जताततै ढकमक्क फूलेको काँसले मन लोभ्याउँदै

239 Shares

सिन्धुलीको कमलाखोज क्षेत्रका साथै मरिण र चँदाहा क्षेत्रमा काँस फूलेर सेताम्मे भएसँगै मनोरम दृश्य देखिएको छ।दशैँ,तीहार,छठजस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा सिन्धुलीका डाँडापाखा,मैदान तथा खोला किनार क्षेत्रमा ढकमक्क भएर काँस फूल्दा प्राकृतिक सौन्दर्यता बढेको हो।सेताम्मे भएर फूलेको काँसले शरद ऋतुको आगमनको संकेत दिन थालेको छ ।
जिल्लाको कमलामाई नगरपालिका ग्वाङ्खोला,मरिण गाउँपालिका स्थित मरिण खोला,तीनपाटन गाउँपालिका स्थित चँदाहा खोला र दुधौली नगरपालिका क्षेत्रमा कमला खोला लगायत प्रत्येक नदी तथा खोला किनारमा अहिले काँस फूलेर ढाकेको छ। कमला खोला किनारमा ढकमक्क भएर फूलेको काँस हेर्दा असाध्य रमाइलो र आनन्द महसुस हुने गरेको दुधौली नगरपालिका–२ का सन्तोष पोखरेलले बताए ।उनका अनुसार खोलामा काँस फूलेपछि साँझ बिहान कमला पुलमाथि बसेर मोवाइलबाट काँसघारीको तस्बिर कैद गर्ने र अवलोकन गर्नेहरु बढेका छन्।
घाँस प्रजातिमा पर्ने काँस छठ पर्वमा विभिन्न सामाग्री बनाउन र घर छाउन खरको रुपमा समेत प्रयोग गर्ने प्रचलन रहेको छ।ग्रामीण भेगमा काँस फूलेपछि रोगब्याधि हट्ने र किसानले लगाएको बालीनाली सप्रिने जनविश्वा ससमेत रहेको छ।खोला किनारमा जरा फैलाएर उम्रने काँसले माटो समाएर राख्ने भएकाले बर्खायाममा हुने कटान रोक्न धेरै मद्धत गर्ने स्थानीय जानकारहरु बताउँछन् ।
चरिचरण निषेध गरिएका वन क्षेत्र तथा खोलाहरुमा अहिले बाक्लो मात्रामा काँस संरक्षण भएको र हिउँदमा सुक्खा देखिने खोला किनार अहिले काँसका कारण हराभरा बन्न पुगेको स्थानीयको भनाई छ।पछिल्लो समय वस्तुभाउ पाल्नेक्रम कम भएसँगै खोला क्षेत्रमा चरिचरण कम भएपछि काँस बढ्दै गएको छ।अहिले हरेक ठाउँमा आउजाउ गर्दा चारैतिर काँस नै काँस फूलेर आकर्षक देखिन थालेको छ ।

सम्बन्धित समाचार