आधुनिक सार्वजनिक प्रशासन परम्परागत“नियन्त्रण र निर्देशन”को घेराबाट बाहिर निस्केर “सहजीकरण र सेवा प्रवाह”को नवीन मोडेलतर्फ रूपान्तरित भइरहेको छ।वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि नेपालले अवलम्बन गरेको खुला बजार अर्थतन्त्र र आर्थिक उदारीकरणको नीतिसँगै सरकारी कार्यकुशलता बढाउन नवीन औजारहरूको खोजी सुरु भयो। यही पृष्ठभूमिमा नव–सार्वजनिक व्यवस्थापनको एक प्रमुख औजारका रूपमा बाह्यकरण अर्थात् सेवा वा संस्था करार अवधारणाको विकास भएको हो।
सरकारले सबै काम आफैँ गर्न सक्दैन र गर्नु पनि हुँदैन भन्ने मान्यता नै बाह्यकरणको मुख्य प्रस्थानविन्दु हो।संस्थापन वा संगठनको मुख्य कार्यमा ध्यान केन्द्रित गर्दै गैर–मुख्य वा सहयोगी कार्यहरू बाह्य विशिष्टीकृत संस्था वा सेवा प्रदायकमार्फत सम्पादन गराउने विधिलाई सेवा करार भनिन्छ।सार्वजनिक खरिद ऐन,२०६३ र सार्वजनिक खरिद नियमावली,२०६४ ले व्यवस्था गरे बमोजिम नेपालको सार्वजनिक प्रशासनमा परामर्श सेवा तथा अन्य सेवा करारमार्फत विभिन्न कार्यहरू गराउने कानुनी आधार तयार गरिएको छ।नेपाल सरकारले निजामती सेवामा स्वीकृत दरबन्दी बाहेकका श्रेणी विहीन पदहरू (जस्तैः कार्यालय सहयोगी,सवारी चालक,माली, प्लम्बर र सरसफाइकर्मी)मा स्थायी नियुक्ति नगरी सेवा करारबाट मात्र आपूर्ति गर्ने नीति लिएपछि यसको प्रयोग व्यापक बनेको छ ।
सेवा (संस्था) करारको उद्देश्य
सार्वजनिक निकायहरूले आफ्नो कार्यसम्पादनलाई चुस्त, पारदर्शी र नतिजामुखी बनाउन सेवा करारको माध्यम अपनाउँछन्। यसका प्रमुख उद्देश्यहरू निम्नानुसार रहेका छनः
–मुख्य कार्यमा केन्द्रित हुनु : संगठनको ध्यान र स्रोतलाई नीति निर्माण, नियमन, र रणनीतिक योजना जस्ता मुख्य जिम्मेवारीहरूमा मात्र केन्द्रित गराउनु।
–सञ्चालन खर्च कटौती गर्नुः स्थायी जनशक्ति राख्दा हुने दीर्घकालीन आर्थिक दायित्व (जस्तैः निवृत्तिभरण,उपदान,औषधि उपचार)कम गरी प्रशासनिक लागत घटाउनु।
–विशिष्टीकृत दक्षताको उपयोगः बजारमा उपलब्ध नवीनतम प्रविधि,आधुनिक उपकरण र उच्च व्यावसायिक दक्षता भएका जनशक्तिको तत्काल उपयोग गर्नु।
–संगठनको आकार चुस्त राख्नुःस्थायी कर्मचारीको संख्या अनावश्यक रूपमा बढाउनबाट रोकी सार्वजनिक संगठनलाई चुस्त र स्लिम बनाउनु।
–परिवर्तनीय मागको सम्बोधनःआयोजना वा कार्यक्रमको प्रकृतिअनुसार अल्पकालीन वा मौसमी जनशक्तिको मागलाई स्थायी दायित्व सिर्जना नगरी तुरुन्तै पूर्ति गर्नु।
८ सार्वजनिक सेवा प्रवाहमा सहजताः सेवा प्रवाहको गति र गुणस्तरमा सुधार ल्याई नागरिक सन्तुष्टि अभिवृद्धि गर्नु।
सेवा (संस्था) करारका विशेषताहरू
बाह्यकरण वा सेवा करार परम्परागत श्रम परिचालन वा सेवा प्रवाहभन्दा भिन्न प्रकृतिको हुन्छ। यसका आधारभूत विशेषताहरू निम्नानुसार छन्ः
–त्रिपक्षीय सम्बन्धः यस व्यवस्थामा सेवा लिने निकाय (सरकार), सेवा उपलब्ध गराउने मध्यस्थ संस्था (भेन्डर÷कम्पनी) र प्रत्यक्ष काम गर्ने श्रमिक वा विज्ञ गरी तीन पक्ष संलग्न हुन्छन्।
