सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाविरुद्धको मुद्दामा विशेष अदालतले दुईबुँदे आदेश गरेको छ।२०८१ जेठ २९ मा नगर प्रमुख थापा सहित छ जनालाई प्रतिवादी बनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती माछापोखरी (भरत ताल) निर्माणका क्रममा कुल ३० करोड २९ लाख बराबरको सरकारी सम्पत्तिमा हिनामिना भएको दाबी गर्दै विशेष अदालतमा अभियोग पत्र दायर गरेको थियो।सोही अभियोग पत्र माथिको सुनुवाई गर्दै विशेषले आवश्यक प्रमाण तथा कागजात बुझ्न आदेश दिएको हो ।
विशेषका अनुसार प्रतिवादीहरूको बयान अनुसारका कागजात झिकाउन र सम्बन्धित प्राविधिकहरूलाई बकपत्र गराउन भनिएको छ।विशेषका अध्यक्ष टेक नारायण कुँवर तथा सदस्यहरू तेज नारायण सिंह राई र विदुर कोइरालाको इजलासले उक्त मुद्धाको वहस गरेका थिए।लगाएर भएको बहसमा सो आदेश भएको हो।बागमती माछापोखरी (भरत ताल) निर्माणका क्रममा भ्रष्टाचार भएको भनी दायर मुद्दामा नगर प्रमुख थापाका साथै उप प्रमुख लीला कुमारी मोक्तानलगायत जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन सभापति मेथुर चौधरी,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल समेतलाई प्रतिवादी बनाईएको छ।यस मुद्दामा नगर प्रमुख थापा र उप प्रमुख मोक्तानले बयान दिँदा भने अनुसारका कागजात पेस गर्न विशेषले आदेश दिएको हो।
“दुवै प्रतिवादीको बयान अनुसार उत्खननबाट निकालिएको बालुवा,ढुंगा, गिटी अन्य आयोजनमा प्रयोग गरेको व्यहोरा लेखाएको देखिँदा के–कस्तो अन्य आयोजनामा कति परिमाणको सामाग्री प्रयोग गरिएको हो सो सम्बन्धमा दुवै प्रतिवादीबाट कागज गराई खुलाउन लगाउनू”विशेषको आदेशमा भनिएको छ ।उक्त आयोजनाको निर्णय फाइल वा सम्बद्ध प्रतिवेदनसहित कुनै लिखत भए सो समेतका प्रमाणहरू पेस गर्न लगाउनसमेत आदेशमा भनिएको छ।
यसका साथै सम्बन्धित प्राविधिकहरूलाई बकपत्रका लागि उपस्थित गराउन समेत विशेषले भनेको छ।उत्खननका सम्बन्धमा प्रतिवेदन दिने मिसन नेपाल प्राइभेट लिमिटेड,पोखरी–२ को सर्भे गर्ने कम्पनीका प्राविधिकको बकपत्र गर्नुपर्ने समेत आदेशमा छ।“नापजाँच गरी प्रतिवेदन दिने प्रतिवेदकको नाम,थर,वतन प्रतिवादीबाटै कागज गराई खुलाउन लगाई मिति किटान गरी बकपत्रको लागि आफैँ वा श्रव्यदृश्य संवादमार्फत उपस्थित गराई इजलास समक्ष पेस गर्ने छ ।”विशेषको आदेशमा भनिएको छ ।
संघीय सरकार अन्तर्गतको सागरनाथ वन विकास परियोजना भित्र पर्ने वन क्षेत्रमा सागरनाथ वन विकास परियोजना र संघीय सरकारको स्वीकृती विना अनधिकृत रूपमा माछा पोखरी निर्माण गरिएको अख्तियारको दाबी छ।साथै,निर्माणका लागि ढुंगा,गिट्टी,बालुवा तथा वन पैदावार उत्खन्न गर्न प्रारम्भिक परीक्षण प्रतिवेदन स्वीकृत भएको भन्ने गलत लिखत तयार गरी–गराई बागमती नगरपालिकाले निर्माणको प्रक्रिया अघि बढाएको अभियोगपत्रमा उल्लेख गरिएको छ।
निर्माण कार्यभन्दा पहिले गुरुयोजनासमेत स्वीकृत नगराई बागमती नदीको बहाव प्रयोग गर्न स्वीकृति समेत नलिएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।०७५÷०७६ देखि नै पोखरी निर्माण थालिएको थियो। यस क्रममा माछापोखरी प्रथमबाट करिब १८ लाख घनमिटर र माछापोखरी द्वितीयबाट करिब २२ लाख घनमिटर नदीजन्य पदार्थ र वन पैदावार उत्खनन भएको अख्तियारको अभियोग पत्रमा उल्लेख गरिएको छ।तर बागमती माछा पोखरी(भरत ताल)निर्माण स्थल सागरनाथ वन विकास परियोजना सर्लाहीको क्षेत्रमा नपर्ने तथ्य भेटिएको छ ।