समीरमाथि किर्ते लालपुर्जा बनाएर जग्गा बिक्रि गरेको आरोप

442 Shares

सुशासन,पारदर्शिता र कानुनको पालनाको चर्को नारा लगाइरहँदा तर राजनीतिक संरक्षण र आडमा हुने अपराधहरूले राज्य व्यवस्थालाई गम्भीर चुनौती दिइरहेको छ।राजनीतिक पृष्ठभूमिको आडमा सर्वसाधारण जनतालाई विभिन्न किसिमबाट झुक्याए लुट्ने र ठगी गर्ने क्रम अझैँ नहटेको स्थानीय बताउँछन् ।
सर्लाहीको क्षेत्र नम्बर ३ प्रदेश सभा(क)का निवर्तमान प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीका छोरा समीर उप्रेतीले फर्जी लालपुर्जा तयार गरी सोही लालपुर्जाको आधारमा सर्वसाधारणलाई करोडौँको जग्गा बिक्रि गरेको देखाएर ठगी गरेको रहस्य फेला परेको छ ।राजनीतिकर्मीका परिवारहरूको नाम जोडेर हुने आपराधिक मनोवृत्ति र यसले निम्त्याएको सामाजिक वितृष्णालाई निवर्तमान प्रदेश सभा सदस्य डिल्लीका छोरा समीरले उदाङगो पारेका छन् ।
हरिवन  नगरपालिका–९ निवासी निवर्तमान प्रदेश सभा सदस्य डिल्लीका छोरा समीर समुहले विरगन्जकी रोनिया शाहलाई जग्गा बिक्रि गरेका र पछि बैँकले भ्यालुएसन गर्ने क्रममा उत्त जग्गा नरहेको रहस्य फेला परेपछि फर्जि लालपुर्जा बनाएर निवर्तमान प्रदेश सभा सदस्य डिल्लीका छोरा समीर समुहले ठगी गरेको रहस्य फेला परेको हो ।
समीरकी आमा भीम कुमारी उप्रेतीको नाममा रहेको  हरिवन ५(ख)को १–१–१–८,समीरको नाममा रहेको हरिवन २(ख)को १–२ धुर र अर्काे हरिवन ६(ज)को १–५ धुर जग्गा रु छ करोड ५० लाखमा विरगञ्जकी शाहलाई बिक्रि गरेको तर उक्त जग्गा २०७७ मंसिर २९ मा अर्काे मानिसलाई पहिला नै बिक्रि गरि सकेको समेत पाइएको पीडित शाहले बताईन् ।
मालपोत कार्यालय हरिवनका कर्मचारी नविन निरौला,नापी कार्यालय हरिवनका अमिन सन्जय कापर,लेखन्दाह यज्ञ आचार्य,जग्गा कारोबारी उप्रेती र नारायण दाहालका साथै इन्जिनियर(भ्यालुएटेर) सन्तोष श्रेष्ठ समेतको मिलेमतोमा हरिवन नगरपालिका ७ र ९ को वडाको छाप र वडा अध्यक्षको हस्ताक्षर सहित मालपोत तथा नापीको छापपनि कम्प्युटरमा स्क्यान गरी किर्ते गरेर एउटै जग्गाको दुई वटा लालपुर्जा र श्रेस्ता समेत फर्जि बनाएर बिक्रि वितरण गरेको मालपोत तथा नापी कार्यालय समेतले प्रष्ट पारी सकेको पीडित शाहले बताईन् ।
उनले एनआईसी यसिया बैँकबाट पहिला नै ऋण खाएकी र पछि ऋण थप्ने क्रममा भ्यालुएसन गर्ने क्रममा उत्त जग्गाका सवालमा केही शंका सृजना भएपछि मालपोत तथा नापी कार्यालयबाट प्रमाण जुटाउने क्रममा जग्गा नरहेको रहस्य फेला परेको समेत बताईन् ।त्यसपछि आफ्नो रकम फिर्ता माग्दा जग्गा कारोबारी समीरले विभिन्न समय थप्नै अनावश्यक धम्की समेत लगाउने गरेको साथै समीरका बुबा निवर्तमान प्रदेश सभा सदस्य डिल्लीलाई समेत सो कुरा सुनाउँदा तपाई भाग्नु नै राम्रो हुन्छ भन्दै आफुलाई दवाव दिएर आफ्ना छोराको उत्त किर्ते तथा जालसाजी काममा सहयोग पुर्याएको पीडित शाहको आरोप छ।