–करारमा आधारित व्यावसायिकताः सेवाको सर्त, गुणस्तर,समयसीमा र भुक्तानीको आधार दुई पक्षबीच हस्ताक्षरित सम्झौता वा करार (ऋयलतचबअत) बमोजिम तय हुन्छ।
–लागत र जोखिमको बाँडफाँटःकामको गुणस्तर कायम गर्ने र श्रमिकको व्यवस्थापन गर्ने दायित्व सेवा प्रदायक संस्थाको हुने भएकाले संगठनको व्यवस्थापकीय जोखिम कम हुन्छ।
–लचिलोपनःआवश्यकताअनुसार सेवाको परिमाण बढाउन वा घटाउन र सम्झौता अवधि थपघट गर्न सकिने लचिलो संरचना हुन्छ।
–प्रतिफलमुखी मूल्यांकनःयसमा काम गरेको समयलाई भन्दा कार्यसम्पादनको अन्तिम नतिजा वा उत्पादकत्वलाई आधार मानी भुक्तानी दिइन्छ।
–सीमित सरकारी दायित्वःकार्यरत कर्मचारी वा श्रमिकको सेवा,सर्त,पारिश्रमिक र सामाजिक सुरक्षाको पूर्ण जिम्मेवारी सम्बन्धित सेवा प्रदायक संस्थाकै हुन्छ,सरकारको हुँदैन।
सेवा (संस्था) करारको महत्व र आवश्यकता
परम्परागत कर्मचारीतन्त्रको ढिलासुस्ती र उच्च लागतको विकल्प खोजिरहेको नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि सेवा करारको अत्यधिक महत्व छ।यसको आवश्यकतालाई देहायका बुँदाहरूबाट प्रष्ट पार्न सकिन्छः
१. आर्थिक मितव्ययिता कायम गर्न
स्थायी कर्मचारी भर्ना गर्दा सरकारलाई तलब बाहेक सञ्चयकोष,पेन्सन र विभिन्न भत्ताको दीर्घकालीन भार पर्छ।सेवा करारले यस्तो भविष्यको वित्तीय दायित्व शून्य पार्छ।प्रतिस्पर्धात्मक खरिद प्रक्रियामार्फत न्यून लागतमा उच्चस्तरको सेवा प्राप्त गर्न सकिने हुनाले यसले राज्यकोषको बचत गर्छ।
२. प्रविधि र विज्ञताको तत्काल प्राप्ति
सूचना प्रविधिको क्षेत्रमा दैनिक नयाँ परिवर्तन भइरहन्छन्।सरकारले तत्कालै नयाँ प्रविधि भित्र्याउन र सोही अनुसारको जनशक्ति स्थायी रूपमा राख्न गाह्रो हुन्छ।बाह्यकरण मार्फत सफ्टवेयर विकास,साइबर सुरक्षा र डाटा सेन्टर व्यवस्थापन जस्ता प्राविधिक कामहरू बजारका उत्कृष्ट कम्पनीहरूबाट तत्काल गराउन सकिन्छ।
३. प्रशासनिक बोझको न्यूनीकरण
कर्मचारीको सरुवा,बढुवा,बिदा,अनुशासन र वृत्तिविकासको व्यवस्थापनमा सरकारी निकायहरूको ठूलो समय र ऊर्जा खर्च हुन्छ।सहयोगी कार्यहरू करारमा दिँदा यी आन्तरिक व्यवस्थापकीय झन्झटहरू स्वतः समाप्त हुन्छन् र नेतृत्वले विकास निर्माणमा समय दिन पाउँछ।
४. निजी क्षेत्रको प्रवद्र्धन र रोजगार सिर्जना
सरकारले सबै सेवा आफैँ उत्पादन गर्नुभन्दा निजी क्षेत्रसँग किन्ने नीति लिँदा निजी क्षेत्रको व्यावसायिक क्षमता विकास हुन्छ।यसले बजारमा नयाँ कम्पनीहरू खोल्ने वातावरण बन्छ, जसले गर्दा रोजगारीका नयाँ अवसरहरू सिर्जना हुन्छन्।
५. कार्यसम्पादनमा प्रतिस्पर्धा र गुणस्तर
सरकारी कर्मचारीमा स्थायी जागिरको सुरक्षाका कारण कहिले काहीँ उत्तरदायित्वको कमी देखिन सक्छ।तर करारमा कार्यसम्पादन कमजोर भएमा सम्झौता जुनसुकै बेला रद्द हुन सक्ने वा अर्को वर्ष नवीकरण नहुने डर हुने हुनाले सेवा प्रदायकले उच्च गुणस्तर कायम राख्न हरदम प्रयास गर्छन्।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सेवा करारको प्राथमिकता
