शल्यक्रिया सहितको प्रसूति सेवा सुरु भएपछि बरहथवा नगर अस्पतालमा बिरामीको चाप

156 Shares

सर्लाहीको बरहथवा नगर अस्पतालमा शल्यक्रिया सहितको प्रसूति सेवा सञ्चालनमा आएपछि बिरामीको चाप बढेको छ ।स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय सेवा उपलब्ध हुन थालेपछि अस्पतालमा प्रसूति गराउने महिलाको संख्या बढेको छ।संघीय सरकारको “एक नगरपालिका,एक सुविधा सम्पन्न अस्पताल”योजना अन्तर्गत निर्माण भएको बरहथवा नगर अस्पतालमा नगरपालिकाले आवश्यक उपकरण तथा विशेषज्ञ चिकित्सकको व्यवस्था गरी सेवा सञ्चालन गरेपछि बिरामीको चाप बढेको बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालले बताईन् ।
उनका आफ्नै गाउँठाउँमा विशेषज्ञ सेवा सहितको प्रसूति सुविधा पाउँदा स्थानीयवासीलाई सहज भएको छ।विगतमा प्रसूति सेवाका लागि वीरगंज तथा जनकपुरका महँगा अस्पताल धाउनु पर्ने गरेकोमा बरहथवा मै प्रसूती सेवा सञ्चालनमा आएपछि निकै सहज भएको बरहथवा नगरपालिका–३ हजरियाका जितेन्द्र सहनीले बताए ।
यस अस्पतालमा गत माघदेखि स्त्री,प्रसूति तथा निःसन्तान रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गरी सेवा सञ्चालन गरिएको र अस्पतालको तथ्यांक अनुसार माघयता एक हजार दुई सय ७३ जनाले प्रसूति सेवा लिइसकेका छन्।तीमध्ये एक सय १९ जनाको शल्यक्रिया मार्फत प्रसूति गराइएको छ भने बाँकीको सामान्य प्रसूति भएको अस्पतालकी चिकित्सक डा.लिमु कुमारी साहले बताईन् ।विगतमा यस क्षेत्रमा सामान्य बर्थिङ सेन्टर मात्रै सञ्चालनमा रहेकाले प्रसूतिको अवस्था जटिल भएपछि बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता रहेको थियो।यसका कारण विपन्न परिवारले महँगो उपचार खर्च व्यहोर्नुपर्ने अवस्था रहेको थियो ।
बरहथवा सहित बागमती,बलरा,गोडैता,हरिपुर नगरपालिका सहित बसबरिया, धनकौल, रामनगर र चक्रघट्ट लगायत क्षेत्रबाट समेत प्रसूति सेवा लिन बिरामी आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सरोज रोशन दासले बताए।उनका अनुसार अस्पतालमा निःशुल्क प्रसूति तथा औषधोपचारसँगै जनरल फिजिसियन,ओपीडी,इमर्जेन्सी र आँखा उपचार सेवा पनि सञ्चालनमा रहेको छ।मधेश प्रदेश सरकारबाट प्राप्त जनस्वास्थ्य प्रयोगशाला मार्फत सहुलियतपूर्ण ल्याब परीक्षण सेवा उपलब्ध हुन थालेपछि पनि अस्पतालप्रति नागरिकको आकर्षण बढेको अस्पताल प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार