सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको भन्दै बोर्ड अध्यक्षको प्रतिस्पर्धाबाट कार्की बाहिरिए

188 Shares

सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नदेखिएको भन्दै विज्ञापन बोर्डमा अध्यक्ष पदको प्रतिस्पर्धाबाट रामहरि कार्की बाहिरिएका छन्।नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष समेत रहेका कार्कीले नैतिकताका आधारमा आफू प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेका बताए ।
पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा मातहतका काठमाडौं,ललितपुर र भक्तपुर जिल्ला शाखाहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार विरुद्ध आन्दोलनरत छन्।यस्तो अवस्थामा आफू सरकारद्वारा नियुक्त हुने पदको प्रतिस्पर्धामा सहभागी भइरहन नैतिक रूपमा उचित नहुने निष्कर्षमा पुगेर बाहिरिएको अध्यक्ष कार्कीले बताए ।आफू बिज्ञापन क्षेत्रको बेथिति अन्त्य गर्दै सञ्चार क्षेत्रलाई समृद्ध बनाउन अध्यक्ष पदको प्रतिस्पर्धामा पुगेपनि पछिल्लो समय सरकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिको व्यवहारले निराश बनाएको उनले बताए ।
उनका अनुसार संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारप्रति सरकारको व्यवहार क्रमशःसंकुचित हुँदै गएको छ।स्वतन्त्र प्रेसलाई संरक्षण र सहयोग गर्नुपर्नेमा सरकार संकुचन,नियन्त्रण तथा हस्तक्षेपको बाटोमा अघि बढेको उनको आरोप छ ।
लोककल्याणकारी बिज्ञापनको रकम कटौती,निजी सञ्चार माध्यममा सरकारी बिज्ञापनको नाकाबन्दी,सरकारका मन्त्रीहरुबाटै प्रेसमाथि धम्की र दबाबको वातावरणमा आफू सोही सरकार मातहत काम गर्न नसक्ने समेत कार्कीले बताए।उनले भने “मेरो यो निर्णय प्रेस स्वतन्त्रता,लोकतान्त्रिक मूल्य,मान्यता र पत्रकारिताको मर्यादा प्रतिको प्रतिबद्धताको सार्वजनिक घोषणा हो।”प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार प्रति लामो समयदेखि काठमाडौं,ललितपुर र भक्तपुर जिल्ला शाखाहरू निरन्तर आन्दोलनमा छन् ।

सम्बन्धित समाचार