नेपाल सरकारले स्रोतको सीमितता र बढ्दो सार्वजनिक खर्चलाई सन्तुलनमा राख्न चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत बाह्यकरण र सेवा करारलाई विशेष प्राथमिकता दिएको छ।यस सम्बन्धमा सरकारले लिएका मुख्य नीति र प्राथमिकताहरू यस प्रकार छन्ः
१. चालु खर्च नियन्त्रण र प्रशासनिक सुधार
सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न नेपाल सरकारले“प्रशासनिक सुधार र चुस्त संरचना”को नारालाई अघि सारेको छ।नियमित प्रकृतिका कार्यालय सञ्चालन कार्य, सरसफाइ, सुरक्षा र सवारी व्यवस्थापन जस्ता कार्यहरूमा स्थायी दरबन्दी पूर्ण रूपमा रोक लगाइएको छ। चालु आवको बजेटले सरकारी निकायहरूमा नयाँ दरबन्दी सिर्जना नगर्ने र रिक्त रहेका श्रेणी विहीन पदहरूमा अनिवार्य रूपमा सेवा करार वा बाह्यकरण मार्फत कार्य सम्पादन गर्ने व्यवस्थालाई निरन्तरता दिएको छ।
२. डिजिटल नेपाल फ्रेमवर्क र सूचना प्रविधि बाह्यकर
चालु आवको नीति तथा कार्यक्रमले नेपाललाई “सूचना प्रविधि हब”का रूपमा विकास गर्ने मार्गचित्र अघि सारेको छ। सरकारी सेवाहरूलाई कागजविहीन र प्रविधिमैत्री बनाउन नागरिक एपको सुदृढीकरण,एकीकृत सरकारी डाटा सेन्टरको सञ्चालन र डिजिटल हस्ताक्षरको प्रयोगलाई प्राथमिकता दिइएको छ।यी प्राविधिक कार्यहरू आन्तरिक जनशक्तिबाट मात्र सम्भव नहुने हुँदा बजेटले नेपाली आईटी स्टार्टअप र परामर्शदाता कम्पनीहरूलाई सार्वजनिक सेवा करारमा आबद्ध गराउने विशेष नीति लिएको छ।यसबाट स्वदेशमै युवा स्वरोजगार प्रवद्र्धन हुने अपेक्षा गरिएको छ।
३. पूर्वाधार निर्माण र सम्भारमा करार व्यवस्था
ठूला विकास आयोजनाहरूको दिगोपनका लागि सरकारले“मर्मतसम्भार सेवा करार”को अवधारणा ल्याएको छ।सडक,पुल र खानेपानी आयोजनाहरू निर्माण सम्पन्न भएपछि तिनीहरूको आवधिक मर्मतसम्भारको जिम्मा निजी क्षेत्रलाई निश्चित अवधिको करारमा दिने नीति चालु आवको बजेटमा समावेश छ।यसबाट सार्वजनिक सम्पत्तिको संरक्षण हुने र सरकारी निकायको सञ्चालन बोझ घट्ने विश्वास गरिएको छ।
४. नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन
नयाँ आर्थिक नीति र बजेटले युवा उद्यमीहरूलाई देशभित्रै काम गर्ने वातावरण बनाउन स्टार्टअपहरूले विकास गरेका नवप्रवर्तनात्मक प्रविधि र सेवाहरूलाई सरकारले सोझै वा खरिद प्रकृया सहज बनाई सेवा करारमार्फत उपयोग गर्ने नीति लिएको छ।यसले गर्दा सरकारी कामकाजमा नवीनता भित्रिने र रैथाने प्रविधिको विकास हुने देखिन्छ।
नेपालमा सेवा करार कार्यान्वयनका चुनौतीहरू
नेपालको सार्वजनिक प्रशासनमा सेवा करारको अवधारणा सैद्धान्तिक रूपमा उत्कृष्ट देखिए तापनि व्यवहारमा यसको कार्यान्वयन पक्ष निकै चुनौतीपूर्ण र विवादास्पद रहँदै आएको छ। प्रमुख चुनौतीहरू यस प्रकार छन्ः
चुनौतीको क्षेत्र/मुख्य समस्याहरू
१.श्रम शोषण र न्यून पारिश्रमिक: सेवा प्रदायक कम्पनीहरूले सरकारबाट उच्च दरमा रकम लिएर भुक्तानी पाउने वास्तविक श्रमिकलाई न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा (जस्तैः कोष,बीमा¬)बाट बञ्चित गर्ने गरेका छन्।
२.कमजोर अनुगमन र गुणस्तर : सरकारी निकायहरूले सम्झौता गरेपछि सेवाको गुणस्तर र श्रमिकको अवस्थाबारे प्रभावकारी अनुगमन नगर्दा सेवाको स्तर खस्कने गरेको छ। ।
