सिन्धुलीको दुधौली नगरपालिकाले आगो वा अन्य कारणबाट जलन भएका नागरिकहरुलाई उपचार गर्न कीर्तिपुर अस्पतालसँग सम्झौता गरेको छ।दुधौली नगरपालिका भित्रका स्थानीयलाई आगो वा अन्य कारणबाट जलन मर्न नपरोस भनेर जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पतालसँग सम्झौता गरिएको दुधौली नगरपालिकाका कार्य वाहक नगर प्रमुख चन्द्र किशोर थारुले जानकारी दिए ।उनका अनुसार दुधौली नगरपालिकाले जलन पीडितको उपचार खर्च व्यहोर्ने गरी छुट्टै “दुधौली जलन उपचार कोष”स्थापना गरेपछि स्थायी बासिन्दा र कर्मचारीहरुले विशेषज्ञ सेवा पाउने आधार तयार भएको हो ।
दुधौली नगरपालिकाले बिशीवार एक सूचना प्रकाशन गर्दै दुधौली नगरपालिका र कीर्तिपुर अस्पतालबीच बिहीवार सम्झौता भएको उल्लेख गरेको छ।सम्झौतामा आगोले जलेका वा अन्य कुनै कारणले जलन भएका व्यक्तिलाई उपचारका लागि आर्थिक अभावकै कारण सेवा लिनबाट वञ्चित हुन नपर्ने व्यवस्था गरिएको छ।कोषमार्फत अस्पतालमा भएको उपचार खर्च नगरपालिकाले व्यहोर्ने जनाइएको छ ।
यस्तो सुविधा लिन नगरपालिकाको सिफारिस वा दुधौलीको स्थायी बासिन्दा भएको प्रमाण पेस गर्नुपर्नेछ ।स्थायी बसोबास पुष्टि गर्ने कागजातका रूपमा नागरिकता,मतदाता परिचयपत्र वा जन्मदर्ताको प्रतिलिपिमध्ये कुनै एक बुझाउन सकिने सूचनामा उल्लेख गरिएको छ। नगरपालिकाका कर्मचारीले भने दुधौली नगरपालिकाले जारी गरेको परिचय–पत्रको प्रतिलिपि संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।
उपचारपछि खर्च भुक्तानी वा सोधभर्नाका लागि कीर्तिपुर अस्पतालको भर्ना र डिस्चार्ज सम्बन्धी कागजातसँगै औषधि तथा उपचारको बिलको सक्कल प्रति अनिवार्य गरिएको छ।यसले लाभग्राहीको पहिचान,उपचारको अभिलेख र खर्चको प्रमाणलाई एउटै प्रक्रियामा जोड्ने दुधौली नगरपालिकाले जनाएको छ।नगरपालिकाले जलन सम्बन्धी आकस्मिक अवस्था आए तुरुन्त कार्यालयमा सम्पर्क गरी कीर्तिपुर अस्पतालबाट उपलब्ध निःशुल्क वा सोधभर्नामा आधारित उपचार सेवाको लाभ लिन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ ।
सूचनामा सेवा“निःशुल्क वा सोधभर्ना”दुवै ढाँचामा उल्लेख भएकाले उपचारको प्रकृति र प्रक्रिया अस्पताल तथा नगरपालिकाको समन्वयमा अघि बढ्ने देखिन्छ।नगरपालिकाको कोषले बिरामीको उपचार खर्च धान्ने र त्यसका लागि सक्कल बिलसहितको प्रमाणित विवरण मागिने प्रावधानले आर्थिक सहायता अभिलेखमा आधारित हुने स्पष्ट गरेको छ।लाभग्राहीले स्थायी बसोबास, कर्मचारी परिचय र अस्पतालमा भएको वास्तविक खर्च पुष्टि गर्ने कागजात पूरा गरेपछि मात्र सुविधा प्राप्त गर्ने प्रक्रिया निर्धारण गरिएको हो।यसले सेवा पाउने व्यक्ति र नगरपालिकाले व्यहोर्ने दायित्व दुवैलाई स्पष्ट बनाएको दुधौली नगरपालिकाका प्रवक्ता दीपक खड्काले हस्ताक्षरित सूचनामा सम्झौताको उद्देश्य उपचार सेवा सहज रूपमा उपलब्ध गराउनु रहेको स्पष्ट पारिएको छ।स्थानीय तहले कोष खडा गरी अस्पतालसँग प्रत्यक्ष समन्वय गर्ने व्यवस्थाले आकस्मिक उपचार सुरु गर्न,आवश्यक कागजात जुटाउन र खर्च व्यवस्थापन गर्न पीडित तथा परिवारलाई सहजीकरण गर्ने अपेक्षा गरिएको छ ।यसअघि सिन्धुलीकै कमलामाई नगरपालिकाले पनि कीर्तिपुर अस्पतालसँग जलन पीडितको उपचार सम्बन्धी सम्झौता गरिसकेको छ।