कोरोना भाईरस(कोभिड–१९) कारण रोकिएको कक्षा ११ को परीक्षामा सामेल हुन जिल्लामा विद्यार्थीहरुले दोहोरो परीक्षा दस्तुर तिर्नुपर्ने भएको छ । माध्यामिक तह अन्तर्गत गत वैशाखमा हुनुपर्ने कक्षा ११ परिक्षा रोकिएको थियो भने कात्तिक २१ देखि सुरु हुँदै छ । उक्त परीक्षामा सामेल हुन विद्यार्थीहरुले ५ सय रुपैंयाँ थप दस्तुर बुझाउनुपर्ने विद्यालयहरुले नियम बनाएका हुन् । यसअघि गतवर्ष नै परीक्षा दस्तुर वापत प्रतिविद्यार्थी ६ सय रुपैंयाँ असुल गरिएको थियो ।
कोरोना भाईरस(कोभिड–१९) का कारण विद्यालयमा गएर अध्ययन गर्न नपाएका विद्यार्थीहरुलाई दोहोरो दस्तुर लिनु गैरकानूनी भएको र तत्काल निर्णय फिर्ता लिन विद्यार्थी अगुवाहरुले माग गरेका छन् । पहिले नै परीक्षा दस्तुर लिइएकोमा फेरि ५ सय रुपैयाँ थप गर्नु अन्याय हुने भएकाले निर्णय पुनरावलोकन गर्न अनेरास्ववियुका सर्लाही संयोजक विबेक मैनालीले माग गर्नु भयो । विद्यार्थीहरुलाई दोहोरो मार पार्ने काम भए चुप लागेर नबस्ने मैनालीले चेतावनी समेत दिनु भयो ।
राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाईरस(कोभिड–१९) का कारण परीक्षा सञ्चालन खर्च पठाउन नसकेपछि विद्यालयले विद्यार्थीसँग उठाउन लागेको बुझिएको उहाँको भनाइ छ । शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका अनुसार जिल्लाका २० वटै स्थानीय निकायका शिक्षा शाखा प्रमुख, पेशागत संगठनका प्रमुख र विद्यालयका प्रधानाध्यापकहरुबीच कात्तिक २१ देखि कक्षा ११ को परीक्षा सुरु गर्ने सहमति भएको हो ।
राष्ट्रिय परीक्षा बोर्ड जनकपुरका प्रकाश काफ्लेका अनुसार गत वर्ष लिइएको दस्तुर वापतको ६ सय रुपैयाँमध्ये २ सय प्रवेशपत्र,प्राविधिक व्यावस्थापन र अन्य खर्चका लागि उपयोग हुने र बाँकी ४ सय रुपैयाँ कक्षा १२ को परीक्षामा मिलान गरिदिने सहमति भएको छ । बोर्डले यस्तो व्यवस्था गरेको सूचना नै प्रकाशित गरेको छ । बोर्डले सहमति जनाएको भएपनि रु ५ सयको सट्टा रु ४ सय रुपैयाँ मात्रै लिइनुपर्ने मैनालीको तर्क छ । विद्यार्थीहरुबाट करिब ४ लाख रुपैयाँ असुल गरी हिनामिना गर्न नपाइने उहाँले बताउनुभयो ।
तर परिक्षा बोर्डले अहिले बुझाएको रु ५ सयबाट नियमित तर्फका विद्यार्थीहरुको कक्षा १२ को परिक्षा आवेदन शुल्कमा मिलान गरिने र आंशिक तर्फका विद्यार्थीहरुको ट्रान्किप्ट,प्रोभिज्नल सर्टिफिकेट र माइग्रेसनमा लाग्ने १ हजार ४ सय ५० मध्येको शुल्कमा मिलान गरी १ हजार १ सय मात्रशुल्क लाग्ने गरि साउन २३ माशुल्क मिलान गरिएको वोर्डका काफ्लेले बताउनु भयो ।
पहिले बोर्डले लिएको शुल्क कक्षा १२ मा मिलान हुने निर्देशन भएकाले सोहीअनुसार गरिएको फौजसिंह माविका शिक्षक केदार घिमिरेले बताउनु भयो। इकाइ प्रमुख रामआधार कुशवाहले बोर्डले कोरोना भाईरस(कोभिड–१९) का कारण रोकिएको कक्षा ११ को परीक्षा विद्यालय आफैंले सञ्चालन गर्ने कार्यविधि बनाएको बताउनु भयो । उहाँका अनुसार परीक्षामा जिल्लाका क्याम्पससहित ३ वटा सहित ६७ वटा मावि रहेकामा अहिले कक्षा ११को पढन पाढन चलेका ६१ वटा माविहरुमा परिक्षासञ्चालन हुने र उक्त परिक्षामा ५ हजार २ सय ६१ जना नियमित तर्फ र २ हजार ६ सय ६२ जना आंशिक तर्फका गरी जम्मा ७ हजार ९ सय २३ परिक्षार्थीहरुको सहभागीता रहने वोर्डले जनाएको छ । जिल्लामा ४८ वटा सामुदायिक मावि,१६ वटा निजि मावि र ३ वटा क्याम्पस रहेका छन ।
जिल्लामा कक्षा ११ को परीक्षा सबै विद्यालयले एउटै मितिमा सञ्चालन गर्ने सहमति जुटेको छ । बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ बाट सञ्चालन गर्ने मिति तोकेको र त्योभन्दा अघि नै कक्षा ११ को परीक्षा सक्न कार्यविधिमा भनिएको कुशवाहले बताउनुभयो । परीक्षाको मिति तयसँगै विद्यालयले त्यसको तयारी पनि थालि सकेको छ ।