लालबन्दी खानेपानीको नेतृत्व चयन गर्न नगर प्रमुखको नेतृत्वमा समन्वय समिति

187 Shares

सर्लाहीको लालबन्दी नरपालिका–६ स्थित रहेको खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको नयाँ नेतृत्व चयनका लागि पहल गर्न समन्वय समिति गठन गरिएको छ ।संस्थाको नवौँ वार्षिक साधारण सभाको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्नका लागि  लालबन्दी नगरपालिकाका नगर प्रमुख एवम सोही संस्थाका निवर्तमान अध्यक्ष वासुदेव अधिकारीको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ ।
समितिमा नगर प्रमुख अधिकारी,लालबन्दीमा क्रियाशील विभिन्न पाँच राजनीतिक दलका प्रतिनिधिहरु र संस्थाका अध्यक्ष देवनाथ पोखरेल रहने गरी समिति गठन गरिएको संस्थाले जनाएको छ । पोखरेल नेतृत्वको समितिको आगामी भदौ ४ गतेदेखि पदावधि सकिँदै छ ।नगर प्रमुख अधिकारीको नेतृत्वमा बनाइएको समितिले अब केही दिनभित्रै नयाँ नेतृत्व चयनका लागि पहल गर्ने र समन्वय समितिमा पाँच राजनीतिक दल (राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस,नेकपा(एमाले),नेपाली कम्युनिष्ट पार्टी(नेकपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नगर अध्यक्ष तथा प्रतिनिधिहरु सदस्यको रुपमा रहेका छन् ।
सोमबार बैठक बसेर नयाँ समिति चयनका लागि छलफल अघि बढाउने लालबन्दी नगरपालिकाका नगर प्रमुख एवम संस्थाका निवर्तमान अध्यक्ष तथा समन्वय समितिका संयोजक अधिकारीले बताए ।संस्थाका अध्यक्ष पोखरेलको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका नगर प्रमुख अधिकारीको प्रमुख आतिथ्यतामा शनिबार साधारण सभा सम्पन्न भएको हो।सभामा लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरुका साथै पार्टीका प्रतिनिधि,सामाजिक अगुवा र  उपभोक्ता लगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
संस्थाले अहिले लालबन्दी नगरपालिकाको वडा नम्बर ३ देखि १३ सम्म र हरिवन नगरपालिका २ मा पनि खानेपानी वितरण गर्दै आइरहेको संस्थाका प्रमुख सुवास मण्डलले जानकारी दिए। उनका अनुसार आठ हजार बढी उपभोक्ता पुगिसकेको संस्थाको वार्षिक आय/व्यय तथा गतिविधि प्रस्तुत गरिएको छ ।

सम्बन्धित समाचार