पुर्व पश्चीम राजमार्ग अन्तरगत सर्लाहीको इश्वरपुर,लालबन्दी र हरिवन नगरपालिका क्षेत्रका बाख्रा बजारहरुमा भारतबाट ल्याइएका बाख्राको कारोबार हुने गरेको स्रोतको आरोप छ। नेपाल भारत खुल्ला सीमाना र नेपालमा भन्दा भारतमा बाख्राको खरिद बिक्रि मुल्य सस्तो भएकाले यी बजारहरुमा व्यापारीहरुले भन्सार छली अवैध तरिकाले भारतबाट बाख्रा नेपाल ल्याउने र यी बजारमा पुर्याउने गरेका पाइएको हो ।भारतबाट नेपाल भित्रिने बाख्राको वैधानिक स्रोत,भन्सार प्रक्रिया तथा पशु स्वास्थ्य परीक्षण बारे पर्याप्त निगरानी हुन नसकेको साथै सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु कै मिलेमतोमा अवैध तरिकाबाट भारतिय बाख्रा नेपाल ल्याउने गरिएको व्यापक गुनासो छ।
खुला सीमाका कारण सीमावर्ती जिल्लामा भारतबाट विभिन्न प्रकारका कृषि तथा पशुजन्य वस्तुको कारोबार हुँदै आएको छ।त्यसमध्ये बाख्राको आयात तथा स्थानीय बजारमा हुने खरिद–बिक्री पनि नियमित व्यापारिक गतिविधिका रूपमा हुने गरेको छ।तर,आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा नगरी पशु भित्र्याउँदा त्यसले राज्यको राजस्वमा असर पार्नुका साथै वैधानिक रूपमा व्यवसाय गर्ने व्यापारीलाई समेत प्रतिस्पर्धामा समस्या पार्ने व्यवसायीहरूको भनाइ छ।बाख्रा बजारमा भारतबाट ल्याईएका भनिएका बाख्राको कारोबार हुने गरेको विषयमा प्रश्न उठे पनि त्यसतर्फ सरोकारवाला निकायको ध्यानाकर्षण नभएको व्यापारीहरु नै बताउँछन्। उनीहरुका अनुसार बजारमा आउने बाख्राको वास्तविक स्रोत, ओसार पसारको बाटो, आवश्यक कागजात तथा भन्सार प्रक्रिया पूरा भए–नभएको विषयमा आधिकारिक अनुगमन आवश्यक छ।
उनीहरुका अनुसार भारतबाट खरिद गरेर ल्याइएका बाख्रा नेपाली बजारमा बिक्री गर्दा व्यापारीसँग खरिदको प्रमाण, ओसार पसार सम्बन्धी कागजात तथा पशु स्वास्थ्यसँग सम्बन्धित आवश्यक प्रमाण हुनुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा विवाद कम हुन सक्छ।तर बजारमा त्यस्ता कागजातको नियमित परीक्षण हुने वा नहुने विषयमा भने प्रश्न उठिरहेको छ।यसका साथै अर्को महत्वपूर्ण पक्ष पशु स्वास्थ्य हो।भारतबाट नेपाल भित्रिने बाख्राको स्वास्थ्य अवस्था परीक्षण तथा आवश्यक क्वारेन्टाइन प्रक्रिया पूरा गरिएको छ कि छैन भन्ने विषयमा सम्बन्धित पशु सेवा निकायले अनुगमन गर्नुपर्ने देखिन्छ।रोग संक्रमित पशु परीक्षणबिना बजारमा पुगेमा त्यसको असर स्थानीय किसानले पालेका पशुमा समेत पर्न सक्ने भएकाले यसलाई सामान्य व्यापारिक विषयका रूपमा मात्र लिन नहुने पशु व्यवसायीहरूको भनाइ छ।त्यसैगरी,भन्सार प्रक्रिया पूरा नगरी बाख्रा भित्र्याइएको पुष्टि भएमा त्यसबाट राज्यको राजस्व गुम्ने मात्र होइन, वैधानिक रूपमा कर तथा अन्य शुल्क तिरेर व्यवसाय गर्ने व्यापारीलाई पनि असमान प्रतिस्पर्धाको अवस्था सिर्जना हुन्छ।त्यसैले भारतबाट आउने बाख्राको कारोबारलाई व्यवस्थित गर्न भन्सार,सुरक्षा निकाय, स्थानीय प्रशासन तथा पशु सेवा कार्यालयबीच समन्वय आवश्यक देखिन्छ।
स्थानीयस्तरमा उठेको मुख्य प्रश्न भनेको बजारमा बिक्रीका लागि आउने बाख्रा कहाँबाट आएका हुन् ? र त्यसको वैधानिक प्रमाण के हो ? भन्ने हो।यसको जवाफ अनुमान वा आरोप बाट होइन,सम्बन्धित निकायले स्थलगत अनुगमन र कागजात परीक्षणबाट दिनुपर्छ ।बाख्रा बजारमा नियमित अनुगमन गरी भारतबाट आएका बाख्राको संख्या,व्यापारीको विवरण, खरिद स्रोत, ओसार पसार सम्बन्धी कागजात तथा पशु स्वास्थ्य परीक्षणको अवस्थाबारे अभिलेख राख्न सकेमा वास्तविक अवस्था स्पष्ट हुन सक्छ। त्यस्तै,भन्सार छली भएको प्रमाण भेटिए कानुन अनुसार कारबाही र वैधानिक रूपमा कारोबार गरिरहेका व्यवसायीलाई संरक्षण गर्नुपर्ने स्थानीय व्यवसायीहरूको माग छ।सम्बन्धित निकायले बजार अनुगमनको परिणाम सार्वजनिक गरेमा भन्सार छली सम्बन्धी आरोप कति सत्य हो भन्ने पनि स्पष्ट हुनेछ। अनुगमन नगरी आरोपलाई बेवास्ता गर्नु वा प्रमाण बिना सबै व्यापारीलाई दोषी देखाउनु दुवै उचित हुँदैन। सरोकारवाला निकायको मौनताका कारण प्रभावकारी बजार अनुगमन हुन सकिरहेको छैन् ।खुला सीमासँग जोडिएको पशु कारोबारलाई पूर्ण रूपमा रोक्ने भन्दा वैधानिक कारोबारलाई सहज र अवैध कारोबारलाई नियन्त्रण गर्ने नीति प्रभावकारी हुने जानकारहरु बताउँछन् । त्यसका लागि सीमा क्षेत्रदेखि बजारसम्मको आपूर्ति शृंखलामा निगरानी,कागजात परीक्षण र पशु स्वास्थ्य जाँचलाई नियमित बनाउन आवश्यक छ।भारतसंग सीमा जोडिएका जिल्लाका बाख्रा बजारहरुमा उठेका यी विषयले स्थानीय बजार व्यवस्थापनसँगै भन्सार राजस्व,सीमा निगरानी र पशु स्वास्थ्यसम्बन्धी संयन्त्रको प्रभावकारिता माथि प्रश्न उठाएको छ।तसर्थ,सम्बन्धित निकायले आरोप(प्रत्यारोप भन्दा माथि उठेर वास्तविक अवस्था सार्वजनिक गर्नुपर्छ ।