सीमा विवाद कहिले सम्म?

177 Shares

नेपाल–भारत सम्बन्ध इतिहास,संस्कृति,धर्म,व्यापार र जनस्तरको आत्मीयताले जोडिएको सम्बन्ध हो।खुला सीमा,पारिवारिक नाता र आर्थिक सहकार्यले यी दुई देशलाई विशेष बनाएको छ।तर यति निकट सम्बन्धका बीच पनि सीमा विवाद समय–समयमा दोहोरिनु दुर्भाग्यपूर्ण मात्र नभई दुई देशबीचको विश्वासमाथि प्रश्न उठाउने विषय पनि हो।
नेपालले आफ्नो भूमि,सार्वभौमिकता र राष्ट्रिय हितको रक्षा गर्नु कुनै विस्तारवादी सोच होइन, बरु अन्तर्राष्ट्रिय कानुनले दिएको स्वाभाविक अधिकार हो।तर सीमामा पटक–पटक देखिने एकपक्षीय गतिविधि,सीमा स्तम्भ सार्ने प्रयास,नेपाली भूमिमा संरचना निर्माण गर्ने प्रवृत्ति तथा स्थानीय नागरिकमाथि दबाब सिर्जना गर्ने घटनाले नेपाली जनमानसमा असन्तोष बढाइरहेको छ।विश्वलाई लोकतन्त्र,शान्ति र सहकार्यको पाठ पढाउने दाबी गर्ने भारतले यदि छिमेकीप्रति समान सम्मान देखाउन सकेन भने त्यो दाबी कागजमै सीमित रहनेछ।“ठूलो छिमेकी”हुनु भनेको“ठूलो जिम्मेवारी”पनि हो।बलियो हुनु भनेको कमजोरको आवाज नसुन्नु होइन।
कहिलेकाहीँ यस्तो लाग्छ।भारतले आफ्नै नक्सा हेर्नुभन्दा छिमेकीको जमिन हेर्न बढी समय खर्च गरिरहेको छ।आफ्ना विकासका योजना जति तीव्र गतिमा अघि बढ्छन्,सीमामा विवाद सिर्जना गर्ने गतिविधि पनि त्यत्तिकै सक्रिय देखिन्छन्।यदि विकासको परिभाषा छिमेकीको असन्तुष्टि बढाउनु हो भने त्यो विकास नभई अविश्वासको खेती हो।
सीमा विवाद समाधान गर्ने सबैभन्दा प्रभावकारी माध्यम संवाद,तथ्य र अन्तर्राष्ट्रिय मान्यता हुन्।शक्ति प्रदर्शन,एकपक्षीय निर्णय वा स्थानीय तहमा दबाब सिर्जना गरेर स्थायी समाधान कहिल्यै सम्भव हुँदैन।इतिहासले देखाएको छ कि सीमामा सिर्जित तनावले कुनै पनि पक्षलाई दीर्घकालीन लाभ दिएको छैन।
यता,नेपालका सरकारहरू पनि पूर्ण रूपमा जिम्मेवारीबाट मुक्त छैनन्।सरकार परिवर्तनसँगै राष्ट्रिय मुद्दा पनि परिवर्तन हुने प्रवृत्तिले सीमा समस्या वर्षौंदेखि थाँती रहँदै आएको छ।सत्ता बदलिन्छ,मन्त्री बदलिन्छन्,तर सीमाको पीडा उही रहन्छ।राष्ट्रिय हितमा राजनीतिक दलहरूबीच न्यूनतम साझा धारणा बन्न नसक्नु पनि गम्भीर कमजोरी हो।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिक नै वास्तविक पीडित हुन्।उनीहरू कहिले आवत जावतमा अवरोध,कहिले सुरक्षा चुनौती त कहिले आफ्नो भूमिमै अन्योलको अवस्था भोग्न बाध्य छन्।राज्यले उनीहरूलाई केवल चुनावका बेला सम्झिने मात्र नभई वर्षभरि सुरक्षा, पूर्वाधार र प्रशासनिक उपस्थितिको अनुभूति गराउनुपर्छ।
