सर्लाहीको बागमती नगरपालिका–५ स्थित रहेको जनता नमुना मा.वि.सोल्टी बजारका करिब एक हजार बढी विद्यार्थीहरुको आँखा जांच गरिएको छ।बागमती नगरपालिकाको समन्वय र तिलगंगा आँखा प्रतिष्ठान तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र,बागमतीको आयोजनामा जनता नमुना मा.वि.मा अध्यायनरत एक हजार ५० जना विद्यार्थीहरुको आँखा जाँच गरिएको प्रधानाध्यापक लोकनाथ दाहालले जानकारी दिए ।
उनका अनुसार आईतबार र सोमबार गरी एक हजार ५० जना विद्यार्थीहरूको आँखा परीक्षण गर्दा ३९ जना विद्यार्थीहरुमा दृष्टि दोषको समस्या पहिचान भएको छ।
दृष्टिदोष पहिचान भएका विद्यार्थीहरूको चश्माको पावर विद्यालयमै जाँच गरी आवश्यक पावर निर्धारण गरिएको छ।चश्मा निर्माणका लागि मात्र विद्यार्थीहरूलाई तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रमा पठाईने बागमती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।यसरी पठाइने विद्यार्थीहरुलाई चश्मा निर्माण वापत रु सात सय बराबरको सहुलियत प्रदान गरिने आयोजक तिलगंगा आँखा प्रतिष्ठान तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र,बागमतीले जनाएको छ ।
बालबालिकामा हुने दृष्टि दोषको समयमै पहिचान तथा उचित व्यवस्थापनले उनीहरूको सिकाइ,शैक्षिक उपलब्धि र समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याउँने अपेक्षा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलहरी पोखरेल(ध्रुव)ले बताए।उनका अनुसार विद्यालय तहबाटै बालबालिकाहरुको आँखाको स्वास्थ्य प्रति सचेतना अभिवृद्धि गर्दै समयमै आवश्यक सेवा उपलब्ध गराउने अभियान स्वरुप विद्यार्थीहरुको आँखाको जांच गराईएको हो।
बागमती नगरपालिकाले समय समयमा नगर भित्रका सामुदायिक विद्यालयहरुका साथै समुदायहरुको आँखा जाँच शिविर सञ्चालन गर्ने गरेको छ ।