राजनीतिक दलको सक्रिय सदस्यता लिएर शैक्षिक मर्यादा उल्लंघन गरेको अभियोगमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ को नेपाल राष्ट्रिय जनता मा.वि.को निमावी राहत अंग्रेजी शिक्षकलाई कार्बाही गर्न शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीले पत्राचार गरेको छ ।कबच २ ख ०००२६२४९८ नम्बरको रास्वपाको सदस्यता नम्बर रहेका ईश्वरपुर नगरपालिका–१२ को नेपाल राष्ट्रिय जनता मा.वि.को निमावी राहत अंग्रेजी शिक्षक रन्जीत साहका सवालमा कमलामाई मिडिया प्रा.लिले समाचार प्रकाशन गरेपछि शिक्षा विकास तथा समन्वय इकाई, सर्लाहीको ध्यानाकर्षण भएको थियो।त्यसपछि इश्वरपुर नगरपालिकाको शिक्षा शाखा सहित विद्यालय प्रशासनलाई शिक्षक साहलाई कार्बाही गर्न पत्राचार गरिएको र शिक्षक साहलाई तपाईलाई किन कार्बाही नगर्ने भन्दै एक हप्ताको समयसीमा राखेर इकाइले पत्राचार गरेको जनाएको छ ।
ईश्वरपुर नगरपालिका–१२ स्थित घारीबथानमा रहेको नेपाल राष्ट्रिय जनता मा.वि.का राहत शिक्षक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक कार्यक्रममा सहभागी भएका भिडियो तथा फोटोहरु कमलामाई मिडिया प्रा.लिले प्रकाशन÷प्रसारण गरेपछि शिक्षक साहमाथि प्रश्न चिन्ह खडा भएको थियो ।रास्वपाको चितवनको भरतपुरमा भएको प्रथम महाधिवेशनमा सहभागी भएका शिक्षक साहले उत्तः रहस्य सार्वजनिक गरेपछि राजीनामा दिएका भएपनि मंसिर १ गतेदेखि लागु हने गरी राजीनामा दिएका विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयमा विद्यार्थीलाई निष्पक्षता,अनुशासन,लोकतान्त्रिक मूल्य र असल नागरिक बन्ने शिक्षा दिने जिम्मेवारी बोकेका शिक्षक स्वयं राजनीतिक दलको कार्यक्रममा सहभागी भएका तथा राजनीतिक दलको जिम्मेवारीमा रहेका दृश्य सार्वजनिक भएपछि स्थानीयस्तरमा यस विषयमा गम्भीर बहस सुरु भएको छ।शिक्षक कुनै राजनीतिक दलको विचार राख्न पाउने नागरिक भए पनि विद्यालयको शिक्षकको पदीय जिम्मेवारी र राजनीतिक गतिविधिबीचको सीमारेखा कति स्पष्ट छ भन्ने प्रश्न समेत उठेपछि शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीलाई समेत दवाव सृजना भएको छ ।
शिक्षा क्षेत्रमा शिक्षकको भूमिका केवल कक्षाकोठामा पाठ पढाउनेमा सीमित नभई विद्यालयको अनुशासन,विद्यार्थीको मनोविज्ञान र शैक्षिक वातावरण निर्माण गर्ने महत्वपूर्ण पात्र शिक्षक हुन्।त्यसैले शिक्षकको राजनीतिक गतिविधिले विद्यालयको निष्पक्षता र विद्यार्थीमाथि पर्ने सम्भावित प्रभाव बारे प्रश्न उठ्नु स्वाभाविक रहेको भएपनि राजनीतिक कार्यक्रममा सहभागी हुने तथा कुनै दलको सदस्यता नै लिने विषय गम्भीर विषय रहेको जानकारहरु बताउँछन् ।
