उद्योग बाणिज्य संघ इश्वरपुरले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । ईश्वरपुर नगरपालिका ७ स्थित बयलवास बजारमा सडकको काम नभएका कारण आफुहरु सास्ती खेप्न बाध्य भएको भन्दै उद्योग बाणिज्य संघ इश्वरपुरले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन ।
इश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजार क्षेत्रमा अलपत्र छाडिएको सडक कालोपत्रेका लागि समन्वय गरिदिन माग गर्दै उद्योग बाणिज्य संघ इश्वरपुरले जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापन पत्र बुझाएका हुन् ।
उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष मनोजकुमार साहद्वारा हस्ताक्षरित ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले तत्कालै ठेकेदारलाई फोन गरी काम सूचारु गर्न निर्देशन दिएका छन् । फूलजोर–त्रिभुवननगर सडक खण्डमा पर्ने इश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजार क्षेत्रको सडक लामो समयदेखि अलपत्र अवस्थामा रहेको र सडक कालोपत्रे गर्ने ठेक्का शुदी आशिष सन्तोषि जेभीले वेवास्था गरेका कारण आफुहरु पटक पटक आन्दोलन गर्नुको साथै प्रमुख जिल्ला अधिकारीलाईसमेत ज्ञापन पत्र बुझाउन पुगेको उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष साहले बताउनु भयो ।
सडक विस्तारका लागि पक्की घरहरु भत्काइ ‘साइड क्लियर’ गरेको महिनौँ भइसक्दा समेत ठेकेदारले कालोपत्रेको काम अघि नबढाएपछि आक्रोशीत उद्योग वाणिज्य संघ ईश्वरपुरका साथै स्थानिय व्यापारीहरुले पटक पटक ठेकेदारका विरुद्ध आन्दोलन समेत गरेका छन् । सडक तथा नाला निर्माण कार्य अलपत्र छाडिँदा आवतजावत तथा व्यापार,व्यवसाय गर्न कठिनाइ भएको भन्दै चाँडैसडक निर्माण गर्न समन्वय गरिदिन आफुहरुले प्रमुख जिल्ला अधिकारी गौतमलाई ज्ञापन पत्र बुझाएको व्यापारीहरुले बताएका छन् ।
व्यापारीहरुले सडक कालोपत्रेको माग राख्दै बिहीबार र शुक्रबार दुई दिन बजार बन्द गरेर ठेकेदारका विरुघनारावाजी समेत गरेका छन् । सडकको धूलोले गर्दा पसल खोल्नै नसक्ने अवस्था रहेको र पसल बन्द गर्दा बैंकको ऋण तिर्न मुस्किल परेको स्थानिय व्यापारीहरुको गुनासो छ ।
व्यापारीहरुले प्रमुख जिल्ला अधिकारी गौतमलाई बुझाएको ज्ञापन पत्रमा ७ दिनभित्र सडक कालोपत्रे र नाला निर्माणको कार्य सूचारु नभए विभिन्न किसिमको हड्ताल तथा आन्दोलन गर्ने चेतावनी दिएका छन् । ज्ञापन पत्रमा संघ तथा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, हुलाकी सडक आयोजना जनकपुरलगायतका कार्यालयलाई बोद्यार्थमा राखिएको छ ।
व्यापारीहरुले गरेको आन्दोलनमा स्थानिय सरकारको पनि साथ र सहयोग रहेको नगर प्रमुख मनोज कुमार आचार्यले बताउनु भयो । नगरको विकास नै बजार विकास र व्यावस्थापन रहेका कारण पनि आफुले स्थानिय व्यापारी व्यावसायीहरुको आन्दोलनमा साथ दिएको नगर प्रमुख आचार्यले बताउनु भयो ।