आर्थिक वर्ष २०८२/०८३ मा सर्लाही भन्सारद्वारा करिब ४१ करोड राजस्व संकलन

201 Shares

सर्लाही भन्सार कार्यालय मलंगवाले आर्थिक वर्ष २०८२/०८३ मा करिब ४१ करोड राजश्व संकलन गरेको छ।२०८२ को साउनदेखि  २०८३ को असार मसान्त सम्ममा सर्लाही भन्सार कार्यालय मलंगवाले विभिन्न वस्तुहरुको आयात तथा निर्यात र लिलाम बिक्रिबाट रु ४० करोड ८३ लाख ५० हजार सात सय ७० राजश्व संकलन गरेको सर्लाही भन्सार कार्यालय मलंगवाका प्रमुख एवम प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा रु ५४ करोड २२ लाख ९५ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा सर्लाही भन्सार कार्यालय मलंगवामा आउने अधिकांश मालवस्तुहरु कृषिजन्य रहेका र ती मालवस्तुहरुमा विगतका वर्षहरुमा लाग्दै आएको अग्रिम आयकर खारेज भएका कारण कार्यालयले राखेको लक्ष्य पुरा हुन नसकेको हो ।
कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को कुल लक्ष्यको ७५ दशमलव ३० प्रतिशत बराबर राजश्व संकलन गरेको हो।प्रतिनिधि सभाको निर्वाचनका साथै राज्यले ल्याएको फरक नीतिका कारण राजस्व संकलनमा अपेक्षा गरे अनुसारको प्रगति हासिल गर्न नपाएको कार्यालय प्रमुख आचार्यले बताए।उनले संघीय निर्वाचनको प्रभाव पर्नु र राज्यले ल्याएको नयाँ नीतिका कारण अपेक्षा अनुसार राजस्व संकलन गर्न नपाएको बताए।  
जिल्लामा छोटी भन्सार कार्यालय र मुख्य भन्सार कार्यालयसहित आठवटा भन्सार कार्यालय रहेको भए पनि जिल्लाका दुई छोटी भन्सार कार्यालय मात्र सञ्चालन हुनु, प्रतिनिधि सभा सदस्यको निर्वाचनको प्रभाव पर्नु र राज्यको भन्सार नीति परिवर्तन भएकाले अपेक्षा अनुरुप राजस्व संकलन हुन नसकेको हो ।
सर्लाही भन्सार कार्यालय मलंगवाबाट धान,आलु,प्याज र कोईला आयात हुने तथा भेनियर बाहिरिने गरेको छ।यसका साथै जिल्लाबाट निकासी पैठारी,लिलामी र अस्थायी पैठारी लगायतका काम सर्लाही भन्सार कार्यालय मलंगवाबाट हुने गरेको छ ।
भन्सार कार्यालयले आर्थिक वर्षको २०८२/०८३ को साउनमा रु दुई करोड ६९ लाख ३१ हजार छ सय ६७,भदौमा रु दुई करोड २५ लाख ८४ हजार ४२, असोजमा रु दुई करोड ४६ लाख ७५ हजार पाँच सय ५३,कार्तिकमा दुई करोड १३ लाख ४७ हजार आठ सय २८, मंसिरमा रु पाँच करोड ३० लाख ३७ हजार छ सय ८७,पुसमा छ करोड ३४ लाख ७७ हजार ३६,माघमा रु चार करोड ८९ लाख ९९ हजार चार सय ८२,फागुनमा रु दुई करोड ९९ लाख २७ हजार चार सय ५१ र चैत्रमा रु दुई करोड ७८ लाख ११ हजार पाँच सय ३७ राजस्व संकलन गरेको छ।
त्यसैगरी,बैशाखमा रु तीन करोड ३३ लाख चार हजार नौ सय ९४,जेठमा दुई करोड ३५ लाख ८५ हजार तीन सय २४ र असारमा रु तीन करोड ५६ लाख ३८ हजार दुई सय १५ गरी कुल रु ४० करोड ८३ लाख ५० हजार सात सय ७० राजस्व संकलन गरेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए।

सम्बन्धित समाचार