शिक्षक तथा कर्मचारीले राजनीतिक दलका कार्यक्रमहरूमा प्रत्यक्ष रूपमा सहभागी हुनु शिक्षा नियमावली,२०५९ (दशौँ संशोधनसहित)मा उल्लेखित व्यवस्था विपरीत हुने उल्लेख गरिएको छ।सोही कानुनी व्यवस्थालाई आधार बनाउँदै कुनैपनि शिक्षक तथा कर्मचारी कुनैपनि राजनीतिक दलको कार्यक्रममा सहभागी हुनु वा कुनैपनि दलको सदस्यता लिनु प्रचलित कानून विपरित हुने र त्यस्ता गतिविधिहरुमा संग्लग्न शिक्षकहरुलाई कार्बाही गर्न नेपाल सरकारका शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले निर्देशन नै दिएका छन्।
जस अनुसार शिक्षक साह रास्वपा कै नेता रहेकाले कार्बाही हुने की नहुने भन्ने शंका समेत सृजना भएको थियो ।शिक्षक साह रास्वपा मधेश प्रदेशको भौतिक तथा पुर्वाधार विभाग सचिव रहेका समेत पाईएको छ।शिक्षक साहले नै आफ्नो सामाजिक सञ्जाल फेशबुकमा उक्त विवरण सार्वजनिक गरेका छन्।
यता,सो विषयमा शिक्षक साहसंग कमलामाई मिडिया प्रा.लिले बुझ्दा आफु रास्वपा मधेश प्रदेशको भौतिक तथा पुर्वाधार विभाग सचिव रहेको र दशैँ अगाडि समाचार नलेखिदिन अनुरोध गरेका थिए।उनले आफुले शिक्षकबाट राजीनामा दिएको भएपनि पढाउन गइ राखेको समेत बताए।तर विद्यालयका प्रधानाध्यापक रामवृक्ष महत्तोका अनुसार शिक्षक साहले राजीनामा दिएका छैनन्।भने उनी राजनीतिमा संग्लग्न रहे÷नरहेको सवालमा आफुलाई कुनै जानकारी नभएको प्रधानाध्यापक महत्तोले बताए ।
त्यस्तै,विद्यालयमा कार्यरत शिक्षकले आफूलाई राजनीतिक रूपमा प्रस्तुत गर्दा विद्यार्थी, अभिभावक र विद्यालय समुदायमा शिक्षकको निष्पक्ष भूमिकामाथि स्वाभाविक रूपमा प्रश्न उठ्छ।अझ विद्यालयको नियमित पठनपाठन,शिक्षकको उपस्थिति र पदीय जिम्मेवारी प्रभावित भएको हो वा होइन भन्ने विषय पनि छानबिनको दायरामा आउनुपर्ने जानकारहरु बताउँछन् ।
विद्यालय व्यवस्थापन समिति,प्रधानाध्यापक तथा सम्बन्धित स्थानीय तहले घटनाको वास्तविकता बुझेर आवश्यक भएमा शिक्षकसँग स्पष्टीकरण लिनुपर्ने आवाज उठ्न थालेको छ। शिक्षा नियमावलीमा शिक्षकले पालना गर्नुपर्ने आचारसंहिताको व्यवस्था रहेको र विद्यालयमा आचारसंहिता पालना भए–नभएको अनुगमनको जिम्मेवारीसमेत सम्बन्धित विद्यालय तथा सरोकारवाला निकायसँग जोडिएको छ।
राजनीतिक दलका कार्यक्रममा शिक्षकको सहभागिता सामान्य विषय बनाएर पन्छाउने हो भने सार्वजनिक शिक्षण संस्थाको तटस्थता र पदीय मर्यादा बारे उठेका प्रश्न झन् जटिल बन्न सक्ने शिक्षा क्षेत्रका जानकारहरु बताउँछन्।शिक्षकको व्यक्तिगत राजनीतिक अधिकार र सार्वजनिक विद्यालयको पदीय जिम्मेवारी बीचको सीमालाई कानुनअनुसार स्पष्ट पार्नु आवश्यक रहेको छ।
विद्यालय राजनीतिक गतिविधिको थलो होइन,विद्यार्थीको भविष्य निर्माण गर्ने संस्था हो।त्यसैले शिक्षकको राजनीतिक संलग्नताबारे उठेका प्रश्नलाई दबाउने नभई प्रचलित कानुन र आचारसंहिताको आधारमा पारदर्शी रूपमा छानबिन गरी कार्बाही गर्नु आवश्यक रहेको जानकारहरु बताउँछन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका सामाग्री तथा अन्य माध्यमबाट प्राप्त विवरणका आधारमा केही शिक्षक तथा कर्मचारीहरुको राजनीतिक गतिविधिमा संलग्नता देखिए शिक्षा विकास तथा समन्वय ईकाइहरुलाई आवश्यक कार्बाही प्रकृया अगाडि बढाउन मन्त्रालयले निर्देशन नै दिएको छ।नेपालको शिक्षा प्रणालीमा शिक्षक तथा कर्मचारीहरुको राजनीतिक संलग्नतासम्बन्धी विषय लामो समयदेखि बहसको विषय बन्दै आएको छ।शिक्षकहरूलाई शैक्षिक जिम्मेवारीमा केन्द्रित राख्न कानुनी प्रावधानहरू कार्यान्वयनमा रहेको अवस्थामा यो घटनापछि सम्बन्धित निकायले निगरानी र अनुशासन सम्बन्धी प्रक्रिया अघि बढाउनु आवश्यक छ ।
यता,शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका निमिक्त प्रमुख रामवृक्ष महत्तोले सर्लाहीका कुनैपनि विद्यालयहरुका शिक्षकहरु कुनैपनि दलमा आवद्ध भएको वा कुनैपनि राजनीतिक कार्यक्रममा सहभागी भएको भन्ने विषयमा जानकारी प्राप्त भएको आवश्यक प्रकृया सुरु गर्ने बताए।यसका साथै शिक्षक साहले आफुलाई हरिपुर नगरपालिकाको सम्भावित नगर प्रमुखको रुपमा रहेको भन्दै मेयरको नेतृत्वको मूल मन्त्र भन्दै स्टाटस नै लेखेका समेत पाइएको छ ।
भने कमलामाई मिडिया प्रा.लिले समाचार प्रकाशन गरेपछि शिक्षक साहले हामीलाई पैसा खाएर समाचार लेखेको आरोप समेत लगाएका छन्।उनले आफ्नो सामाजिक सञ्जाल फेशबुकमा“नमस्कार,म रञ्जित साह।१३ वर्ष शिक्षण,१० वर्ष खेलकुद नेतृत्व र सामाजिक सेवाको अनुभव लिएर अगाडि बढ्दै अबको यात्रा देश र जनता मा समर्पित र हरिपुर नगरपालिका को समृद्धि बनाउने लक्ष्य लिएर अगाडि बढ्दै छु र चानख्य नीति अनुसार यदि तपाईंको विरुद्ध सबै एक छन् भने बुझ्नुहोस् तपाईंको दिशा र नीति ठीक छ ।राजनीति फोहर रूपमा हैन सफा भएर खेल्नु पर्छ।जय देश जय हरिपुर का सम्मानित जनता “पत्रकार भनेको सम्मानित पेशा हो।यस्ता पैसा खाँदै र कसैको कुरामा हिँडेर लेख्नु कतिको सन्दर्भिकहो अर्को कुरा मसँग रहेको शिक्षा जहाँ गए पनि विद्यार्थी भाइबहिनीलाई सधैँ दिनेछु।”भन्दै कमलामाई मिडिया प्रा.लिले प्रकाशन गरेको समाचारमा कमेन्ट लेखेका छन् ।
प्राप्त विवरण अनुसार, शिक्षक साहले राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यता लिनुका साथै दलका भेला,बैठक र प्रचारप्रसार कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएका थिए। राजनीतिक दलमा आबद्ध भई पठनपाठनमा बेवास्ता गरेको र विद्यालयको शैक्षिक वातावरण धमिल्याएको भन्दै स्थानीय अभिभावक तथा शिक्षाप्रेमीहरूका साथै स्थानीय जनप्रतिनिधिहरुले समेत विरोध जनाएका छन्।शिक्षकको यस्तो कार्यले विद्यार्थीहरूको अध्ययनमा प्रत्यक्ष असर परेको भन्दै उनीहरूले नियमानुसार कडा कारबाहीको माग गरेका थिए।
के छ शिक्षा नियमावलीमा ?
शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ मा कुनै पनि शिक्षक वा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन, कार्यकारिणी समितिको सदस्य हुन वा राजनीतिक गतिविधिमा भाग लिन नपाउने स्पष्ट कानुनी व्यवस्था रहेको छ।