सिन्धुली काँग्रेसमा युवाको उदय, पुराना पुस्ता असफल की पुस्तान्तरणको संकेत

392 Shares

नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका लागि सिन्धुलीका दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन हुँदा नयाँ पुस्ताको उल्लेख्य उपस्थिति देखिएको छ।कांग्रेस दासहरु र लाशहरुको पार्टी होइन भन्दै विशेष महाधिवेशनबाट सभापती बनेका गगन कुमार थापाले कांग्रेसमा युवाहरुको स्थान सुरक्षित बनाउनु पर्छ भन्ने अभियान चलाउँदै जाँदा १५ औँ महाधिवेशनका लागि वडादेखि पालिका र क्षेत्र सम्मको अधिवेशनमा युवाहरुको उलेख्य उपस्थितिले नेपाली कांग्रेस भित्र बदलिँदो शक्ति सन्तुलनको संकेत दिएको छ । 
लामो समयदेखि प्रभावमा राख्दै आएका केही नेताभन्दा नयाँ अनुहारले बढी मत प्राप्त गरेपछि नेतृत्व निर्माण,पुस्तान्तरण र संगठनको आगामी दिशाबारे बहसको आधार बनेको नेपाली कांग्रेसले जनाएको छ ।निर्वाचन परिणाममा पुराना नेताको उपस्थिति कायम रहे पनि युवा तथा स्थानीय तहबाट स्थापित नेतृत्वको प्रभाव विस्तार भएको देखिन्छ।यसले जिल्लाको काँग्रेस राजनीतिमा अनुभवसँगै नयाँ पुस्ताको सक्रियता र संगठनात्मक पहुँचसमेत प्रतिस्पर्धाको निर्णायक आधार बन्दै गएको संकेत गरेको छ ।
सिन्धुली क्षेत्र नम्बर १ को खुलातर्फ २३ जना महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरुबीच प्रतिस्पर्धा भएकोमा पुराना नेता उज्ज्वल प्रसाद बरालले सात सय ८१ मतसहित सर्वाधिक मत प्राप्त गरेर निर्वाचित भए।तीनपाटन गाउँपालिकाका अध्यक्ष तथा निवर्तमान क्षेत्र नं. १ का सभापति कर्णबहादुर थापा मगरले सात सय १३ मत पाएका छन्।प्रेमचन्द्र दाहालले  सय ३१ तथा नयाँ पुस्ताका मुकेश घिमिरेले छ सय २४ मतसहित महाधिवेशन प्रतिनिधि बनेका छन्।
यही क्षेत्रबाट काँग्रेसका पूर्व सचेतक श्याम घिमिरे र लामो समय पार्टी संगठनमा योगदान गरेका मोहन बराल पनि निर्वाचित भए।यद्यपि,उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न तुलनात्मक रूपमा कठिन प्रतिस्पर्धा परेको विवरणले पुराना नेताको स्थापित प्रभावमाथि नयाँ पुस्ताबाट चुनौती थपिएको देखाउँछ ।
क्षेत्र नम्बर २ को खुलातर्फ पछिल्लो समय पार्टी गतिविधिमा सक्रिय क्षेत्र बहादुर बम्जनले सात सय पाँच मतसहित पहिलो बने।दीपककुमार घिमिरे,कुमार ढकाल,डम्बर बहादुर कार्की, नवराज श्रेष्ठ“आकास”,ईश्वरकुमार बस्नेत,भुपेन्द्र पौडेल र विवश कुमार वाईबा पनि निर्वाचित भए।जिल्ला सभापति उपेन्द्रकुमार पोखरेल र कृष्णप्रसाद दाहालले भने कठिन प्रतिस्पर्धाबीच प्रतिनिधिको स्थान सुरक्षित गरे ।
कमलामाई नगरपालिका–६ का वडाध्यक्ष तथा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने उज्वल थापाले खस आर्यतर्फ सर्वाधिक मत प्राप्त गरे।महिलातर्फ चार जना प्रतिनिधि चयन भए।पैंतीस वर्षमुनिका युवा खुलातर्फ मविन कुमार तामाङ र समिर विक्रम थापा निर्वाचित हुँदा युवाको उपस्थितिले थप संस्थागत आधार पाएको छ ।
क्षेत्र नम्बर २ बाट तामाङ र थापाको चयन तथा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुजन थापा मगरको विजयलाई परम्परागत संगठनात्मक संरचनाभित्र युवाको पहुँच विस्तार जोडिएको छ।प्रतिनिधि छनोटमा देखिएको यो उपस्थितिले आगामी नेतृत्व निर्माणमा युवाको दाबी बलियो बनाउने सम्भावना देखाएको छ ।
तर,निर्वाचन परिणामलाई पुस्तान्तरणको एउटै आधारबाट व्याख्या गर्नु पर्याप्त नभई उम्मेदवारको व्यक्तिगत सम्बन्ध,स्थानीय संगठनमा प्रभाव,सामाजिक पहुँच,राजनीतिक सक्रियता र मतदातासँगको प्रत्यक्ष सम्पर्कले पनि अधिवेशनको परिणाम निर्धारण गर्छन्।त्यसैले नयाँ पुस्ताको सफलतालाई संगठनात्मक प्रभाव विस्तारको संकेत मान्न सकिए पनि तत्काल पूर्ण नेतृत्व परिवर्तनको निष्कर्ष निकाल्नु हतार हुनेछ ।
यसपटक पुराना नेता,स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र नयाँ अनुहारले सँगसँगै प्रतिनिधित्व पाएका छन्।यसले नेतृत्व निर्माणको आधार फराकिलो भएको देखाउँछ।पुराना नेताका लागि आफ्नो भूमिकालाई पुनःपरिभाषित गर्ने चुनौती थपिँदा उनीहरूको अनुभव, युवाको ऊर्जा र बदलिँदो राजनीतिक अपेक्षाबीच समन्वयको आवश्यकता बढेको छ ।महाधिवेशनको तयारीसँगै देशभर प्रतिनिधि चयन प्रक्रिया अघि बढेको सन्दर्भमा सिन्धुलीको परिणामले पुस्तागत प्रतिस्पर्धा र नयाँ नेतृत्वको खोजीलाई थप स्पष्ट बनाएको छ । 
अब निर्वाचित नयाँ अनुहारको राष्ट्रिय महाधिवेशनमा हुने सहभागिता र जिल्लामा फर्किएपछि संगठन निर्माणमा देखिने योगदानले उनीहरूको प्रभावको वास्तविक परीक्षण गर्नेछ।प्रतिनिधिमा चयन हुनु प्रारम्भिक उपलब्धि भए पनि त्यसलाई निरन्तर राजनीतिक सक्रियता र संगठनात्मक जिम्मेवारीमा रूपान्तरण गर्नुपर्ने चुनौती छ।अनुभव र नयाँ अपेक्षाबीच बन्ने सहकार्यले नै सिन्धुली काँग्रेसको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ।

सम्बन्धित समाचार