सिन्धुलीका तीन वटा सरकारी कार्यालयका प्रमुखहरुको एकैपटक सरुवा भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति,कमलामाई नगरपालिका र दुधौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको हो ।
मन्त्रालयको असोज ५ गतेको निर्णयअनुसार जिल्ला समन्वय समिति सिन्धुलीका जिल्ला समन्वय अधिकारी तीर्थराज पौडेल गृह मन्त्रालयमा सरुवा भएका छन्।उनको ठाउँमा उपसचिव अच्युतराज रेग्मीलाई जिल्ला समन्वय अधिकारीको जिम्मेवारी दिइएर सरुवा गरिएको छ ।त्यस्तै,कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीलाई पनि गृह मन्त्रालय वा अन्तर्गतको कार्यालयमा सरुवा गरिएको छ।तर तिवारी सरुवा भए पनि कमलामाई नगरपालिकाले भने तत्कालै नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छैन।
यता,दुधौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तलाई सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिएको छ।पन्तको स्थानमा मन्त्रालयले उपसचिव राजु खनाललाई दुधौली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको छ।यससँगै सिन्धुलीका तीनवटा सरकारी कार्यालयहरुका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा भएपनि कमलामाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत नखटाईएको पाइएको हो ।