११ वटा नगरपाकिला र नौ वटा गाउँपालिका गरी २० वटा पालिका रहेको सर्लाहीका १३ वटा पालिकामा नेपाली कांग्रेसले सर्वसम्मत रुपमा पार्टीको पालिकास्तरीय कार्य समिति चयन गरेको छ ।
१५ औँ महाधिवेशन अन्तर्गत सर्लाहीको क्षेत्र नं. १, ३ र ४ का सम्पूर्ण पालिकामा सहमतिमै गाउँपालिका तथा नगरपालिका कार्य समिति चयन गरिएको जिल्ला सचिव निरज कार्कीले जानकारी दिए।उनका अनुसार क्षेत्र नं. १ को लालबन्दीमा नारायण गुर्मछान,ईश्वरपुरमा नेत्र कार्की,हरिपुरमा सुशील चौधरी र चन्द्रनगरमा श्याम सिंह सभापति रहने गरी सर्वसहमत कार्य समिति चयन गरिएको छ ।
क्षेत्र नं. ३ को हरिवनमा टिकाजंग थापा,बागमतीमा सुरज सुवेदी,बरहथवामा उपेन्द्र महतो र चक्रघट्टामा रामजी साह सभापति रहने गरी कार्य समिति चयन गरिएको छ।त्यस्तै क्षेत्र नं. ४ को बसबरियामा लालबाबु महतो,धनकौलमा अमरेन्द्र साह,गोडैतामा अरविन्द पटेल, रामनगरमा रामकेवल साह र बलरामा पंकज सिंह सभापति रहने गरी नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न गरिएको सचिव कार्कीले बताए ।
सबै स्थानमा सभापतिसहित एक भन्दा बढी आकांक्षी रहे पनि निरन्तर छलफल र सम्वादबाट अन्तिममा निर्विरोध कार्य समिति चयन गरिएको नेपाली कांग्रेस सर्लाहीका सभापति डा.सरोज कुमार राय यादवले बताए ।
उनका अनुसार पालिकास्तरसम्म सर्वसम्मत नेतृत्व चयन भएको सर्लाही १,३ र ४ मा क्षेत्रीय अधिवेशन सुरु भएको छ । क्षेत्रीय अधिवेशनबाट १५ औँ केन्द्रीय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि समेत चुनिने छन्। क्रियाशील सदस्यता विवादले सर्लाही क्षेत्र नम्बर २ मा भने वडा अविधेशन नै हुन सकेको छैन् ।
विवादका कारण क्षेत्र नं. २ को मलंगवा,कविलासी,हरिपुर्वा नगरपालिका सहित पर्सा,बम्हपुरी, विष्णु र कौडेना गरी सातवटा पालिकामा अधिवेशन नै हुन सकेको छैन् । सर्लाहीका सभापति डा.सरोज र क्षेत्रीय सभापति कौशल किशोर राय यादव विच क्रियाशिल सदस्यको विषयमा विवाद सृजना हुँदा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको अधिवेशन कहिले सुरु हुने भन्ने अन्यौलता कायमै रहेको कांग्रेस नेताहरुले बताएका छन् ।
कांग्रेसका पूर्व जिल्ला सभापतिद्वय नागेन्द्र कुमार राय यादव र लक्ष्मण राय यादव पक्षबिच क्रियाशील सदस्यताको विषयमा विवाद कायमै छ।अधिवेशन नै हुन नदिएर क्षेत्र नं. २ लाई १५ औँ महाधिवेशनबाट बञ्चित गर्ने प्रयास भइरहेको क्षेत्र नं. २ का सभापति कौशलकिशोरले बताए।जनकपुरमा दुवै पक्षबिच छलफल भई रहेको भए पनि सहमति जुट्न सकेको छैन् ।