प्राप्त विवरण अनुसार,समीरले काठमाडौं तथा सर्लाही भन्दा बाहिरका मानिसहरुलाई जग्गा बिक्रि गर्ने गरेका र कार्यालय समय सकिनै लाग्दा उनीरुलाई सिधैँ मालपोत कार्यालयमा पुर्याई प्रलोभनमा पारेर जग्गा नदेखाई वा अन्यन्त्रको जग्गा देखाएर हतार हतारमा पास गराउने गरेका र पछि आफ्नो जग्गा कहाँ छ भन्ने थाहै नहुने पीडित पक्षको भनाई छ।समीर समुहले खोलाको जग्गा,वनको जग्गा तथा ऐलानी जग्गाको पनि कम्प्युटरमा गएर स्क्यान गरी लालपुर्जा बनाएर ठूलो रकममा बिक्रि गर्ने गरेका पीडित शाहको आरोप छ ।
उनको समुहले मालपोत कार्यालय र नापी कार्यालयबाट जारी गरिने कागजातहरू हुबहु नक्कल गरी सरकारी छाप दुरूपयोग गर्दै अति गोप्य र व्यवस्थित ढंगले फर्जी लालपुर्जा तयार पारेर सोझासीधा मानिसहरूलाई लक्षित गर्दै संगठित रूपमा ठगीको धन्दा चलाउँदै आएका रहस्य सार्वजनिक भएको हो ।
ती फर्जी लालपुर्जाको आधारमा उनले खोलाको जग्गा,वनको जग्गा तथा अन्यन्त्र बिक्रि गरि सकेको जग्गालाई बहुमूल्य जग्गा भनी खरिदकर्ताहरुलाई विभिन्न प्रलोभन देखाउने,सस्तोमा जग्गा मिलाइदिने बहाना बनाउने तथा सोही नक्कली धितो बैंक तथा वित्तीय संस्थामा देखाएर वा व्यक्तिहरूसँग ऋण लिएर फरार हुने गरेका समेत स्रोतले जनाएको छ ।
सोझा नागरिकहरूले आफ्नो सर्वस्व सुम्पेर खरिद गरेको जग्गा केही काम गरौँ भन्दै ऋण लिन बंैकमा जाँदा लालपुर्जा नै फर्जि तथा जग्गा नै नरहेको थाहा पाएपछि आफुहरु ठगिएको भन्ने पक्ता लाग्ने गरेको भएपनि यस प्रकारको संगठित अपराधका विरुद्ध प्रहरी प्रशासन समेत मौन बसेको पीडित पक्षको आरोप छ ।
राजनीतिक संरक्षण र दण्डहीनताको पराकाष्ठा
यस्ता घटनाको सबैभन्दा गम्भीर पक्ष भनेको अपराधीहरूलाई प्राप्त हुने राजनीतिक संरक्षण हो।पूर्व प्रदेश सांसद डिल्लीका छोरा भएका कारण समीरले लामो समयसम्म कानुनको दायरा भन्दा बाहिर रहेर यस्ता अपराधहरू खुलेआम रुपमा सञ्चालन गरिरहेका आरोप लागेको छ। “जबसम्म देशमा राजनीतिक दलका नेता वा उनीहरूका आश्रितहरू कानुन भन्दा माथि रहन्छन्, तबसम्म देशबाट भ्रष्टाचार र ठगीजस्ता जघन्य अपराधहरू उन्मूलन हुन सक्दैनन्।”स्थानीयले बताए ।
उनीहरुका अनुसार राजनीतिक पद र ओहोदालाई शक्तिको स्रोत बनाई सर्वसाधारणको रगत र पसिनालाई लुट्ने यस्ता प्रवृत्तिले लोकतन्त्रको उपहास गरिरहेको छ।जनताको प्रतिनिधित्व गर्नुपर्ने र जनताको हकहितका लागि कानुन निर्माण गर्ने ठाउँमा पुगेका व्यक्तिहरूको परिवार नै यस्ता आपराधिक गतिविधिमा संलग्न हुनु लज्जास्पद विषय रहेको स्थानीय जानकारहरु बताउँछन् ।
यता,कोरोना महामारीको समयमा जग्गा पास गर्न नसकेर समस्यामा परेकोमा सोही समयमा शाह आएकी र आफ्नो लण्ठा सल्टीने भएकाले शाहको सर्त मानेर आफुले जग्गा पास गरि दिएको जग्गा कारोबारी समीरले बताए।उनले आफुहरुलाई शाहले जम्मा रु ८० लाख मात्रै भुत्तानी गरेका र आफ्नो जग्गा फिर्ता गरिदिनु तपाईको पैसा व्याज सहित फिर्ता दिन्छु भनी पटक–पटक शाहलाई ताकेका गरेको भएपनि पैसा भुक्तानी नगरेको समेत बताए।