नेपालले पनि आफ्नो कूटनीतिक क्षमता अझ सशक्त बनाउन आवश्यक छ।भावनात्मक भाषण भन्दा प्रमाण,नक्सा,ऐतिहासिक दस्तावेज र निरन्तर कूटनीतिक पहलले मात्र राष्ट्रिय हितको रक्षा गर्न सकिन्छ।अन्तर्राष्ट्रिय अभ्यास अनुसार विवाद समाधानका संयन्त्रहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्नु बुद्धिमानी हुनेछ।
भारतले पनि बुझ्नुपर्ने कुरा के हो भने,असल छिमेकीको सम्मान सीमा मिचेर होइन,सीमा सम्मान गरेर प्राप्त हुन्छ।मित्रता बराबरीको आधारमा टिक्छ,दबाबको आधारमा होइन।नेपाल सानो देश हुन सक्छ,तर उसको राष्ट्रिय स्वाभिमान सानो छैन।भूगोलको आकारले राष्ट्रको सम्मान निर्धारण गर्दैन।आज आवश्यक परेको कुरा आक्रोश होइन,दृढता हो।द्वन्द्व होइन,संवाद हो।तर संवादको नाममा अनन्तकालसम्म समस्या थन्क्याउने प्रवृत्तिको पनि अन्त्य हुनुपर्छ।दशकौँदेखि दोहोरिने सीमा विवादले दुई देशबीचको विश्वास कमजोर बनाउँदै लगेको छ।
नेपाल भारत खुल्ला सीमाको कुरा गर्दा मधेशको ४ सय ६४ किलो मिटरको दुरीमा चार हजार २७ वटा स्तम्भहरु रहेका भएपनि चार सय ९३ वटा स्तम्भहरु हराएका वर्षाै भई सकेको भएपनि दुवै पक्षबाट ती सीमा स्तम्भहरु खोज्ने तथा तीनिहरुको मर्मत सम्भार गर्ने काम भएको छैन् ।दुई सय २७ वटा मुख्य सीमा स्तम्भहरु,पाँच सय ८४ वटा सहायक स्तम्भहरु,तीन हजार दुई सय चार वटा सामा स्तम्भहरु र १२ वटा रिफ्रेन्स स्तम्भरहरु रहेका भएपनि ती मध्य चार सय ९३ वटा सीमा स्तम्भहरु हराएका छन् ।मधेशको चार सय ६४ किलो मिटरको दुरीमा त यती सीमा स्तम्भहरु हराएका छन् भने कुल हजार ३२ किलो मिटरको दुरीमा कति सीमा स्तम्भहरु होलान र कति सीमा स्तम्भहरु हराएका होलान भन्ने सवालमा राज्यको सम्बन्धीत निकायलाई जानकारी भएको भएपनि मौन देखिन्छ ।
सीमा विवाद कहिलेसम्म ? यसको उत्तर न भारतसँग छ,न त नेपालसँग नै छ ।समाधान दुवै देशको राजनीतिक इच्छा शक्ति,पारस्परिक सम्मान र इमानदार कूटनीतिमा निर्भर छ।तर एउटा कुरा निश्चित छकी सीमाको सम्मान नगरी मित्रताको नारा मात्रै लगाइरहँदा त्यो मित्रता खोक्रो हुन्छ।नेपालले आफ्नो भूमि र स्वाभिमानको रक्षा गर्नुपर्छ।भारतले छिमेकीको सम्मान गर्नुपर्छ।यही बाटोले मात्र दक्षिण एशियामा स्थायी विश्वास र सहकार्यको वातावरण निर्माण हुन सक्छ। अन्यथा,“सीमा विवाद कहिलेसम्म ?” भन्ने प्रश्न पुस्तौँ पुस्तासम्म दोहोरिइ रहनेछ।

सम्बन्धित समाचार