सर्लाही सदरमुकाम मलंगवास्थित रहेको प्रादेशिक अस्पताल मलंगवामा जडान गरिएका करोडौं मूल्यको डायलासिस मेसिन करिब साँढे दुई वर्षदेखि प्रयोगविहीन अवस्थामा छ।आवश्यक जनशक्ति र प्राविधिक व्यवस्थापन हुन नसक्दा अस्पतालले हालसम्म हेमोडायलासिस सेवा सञ्चालन गर्न नसकेको पाइएको छ ।
२०८० फागुन १२ गते मधेश प्रदेश सरकारका तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले अस्पतालमा हेमोडायलासिस सेवाको उद्घाटन गरेका थिए।उद्घाटन भएको साँढे दुर्ई वर्ष बितिसक्दा पनि सेवा सञ्चालनमा नआउँदा मिर्गौला रोगीहरू उपचारका लागि जनकपुर,बर्दिबास,वीरगञ्ज तथा काठमाडौं धाउन बाध्य भएका छन् ।अस्पतालमा जडान गरिएका पाँचवटा डायलासिस मेसिन लामो समयदेखि प्रयोगमा नआउँदा सरकारी लगानीको सदुपयोग हुन नसकेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरे ।
आवश्यक जनशक्ति उपलब्ध नहुँदा सेवा सञ्चालनमा ढिलाइ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र कुमार यादवले बताए ।उनले आफू अध्यक्षको जिम्मेवारी सम्हालेको छ महिनाको अवधिमा यस विषयमा पटक–पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय तथा बारम्बार ध्यानाकर्षण गराएको पनि उनले जानकारी दिए ।“मेसिन र अन्य तयारी लगभग पूरा छ तर आवश्यक प्राविधिक जनशक्ति नपठाइँदा सेवा सञ्चालन हुन सकेको छैन,दशैं पछि सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।” अध्यक्ष यादवले बताए ।
त्यस्तै,अस्पतालका निमित्त प्रमुख डा.रामप्रकाश शाहले पनि जनशक्तिको अभाव नै मुख्य समस्या रहेको बताए।उनका अनुसार डायलासिस सेवा सञ्चालनका लागि आवश्यक दक्ष प्राविधिक र स्वास्थ्यकर्मी नहुँदा पटक–पटक छलफल भए पनि ठोस निष्कर्षमा पुग्न सकिएको छैन ।“सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनबारे मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको भएपनि अहिलेसम्म समस्या समाधान हुन सकेको छैन ।”उनले भने
यता,असोजभित्रै डायलासिस सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री नागेन्द्र साहले बताए।उनका अनुसार आवश्यक जनशक्ति व्यवस्थापनका लागि कानुनी प्रक्रिया टुंगो लगाइएको छ ।“कानुनी प्रक्रियाका कारण आवश्यक जनशक्ति भर्ना गर्न नसकिएको मन्त्री साहले बताए। मन्त्रिपरिषद् बैठकले अस्थायी दरबन्दी स्वीकृत गरेको छ।अहिले ओएनएम प्रक्रिया पनि अगाडि बढिरहेको छ।प्रक्रिया पूरा हुनेबित्तिकै चिकित्सक तथा प्राविधिक जनशक्ति भर्ना गरेर सेवा सञ्चालनमा ल्याउँने अस्पताल प्रशासनले जनाएको छ ।”
अस्पताल प्रशासनका अनुसार जनशक्तिको अभावका कारण डायलासिस सेवा मात्र नभई आईसीयू र एसएनसीयूजस्ता महत्वपूर्ण सेवा समेत पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । अस्पतालमा दैनिक चार सय भन्दा बढी बिरामी स्वास्थ्य सेवा लिन आउने गरेका छन् भने १२ देखि १५ जना सुत्केरी सेवा लिन पुग्ने गर्छन्।तर एसएनसीयूका दुईवटा बेड मात्र सञ्चालनमा रहेकाले कतिपय नवजात शिशुलाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।
अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी रहे पनि केही कर्मचारी विभिन्न अस्पतालमा काजमा खटिने गरेका कारण सेवा प्रवाह प्रभावित हुने गरेको अस्पताल स्रोतले जनाएको छ।यस्तै,नेपाल सरकारको छात्रवृत्ति कार्यक्रम अन्तर्गत खटाइने चिकित्सक समेत यस वर्ष प्रादेशिक अस्पतालमा नपठाइँदा जनशक्ति अभाव थप गम्भीर बनेको अस्पताल प्रशासनले जनाएको छ ।