथ क्लब भने अझै जित विहिन रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार