Close This

निषेधाज्ञाको पालना गर्न उप प्रमुख लामाको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२५ गते   १९१ पटक हेरिएको

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) को संक्रमणबाट बच्न लालबन्दी नगरपालिकाले पनि निषेधाज्ञा घोषणा गरेको छ । संक्रमितको संख्या दिनप्रतिदिन बढदै गइरहेकोले थप संक्रमणलाई न्यूनिकरण गर्न भन्दै लालबन्दी नगरपालिकाले वैशाख ३१ गते सम्म निषेधाज्ञा घोषणा गरेको हो ।
सम्पूर्ण नगरवासीलाई कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सर्तक रहन लालबन्दी नगरपालिकाले आग्रह गरेको नगर उप प्रमुख शान्ती लामाले बताउनु भयो । थप संक्रमणलाई न्यूनिकरण गर्न र लालबन्दी नगरपालिका सम्पूर्ण जनताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै आम जनमानसमा संक्रमण फैलन नदिन नगरस्तरीय संकट व्यावस्थापन समिति लालबन्दीले एक सुचना जारी गर्दै नगरभर वैशाख ३१ गते सम्म निषेधाज्ञा पूर्णरुपमा पालना गर्न लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख लामाले आग्रह गर्नु भयो ।
नगर भित्र निषेधाज्ञाको अवधीमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्यूटीपार्लर, शैलुन, शैक्षिक संस्था, ट्यूसन सेन्टर बन्द रहने छन् । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन हुन दिईने उप प्रमुख लामाले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य संस्था र पेट्रोल पम्प खुल्ला रहने छन् । खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्याँस पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने छ । बैङ्क तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन गर्नुपर्नेछ ।
विवाह, व्रतवन्ध, मृत्यु संस्कारलगायतका कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बढीमा १५ जना मात्रै सहभागी हुन पाउने नगरस्तरीय विपद् व्यावस्थापन समितिले निर्णय गरेको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले बताउनु भयो ।नगरस्तरीय विपद् व्यावस्थापन समितिले औषधोपचार एवम अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउने, समूहमा नहिँड्ने र भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको नगर प्रवक्ता श्रेष्ठले बताउनु भयो  ।
यो आदेशको अवज्ञा गरेमा प्रहरीले तुरुन्त नियन्त्रणमा लिएर कारवाही गर्न सक्ने छ ।  नगरमा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा घोषणा गरिएको उप प्रमुख लामाले जानकारी दिनुभयो ।
 महामारीको यस घडीमा ब्यक्तिगत तथा आफनो परिबार र समाजको स्वास्थ्यलाई सर्वोपरी राख्दै आफनो कर्तब्य पालना गर्न सम्पुर्ण वडाबासीहरुमा उप प्रमुख लामाले आग्रह गरे । महामारीबाट बाँच्न सुरक्षा सामग्रीको प्रयोगका साथै भौतिक दुरीको पालना गर्दै घरमा सुरक्षित रहन समेत वडा कार्यालय सम्पुर्ण जनसमुदालगायतलाई आग्रह गर्नु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech