Close This

माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठको नेतृत्वमा सर्लाहीका पाँच स्थानमा निःशुल्क कोरोना परीक्षण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-३० गते   १८६ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १७ को फौदसिंह उच्च माविमा कोरोना परीक्षण गरिएको छ । नेकपा (माओवादी केन्द्र) सर्लाहीले लालबन्दी नगरपालिका–१७ को फौदसिंह उच्च माविमा कोरोना परीक्षण गरिएको हो ।
काठमाडौंबाट स्वास्थ्यकर्मी लिएर सर्लाही आउनु भएका नेकपा (माओवादी केन्द्री) का पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ(प्रकाश)को पहलमा कोरोना परीक्षण गरिएको नेकपा (माओवादी केन्द्री) सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनुभयो । पार्टीका केन्द्रीय प्रवक्ता प्रकाशको उपस्थितिमा सर्वसाधारण नागरिकहरुको निःशुल्क कोरोना परीक्षण गरिएको हो । जिल्लाका विभिन्न ५ स्थानमा गरि ३ सय ५४ जनाको कोरोना परीक्षणमा २७ जनामा कोरोना सङ्क्रमण पाइएको परिक्षणमा खटिएका चिकित्सकहरुले बताएका छन् ।
कोरोना परीक्षणको अभियानअन्तर्गत आइतवार(आज) दोस्रो दिन फौदसिंह मावि र हरिपुर नगरपालिका–१ को जानकीनगर रेन्जर टोलमा कोरोना परीक्षण तथा परामर्श शिविर संचालन गरिएको नेकपा(माओवादी केन्द्र) सर्लाहीले जनाएको छ ।
लालबन्दी नगरपालिका १७ को शिविरमा १ सय १५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जना र हरिपुर नगरपालिका १ को जानकीनगरमा ७० जनाको परीक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पाइएको हो ।
शिविरमा परीक्षणका लागि आएकाहरुलाई लक्षण र स्वास्थ्य समस्या अनुसार औषधीसमेत निःशुल्क वितरण गरिएको नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी) सर्लाहीका संयोजक विवेक मैनालीले बताउनु भयो । पार्टीले शनिबार बरहथवाको सहनी धर्मशाला, हरिवनको ताइवान बस्ती र बागमतीको कर्मैया कोभिड अस्पतालमा कोरोना परीक्षण शिविर संचालन गरेको थियो।
जिल्लाको ५ स्थानका कोरोना परिक्षण शिविर सकाएर पार्टी प्रवक्ता श्रेष्ठ आईतबार बर्दिवास जानु भएको छ । स्वास्थ्य शिविर संचालन भएको स्थानमा प्रवक्ता श्रेष्ठसँगै पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामेश्वर राय यादव, केन्द्रीय सदस्य प्रल्हाल बुढाथोकी, अच्यूतम काफ्ले लगायतका नेकपा(माओवादी केन्द्र) सर्लाहीका नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech