सर्लाही,महोत्तरी र रौतहट तथा भारत बिहारको सितामढी जिल्लाका पदाधिकारी र सम्वद्ध अधिकारीबिच नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठक सम्पन्न भएको छ ।भारतको सितामढीमा सोमबार साँझ बैठक सम्पन्न भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए ।नेपालको तर्फबाट तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख र भन्सार कार्यालयका प्रमुखहरु बैठकमा उपस्थित भएका थिए ।
त्यस्तै,बैठकमा भारतको तर्फबाट सितामढी जिल्लाका मुख्य जिल्ला अधिकारीको नेतृत्वमा पुलिस अधिक्षक,एसएसबीका पदाधिकारी र त्यहाँस्थित भन्सार कार्यालयका प्रमुख सहभागी भएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । खुला सीमानाका कारण हुन सक्ने चोरी तस्करी,लागुऔषध तथा मदिराको ओसार पसार नियन्त्रण,अवैध मुद्रा कारोवार नियन्त्रण,एक आपसमा सूचना आदान प्रदान र सुरक्षा संवेदनशीलताको विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सोमबार राति जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
नेपाल र भारतका सुरक्षा अधिकारीबिच यसरी नियमित जसो नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठक बस्ने गरेको भएपनि सिमा क्षेत्रबाट हुने अवैद्य कारोवार तथा अपराधिक गतिविधिहरुमा कुनै सुधार नआएको स्थानीय जानकारहरु बताउँछन् ।