चाडपर्व सुरक्षाका लागि सर्लाहीमा आठ सय बढी प्रहरी जनशक्ति परिचालन गरिने

216 Shares

हिन्दुहरूको महान् चाड बडादशैँँ,शुभ दीपावली र छठ लगायतका आसन्न चाडपर्वहरूलाई लक्षीत गरि आड सय तीन जना प्रहरी कर्मचारीहरु परिचालन गर्ने योजना बनाएको छ। चाडपर्वलाई सुरक्षित,मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले विशेष एकीकृत सुरक्षा योजना तयार पारेको हो।चाडपर्वको समयमा हुनसक्ने सम्भावित आपराधिक गतिविधि,चोरी,डकैती,ठगी,कालोबजारी तथा सडक दुर्घटना नियन्त्रणका लागि जिल्लाभर कूल आठ सय तीन जना प्रहरी जनशक्ति परिचालन गर्ने योजना बनाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालकया अनुसार चाडपर्वको समयमा बजार क्षेत्रमा बढ्दो भीडभाड,बैंक तथा वित्तीय संस्थाहरुमा हुने आर्थिक कारोबारको सुरक्षा र सीमावर्ती क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिलाई कडाइका साथ निगरानी गर्न विशेष सुरक्षा रणनीति अपनाइएको हो।५१ किलोमिटर भारतीय सीमासँग जोडिएकाले सर्लाही जिल्लाका सीमा नाकाहरूमा कडाइ गर्नुका साथै आवागमनलाई थप व्यवस्थित र सुरक्षित बनाउन सशस्त्र प्रहरी बल सहित नेपाली सेनासँगको समन्वयमा संयुक्त गस्ती समेत सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त बनाउन जिल्लाका मुख्य–मुख्य सडक,व्यापारिक केन्द्र,पूजा स्थल,बसपार्क तथा सार्वजनिक स्थानहरूमा पैदल गस्ती,मोवाइल गस्ती,पिकेट ड्यूटी र सवारी साधन चेकजाँच टोली परिचालन गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमले बताए।उनका अनुसार सादा पोशाकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरी सम्भावित अपराध र जुवातास जस्ता गैर कानुनी गतिविधिमाथि कडा निगरानी राखिने छ।
एकीकृत सुरक्षा योजना बनाई संवेदनशीलताका आधारमा विगतको  अवस्था,साम्प्रदायिक दङ्गा भड्किने स्थानहरु र मेला लाग्ने स्थानहरुको पहिचान गरि चाडपर्व सुरक्षाका लागि सर्लाहीमा प्रहरी कर्मचारीहरु परिचालन गरिने भएको हो ।
चाडपर्वका बेला सर्वसाधारण तथा यात्रुहरू ठगिने,बढी भाडा असुलिने तथा यात्राका क्रममा सास्ती भोग्नुपर्ने जोखिमलाई ध्यानमा राख्दै जिल्लाका मुख्य–मुख्य राजमार्ग तथा बसपार्कहरू गरी चार स्थानमा “नागरिक सहायता कक्ष”सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ।कार्यालयका अनुसार सहायता कक्षमा खटिएका प्रहरी टोलीले यात्रुहरूलाई यात्रा सम्बन्धी सहजीकरण गर्नुका साथै आकस्मिक समस्या परेको खण्डमा तत्काल उद्धार तथा सहयोग पु¥याउने छन्।
आम नागरिकलाई ढुक्क भएर हर्षोल्लासका साथ चाडपर्व मनाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले आग्रह गर्दै सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगरिने प्रतिबद्धता व्यक्त गरेको छ । साथै,आफ्नो घर–गाउँ छाडेर यात्रा गर्दा घरको सुरक्षामा ध्यान दिन र कुनै पनि शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा तुरुन्त नजिकैको प्रहरी चौकी वा प्रहरीको निःशुल्क फोन नम्बरमा खबर गर्न पनि सर्वसाधारणलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले अपिल गरेको छ।नागरिक र प्रहरीको साझा सहकार्यबाट मात्रै शान्ति सुरक्षा सुदृढ हुनसक्ने भएकाले चाडपर्वको समयमा संयमता अपनाउन र कानुन विपरीतका गतिविधि नगर्न पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुरोध गरेको छ।

सम्बन्धित समाचार