फर्जी हाजिरी बनाएर तलब भत्ता खाने/खुवाउने कृष्णादेवी मा.विका प्रधानाध्यापक यादव र शिक्षीका सिंह विरुद्ध भ्रष्टाचार मुद्दा

230 Shares

 सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित रहेको श्रीमती कृष्णादेवी जनता मा.वि.का तत्कालीन प्रधानाध्यापक र एक शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।विद्यालयमा अनुपस्थित शिक्षकको फर्जी हाजिरी बनाएर गैर–कानुनी रूपमा तलब निकासा गरी सरकारी रकम हिनामिना गरेको अभियोगमा अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो।
विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र तत्कालीन प्राथमिक द्वितीय श्रेणीकी शिक्षीका प्रियंका कुमारी सिंहका विरुद्ध जनही रु तीन लाख ७१ हजार ३६ बिगो कायम गरी सजायको मागदाबी गरेर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
अख्तियारका अनुसार शिक्षीका सिंह वि.सं.२०७९ मा वैशाख महिनादेखि कात्तिक १८ गतेसम्म कुनै औपचारिक सूचना वा निवेदन पेस नगरी विद्यालयमा निरन्तर अनुपस्थित रहेकी थिइन्। शिक्षा ऐन अनुसार मनासिव कारण विना लामो समय अनुपस्थित रहने शिक्षकलाई पदबाट हटाउने प्रक्रिया अगाडि बढाउनुपर्नेमा तत्कालीन प्रधानाध्यापक यादवले हाजिरी रजिष्टर खाली राखेका थिए।लामो समयपछि शिक्षीका सिंह विद्यालयमा उपस्थित भएपछि एकमुष्ठ हाजिरी गराइएको र पछि उक्त हाजिरीमा टिपेक्स लगाई सच्याएर पुनःहाजिर गराइएको खुलेको छ ।
प्रधानाध्यापक यादवले सोही फर्जी हाजिरी र विदाको अभिलेखका आधारमा मलंगवा नगरपालिकाबाट गैर कानुनी रूपमा छुट तलब निकासा गराएका थिए।अनुसन्धानका क्रममा शिक्षीका सिंह अनुपस्थित रहेको अवधि २०७९ साउनदेखि कात्तिकसम्मको रु दुई लाख ४० हजार नौ सय १४ र वैशाख,जेठ तथा असार महिनाको रु एक लाख ३० हजार एक सय २१ गरी कुल रु तीन लाख ७१ हजार ३६ गैर कानुनी रूपमा भुक्तानी लिएको र दिएको पुष्टि भएको छ।
सरकारी कागजात सच्याएर सरकारी रकम हिनामिना,हानि–नोक्सानी तथा दुरुपयोग गरेको पुष्टि भएकाले प्रतिवादीहरू प्रधानाध्यापक यादव र शिक्षीका सिंहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र दफा १७ बमोजिमको कसुरमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।उनीहरूबाट हिनामिना भएको बिगो रु तीन लाख ७१ हलार ३६ असुल उपर गरी कानून बमोजिम कैद र जरिवाना सजाय गर्न अख्तियारले मागदाबी गरेको छ ।

सम्बन्धित समाचार