आफुले शाहलाई ऋण खानका लागि पाँच वर्षका लागि मात्रै जग्गा दिएको भएपनि शाहले त्यो जग्गाबाट ऋण खाए वापत आफुलाई ५० प्रतिशत दिने भनेकामा जग्गाको ऋण करिब साँढे तीन करोड खाएपनि आफुलाई रु ८० लाख मात्रै दिएकी समेत समीरले बताए।कुनै रकम नलिई आफुले जग्गा पास गरि दिएको र भारतबाट नक्कली नोटको कारोबार गर्न थालेपछि शाहहरु फसेपछि आफुलाई अनावश्यक तनाव दिएका समीरको भनाई छ ।उनले शाह पीडित नभएर आफु पीडित भएको समेत बताए ।
आफ्नो करिब अढाई करोडको सम्पती शाहमाथि रहेको दाबी गर्दै उनले आफुले कुनैपनि कागजात फर्जि वा किर्ते नगरेको समेत समीरले दाबी गरे।तर मालपोत हरिवन स्रोतका अनुसार हस्ताक्षर तथा छाप किर्ते नभई पहिलाको कागजातको कम्प्युटरमा लगेर स्क्यान गरेको हुन सक्ने बुझिएको छ ।
यता,उत्त ऋणको भ्यालुएसन गरेका इन्जिनियर सन्तोष श्रेष्ठले आफ्नो काम भ्यालुएसन गर्ने मात्रै भएकाले ऋण खुवाउने कार्यमा आफ्नो संग्लग्नता नरहेको समेत दाबी गरे।यसका साथै शाह समुहले गोर्खा फाइनान्सका साथै रिलायन्स फाईनान्सबाट खोलाको जग्गा देखाएर ठूलो रकम ऋण खाएका समेत इन्ज्निियर श्रेष्ठले आरोप लगाए । 
नीतिगत कमजोरी र सुधारका अपरिहार्य पाटोहरू
समीर प्रकरणले नेपालको प्रशासनिक र न्याय प्रणालीमा रहेका गम्भीर नीतिगत कमजोरीहरूलाई पनि छर्लङ्ग पारेको स्थानीय बताउँछन् ।आजको डिजिटल युगमा पनि मालपोत कार्यालयका अभिलेखहरू पूर्ण रूपमा सुरक्षित र पारदर्शी बन्न नसकेका प्रति स्थानीयले चिन्ता व्यक्त गरे।उनीहरुका अनुसार कागजी प्रकृया र परम्परागत प्रणालीका कारण नक्कली लालपुर्जा र कागजातहरू सजिलै तयार हुने गरेको पाइएको छ।
कानुनमा सजायका प्रावधानहरू भए पनि पहुँच र प्रभावका आधारमा अपराधीहरूले उन्मुक्ति पाउने प्रवृत्ति नीतिगत विफलताको मुख्य कारण रहेको जानकारहरु बताउँछन् ।कसैले अचानक अवैध तरिकाले अकुत सम्पत्ति आर्जन गर्छ वा शंकास्पद रूपमा जग्गा कारोबारमा संलग्न हुन्छ भने त्यसको अनुगमन गर्ने संयन्त्र मजबुत हुनु पर्ने जानकारहरुको भनाई छ ।
कडा कारबाहीको माग 
समीर समुहलाई कानुनको कठघरामा उभ्याएर कडाभन्दा कडा कारबाही गर्नु पर्ने पीडित पक्षको माग छ ।यदि राजनीतिक दबाब वा प्रभावका कारण यो अनुसन्धानलाई प्रभावित पार्ने कोसिस गरियो भने,यसले देशमा थप ठूलो आन्दोलन र जनआक्रोश सिर्जना गर्ने उनीहरु बताउँछन् ।
राज्यका निकायहरूले कुनै पनि किसिमको दबाबमा नपरी निष्पक्ष र पारदर्शी छानबिन अगाडि बढाउनु पर्ने स्थानीयको माग छ।साथै,मालपोत तथा जग्गा प्रशासनसँग सम्बन्धित सबै कार्यालयहरूमा डिजिटल प्रणालीलाई पूर्ण रूपमा लागू गरी लालपुर्जाको सत्यता अनलाइनमार्फत नै प्रमाणीकरण गर्न सकिने व्यवस्था तत्काल गर्नुपर्ने उनीहरु बताउँछन् ।आम नागरिकको सम्पत्ति र जीवनको सुरक्षा गर्नु राज्यको पहिलो दायित्व हो र यसमा कुनैपनि सम्झौता गरिनु नहुने जानकारहरु बताउँछन् ।

 

सम्बन्धित समाचार