सर्लाहीको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक नितेश कुमार सिंहले लागु औषधबाट समेत कमिसन असुलेको रहस्य फेला परेको छ।भारतको बिहार स्थित सोनवरसाबाट नेपाल आएका तीन जना भारतिय नागरिकहरुलाई रोकी चेकजाँच गर्ने क्रममा एक बोतल लागु औषध कोरेक्स फेला परेपछि बिहीबार उनीहरुलाई नियन्त्रणमा लिए प्रति व्यत्ति रु.५० हजारका दरले रकम माग गरेपछि उनीहरुले त्यती रकम बुझाउन नसक्ने बताएपछि उनीहरुको साथमा रहेको भारतिय रुपैँया ५० हजार अर्थात रु ८० हजार लिएर कागज गराएर छाडेको रहस्य फेला परेको छ ।
पीडित पक्षका साथीहरु नेपालमा रहेका र उनीहरुसंग आई ती भारतिय नागरिकहरुले सो कुरा बताएपछि उनीहरुका नेपालमा रहेका साथीहरुले कमलामाई मिडिया प्रा.लिलाई सो विवरण बताएका हुन।ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक सिंहले रु ८० हजार कमिसन असुलेर लागु औषध ओसार पसारमा संग्लनहरुलाई छाडेका रहस्य फेला परेको हो।स्रोतका अनुसार प्रहरी निरीक्षक सिंहमाथि प्रहरीको अधिकार र जिम्मेवारीलाई दुरुपयोग गर्दै असुली गरेको गम्भीर आरोप लागेको छ।
एक बोतल लागु औषध भेटिएको विषयलाई कानुनी प्रक्रिया मार्फत अनुसन्धान र आवश्यक कारबाही गर्नुपर्नेमा त्यसलाई आर्थिक लेनदेनसँग जोडिएको आरोपले प्रहरी प्रशासनको कार्यशैलीमाथि नै गम्भीर प्रश्न खडा गरेको छ।स्थानीय स्रोतका अनुसार उक्त घटनामा पक्राउ वा नियन्त्रणमा लिइएका व्यक्तिलाई कानुनी प्रक्रियामा लैजानुको सट्टा आर्थिक लेनदेनमा विषय मिलाइएको आरोप छ।रु ८० हजार असुली गरिएको दाबी सत्य हो भने रकम कसले,कसरी र कुन आधारमा लियो भन्ने विषयमा तत्काल छानबिन आवश्यक रहेको छ ।
प्रहरी संगठनको मुख्य जिम्मेवारी नागरिकको सुरक्षा,अपराध नियन्त्रण र कानुनको कार्यान्वयन गर्नु हो।तर कानुनी कारबाहीको डर देखाएर रकम असुल्ने प्रवृत्ति मौलाउँदै गएको हो भने यसले प्रहरी प्रतिको जनविश्वासमा गम्भीर असर पार्न सक्छ।विशेषगरी लागूऔषधसँग सम्बन्धित घटनामा प्रहरीको भूमिका अत्यन्त संवेदनशील हुनु पर्नेमा प्रहरी त्यस्तै धन्दाबाट रकम असुल्न लागेपछि समाजको विकृति,विसंगती कसरी नियन्त्रणमा आउँछ भन्ने प्रश्न चिन्ह खडा भएको छ ।
यस्ता घटनामा अनुसन्धान,बरामद मुचुल्का,पक्राउ प्रक्रिया र मुद्दा चलाउने विषय कानुनी प्रावधान अनुसार पारदर्शी हुनुपर्नेमा एक बोतल कोरेक्सको विषयमा रु ८० हजार असुली भएको आरोप सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान प्रक्रिया र आर्थिक लेनदेनबारे प्रश्न उठ्नु स्वाभाविक हो।
यस विषयमा प्रहरी निरीक्षक सिंहको प्रत्यक्ष संलग्नता थियो वा थिएन ?रकम कसले उठायो ? रकम कहाँ र कसलाई बुझाइयो ? तथा घटनालाई कानुनी प्रक्रियामा किन नलगिएको हो ? भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने स्थानीय जानकारहरुको माग छ।
आरोप गम्भीर भएकाले सम्बन्धित प्रहरी अधिकारीले समेत घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्न आवश्यक देखिन्छ।आरोप प्रमाणित नभएसम्म कसैलाई दोषी ठहर गर्न नमिल्ने भए पनि प्रहरी कार्यालय भित्रै आर्थिक असुलीको आरोप उठ्नु मात्रले पनि सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने अवस्था सिर्जना गरेको छ।
यदि आरोप सत्य ठहरिएमा यो व्यक्तिगत अनियमितता मात्र नभई प्रहरी संगठनको छवि र कानुनी शासनमाथि नै प्रहार हुनेछ।त्यसैले मधेश प्रदेश प्रहरी कार्यालय तथा प्रहरी प्रधान कार्यालयले घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने देखिन्छ।एक बोतल कोरेक्सको विषयमा रु ८० हजार असुली भएको भनिएको आरोपको वास्तविकता के हो ? रकम कसले लियो ? कसको संरक्षणमा घटना मिलाइयो ? यी प्रश्नको जवाफ सम्बन्धित निकायले दिनैपर्ने देखिन्छ।नागरिकलाई कानुनको डर देखाएर पैसा असुल्ने प्रवृत्ति हो भने त्यसको अन्त्य हुनुपर्छ।प्रहरी स्वयं कानुन भन्दा माथि होइन भन्ने सन्देश व्यवहारमै स्थापित गर्न पनि यस्ता आरोपको निष्पक्ष छानबिन अपरिहार्य छ।
यता,सो सम्बन्धमा इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक सिंहलाई सोध्दा चार जना मानिसहरुलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको र पछि धेरै दवाव आएपछि छाडिएको स्वीकार गरे।उनले लागु औषध फेला नपरेको तर लागु औषध प्रयोगकर्ताहरु रहेका पाइएको बताए।तर लेनदेनको सवालमा सत्यता नरहेको र बद्मास मानिसहरुले प्रहरी संगठनलाई बदनाम गराउने काम गरेका र कुनै किसिमको आर्थिक लेनदेन नभएको साथै उनीहरुको साथबाट कुनैपनि कसिमको लागु औषध समेत बरामद् नभएको प्रहरी निरीक्षक सिंहले बताए ।
केही समय पहिला जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्रनाथ पौडेलले “मेरो प्रहरीले एक रुपैँया पनि पैसा कमिसन लिँदैन्”भन्दै दाबी गरेका थिए ।तर यस घटनाले सर्लाही प्रहरीको नेतृत्वमा माथिपनि प्रश्न खडा भएको छ ।