साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भइन् :– प्रहरी निरीक्षक खड्का

213 Shares

सिन्धुलीको इलाका प्रहरी कार्यालय डकाहाकी प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक सपना खड्का साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएकी छन्।प्रहरी निरीक्षक खड्काले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा देखाएको सक्रियता,व्यावसायिकता,अनुशासन तथा शान्ति–सुरक्षा कायम गर्न पु¥याएको योगदानको मूल्यांकन गर्दै उनलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय डकाहाको प्रमुखको जिम्मेवारी सम्हालेदेखि प्रहरी निरीक्षक खड्काले कार्यालयको नियमित प्रहरी सेवा प्रभावकारी बनाउनुका साथै अपराध नियन्त्रण,अनुसन्धान, शान्ति–सुरक्षा र नागरिकसँगको सम्बन्ध सुधार बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् । 
विशेषगरी ग्रामीण तथा बजार क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण,शंकास्पद गतिविधिमाथि निगरानी,फरार तथा खोजी सूचीमा रहेका व्यक्तिको खोजी,सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक अनुशासन कायम गर्न प्रहरी परिचालनमा उनको सक्रियता देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
त्यसैगरी महिला,बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित घटनामा संवेदनशील भएर प्रहरी सेवा प्रवाह गर्ने,पीडितलाई न्यायिक प्रक्रियासम्म पु¥याउन सहजीकरण गर्ने तथा स्थानीय तह,समुदाय र अन्य सरोकारवाला निकायसँग समन्वय गरी सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने कार्यमा पनि प्रहरी निरीक्षक खड्काले प्राथमिकता दिँदै आएकी छन्।प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने,गुनासो सुन्ने तथा आवश्यक कानुनी प्रक्रियाका विषयमा जानकारी गराउने कार्यले समेत प्रहरी र नागरिक बीचको सम्बन्ध सुधारमा सहयोग पुगेको स्थानीय जानकारहरु बताउँछन् ।
उत्कृष्ट प्रहरी घोषणा भएसँगै प्रहरी निरीक्षक खड्काको कार्यसम्पादनको प्रशंसा भएको छ। जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गर्ने प्रहरी अधिकृतलाई संगठनले प्रोत्साहन गर्दा अन्य प्रहरी कर्मचारीमा समेत सकारात्मक ऊर्जा र थप जिम्मेवारी बोध बढ्ने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहले बताए ।
उनका अनुसार प्रहरी सेवामा उत्कृष्टता केवल अपराध नियन्त्रणमा मात्र सीमित नभई नागरिकमैत्री व्यवहार, कानुनको प्रभावकारी कार्यान्वयन,पीडितको संरक्षण र समाजमा सुरक्षित वातावरण निर्माणसँग जोडिएको हुन्छ।यही पक्षलाई आत्मसात् गर्दै प्रहरी निरीक्षक खड्काले आफ्नो कार्यक्षेत्रमा सक्रियता देखाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
साउन महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट भएपछि प्रहरी निरीक्षक खड्काले आगामी दिनमा समेत आफ्नो जिम्मेवारीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले प्रहरी संगठनप्रति नागरिकको विश्वास कायम राख्न निष्पक्ष,पारदर्शी र व्यावसायिक ढंगले प्रहरी सेवा प्रवाहलाई निरन्तरता दिने समेत बताईन् ।
स्थानीय नागरिक तथा सरोकारवालाले पनि प्रहरी निरीक्षक खड्काको उत्कृष्ट कार्य सम्पादनलाई सकारात्मक रूपमा लिएका छन्।उनीहरूले सुरक्षा निकाय र नागरिकबीच सहकार्य अझ मजबुत बनाएर अपराध नियन्त्रण तथा शान्ति–सुरक्षाको अवस्था थप प्रभावकारी बनाउन सकिने स्थानीय जानकारहरुले बताएका छन् ।
साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा हुनु प्रहरी निरीक्षक खड्काको व्यक्तिगत उपलब्धिसँगै इलाका प्रहरी कार्यालय डकाहामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको सामूहिक प्रयासको सम्मानका रूपमा समेत हेरिएको छ।त्यसैगरी,प्रहरी चौकी हर्षाही जगाडीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्रीराम सिंहलाई भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गरिएको छ ।

सम्बन्धित समाचार