३.गोपनीयता र सुरक्षाको जोखिम : सरकारी सूचना,रणनीतिक डाटा र महत्वपूर्ण दस्तावेजहरू बाह्य एजेन्सी वा करारका कर्मचारीको पहुँचमा जाँदा सूचना चुहावट र साइबर सुरक्षाको ठूलो जोखिम रहन्छ। ।
४.नातावाद र मिलोमतो : सेवा करारको ठेक्का लिने क्रममा सीमित कम्पनीहरूबीच मिलेमतो हुने र राजनीतिक पहुँचका आधारमा ठेक्का दिइने परिपाटीले स्वस्थ प्रतिस्पर्धालाई अवरोध पु¥याएको छ।
५.जिम्मेवारी र जवाफदेहिताको अभाव : करारका कर्मचारीहरूमा संगठनप्रति दीर्घकालीन अपनत्व नहुने हुनाले कार्यसम्पादनमा थप उदासिनता र गल्ती हुँदा पन्छिने प्रवृत्ति देखिन्छ। ।
आगामी कार्यदिशा र सुधारका उपायहरू
नेपालको सार्वजनिक प्रशासनमा बाह्यकरण वा सेवा करार प्रणालीलाई पारदर्शी, सुरक्षित, र परिणाममुखी बनाउन देहायबमोजिमका सुधारहरू तत्काल गर्नु आवश्यक देखिन्छः
१. श्रम अधिकारको सुनिश्चितता : सरकारले सेवा करारको सम्झौता गर्दा नै सम्बन्धित कम्पनीले श्रमिकलाई बैंक खातामार्फत तोकिएको न्यूनतम पारिश्रमिक र योगदानमा आधारित सामाजिक सुरक्षा कोष (क्क्ँ) मा अनिवार्य आबद्ध गरेको हुनुपर्ने सर्त राख्नुपर्छ र सोको नियमित अडिट हुनुपर्छ।
२. सशक्त अनुगमन प्रणाली : सेवा करार गर्दा केवल उपस्थिति मात्र नहेरी सेवा स्तर सम्झौता तयार गरी निश्चित सूचकका आधारमा कार्यसम्पादनको मूल्यांकन गरेर मात्र भुक्तानी दिने व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ।
३. सूचना सुरक्षा मापदण्ड : संवेदनशील सरकारी निकाय,रक्षा र डाटा सेन्टर जस्ता क्षेत्रमा बाह्यकरण गर्दा कडा सुरक्षा स्क्रिनिङ,नन–डिस्क्लोजर एग्रिमेन्ट र कडा कानुनी सजायको व्यवस्था हुनुपर्छ।
४. कानुनी र नीतिगत एकरूपता : सार्वजनिक खरिद ऐन र नियमावलीमा सेवा करारसम्बन्धी अस्पष्टताहरू हटाई सबै तहका सरकार (संघ,प्रदेश र स्थानीय) का लागि एउटै सुशासनयुक्त कार्यविधि तर्जुमा गरिनुपर्छ।
५. स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन : ठेक्का प्रक्रियालाई पूर्ण रूपमा इ–बिडिङ (भ–द्यष्ममष्लन) मार्फत पारदर्शी बनाई सिन्डिकेट र कार्टेलिङ अन्त्य गरिनुपर्छ।
निष्कर्ष
बाह्यकरण वा सेवा (संस्था) करार आधुनिक सार्वजनिक व्यवस्थापनको अपरिहार्य र नवप्रवर्तनात्मक औजार हो।यसले सरकारलाई अनुत्पादक र नियमित प्रशासनिक झन्झटबाट मुक्त गराई विकास,सुशासन र नीति निर्माण जस्ता दूरगामी महत्वका कार्यमा केन्द्रित हुन मद्दत पु¥याउँछ।नेपाल सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत लिएको डिजिटल रूपान्तरण,आर्थिक मितव्ययिता र नवप्रवर्तनमुखी करार नीति निकै सकारात्मक र समयसान्दर्भिक छन्।
यद्यपि,यसको सफलता यसको कानुनी कार्यान्वयनको दृढता,श्रमिकहरूको श्रम संरक्षण र कडा अनुगमन प्रणालीमा निर्भर रहन्छ।करार सेवालाई पारदर्शी र शोषणमुक्त बनाउन सकेको खण्डमा मात्र न्यून लागतमा उत्कृष्ट नागरिक सेवा प्रवाह सम्भव हुनेछ र सुखी नेपाली,समृद्ध नेपालको राष्ट्रिय संकल्प पूरा हुन टेवा पुग्नेछ।