केडिया परिवारद्वारा बाढी पीडितका लागि एक करोड सहयोग,अन्य संघ/संस्थाहरुको पनि सहयोग संकलन तिब्र

218 Shares

सर्लाहीको हरिवन स्थित रहेको इन्दु शंकर चिनी उद्योगले भोटेकोशी बाढी पीडितका लागि राहत स्वरुप रु ३५ लाख सहयोग गरेको छ।औद्योगिक समूह केडिया परिवार अन्तर्गतका उद्योगहरु मध्ये इन्दु शंकरको तर्फबाट रु ३५ लाख,सुशील वनस्पति प्रा.लिबाट रु ४० लाख, डीएभी सुशील केडिया विश्वभारती विद्यालयबाट रु २० लाख र सीताराम गोकुल मिल्क्स प्रा.लिबाट रु पाँच लाख गरी जम्मा रु एक करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको केडिया परिवारले जनाएको छ।संकलन भएको रकम नेपाल सरकारका अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर इन्दु शंकरका मालिक राजेश केडियासहित केडिया परिवारका सदस्यहरुले चेक हस्तान्तरण गरेका इन्दु शंकर चिनी उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले जानकारी दिए ।
त्यसैगरी,लायन्स क्लब लालबन्दी सिटीले पनि बाढी पीडितका लागि रु एक लाख ३० हजार सहयोग गरेको छ।क्लबले उक्त रकम सोझै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।भोटेकोशी बाढी पीडितका लागि थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको लायन्स क्लब लालबन्दी सिटीले जनाएको छ ।
साथै,बागमती नगरपालिका–५, राजघाट स्थित बिहानी चोकमा रेडक्रस मुठ्ठी समूहले बाढी पीडितका लागि रु एक लाख एक सय ११ सहयोग गरेको छ।मानवीय सेवाको भावनासहित संकलन गरिएको उक्त रकम सोझै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको  छ ।भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट रसुवा,नुवाकोट,धादिङलगायत जिल्लामा बाढी पीडित भएकाहरुका लागि सर्लाहीमा राहत संकलन कार्य जारी छ।व्यक्ति तथा संघ/संस्थाहरुले राहत रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिरहेका छन् भने खाद्यान्न, खानेपानी र कपडा पनि तीव्र रुपमा संकलन भइरहेको हो ।

सम्बन्धित समाचार