उखु उत्पादक किसानहरुलाई सरकारले उपलब्ध गराउने प्रोत्साहन अनुदान किसानको व्यक्तिगत बैंक खातामा सिधै भुक्तानी हुने भएको छ।सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन “उखु उत्पादकलाई प्रोत्साहन अनुदान दिने सम्बन्धी कार्यविधि, २०८३”जारी गरेपछि उखु उत्पादक किसानहरुलाई राहत महसुस भएको छ ।
कृषि,वन तथा पर्यावरण मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ को दफा ६५ को उपदफा (४) बमोजिम कार्यविधि जारी गरेको हो।नयाँ कार्यविधि अनुसार अनुदान लिन इच्छुक उखु उत्पादक किसान,फर्म,समूह वा सहकारीले प्रत्येक वर्ष साउनदेखि असोज मसान्तभित्र सम्बन्धित स्थानीय तहमा सूचीकरणका लागि निवेदन दिनुपर्ने उल्लेख छ ।
स्थानीय तहले निवेदनमाथि आवश्यक जाँचबुझ गरी कात्तिक मसान्तभित्र उखु उत्पादक किसानहरुको अन्तिम लगत प्रमाणित गर्नुपर्ने छ।प्रमाणित विवरण जिल्लास्थित भुक्तानी समितिको सचिवालय र कृषि विषय हेर्ने कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
प्रमाणित लगतका आधारमा अनुदान वितरण प्रक्रिया अघि बढाइने र यसका लागि चिनी मिल सञ्चालन भएका जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भुक्तानी समिति गठन गरिने छ।समितिमा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख सदस्य–सचिव तथा जिल्ला कृषि विकास कार्यालय र आन्तरिक राजस्व कार्यालयका प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ ।चिनी मिलहरूले उखु क्रसिङ सुरु भएपछि प्रत्येक १५ दिनमा खरिद गरिएको उखु र उखु उत्पादक किसानहरुको विवरण सम्बन्धित स्थानीय तहमा पेस गर्नुपर्नेछ।स्थानीय तहको सिफारिस र भुक्तानी समितिको निर्णयका आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालयले उखु उत्पादक किसानहरुको व्यक्तिगत बैंक खातामा अनुदान रकम जम्मा गर्ने छ ।
कार्यविधिले अनुदान भुक्तानीमा उखु बिक्रीको क्रमलाई आधार बनाएको छ।पहिले उखु बिक्री गर्ने उखु उत्पादक किसानलाई पहिलो प्राथमिकता दिइने छ।समूह वा सहकारीमार्फत उखु बिक्री गरे पनि अनुदान रकम भने सम्बन्धित उखु उत्पादक किसानहरु कै व्यक्तिगत बैंक खातामा जम्मा गरिने छ ।
त्यस्तै,चिनी मिलहरूले प्रत्येक आर्थिक वर्षको मंसिरभित्र उखु खरिद तथा क्रसिङ कार्ययोजना कृषि विभागमा पेस गर्नुपर्नेछ।यसबाट चिनी मिलले खरिद गर्ने उखुको विवरण र अनुदान पाउने उखु उत्पादक किसानहरुको अभिलेखबीच समन्वय गर्न सहज हुने अपेक्षा गरिएको छ।कार्यविधिले फर्जी विवरण पेस गरी अनुदान दुरुपयोग गर्नेलाई कारबाही गर्ने व्यवस्था गरेको छ।सरकारी वा सरकारी स्वामित्वका संस्थाले भने यस्तो अनुदान प्राप्त गर्न पाउने छैनन् ।
सरकारले नयाँ व्यवस्थाबाट अनुदान वितरणमा पारदर्शिता कायम हुनुका साथै उखु उत्पादक किसानहरुले पाउने रकमको प्रत्यक्ष पहुँच सुनिश्चित हुने अपेक्षा गरिएको उखु उत्पादक किसानहरुका विभिन्न संघ÷संगठनहरुले बताएका छन्।उनीहरुका अनुसार यसले व्यावसायिक उखु खेतीलाई प्रोत्साहन गर्दै चिनी उद्योगका लागि आवश्यक कच्चा पदार्थको नियमित आपूर्ति सहज बनाउन पनि सहयोग पुग्ने छ ।देशभर मै सबै भन्दा धेरै उखु उत्पादन गर्ने सर्लाहीमा तीन वटा चिनी मिल रहेका भएपनि इन्दु शंकर चिनी उद्योग बाहेक अरु चिनी मिलले उखु उत्पादक किसानहरुको पछिल्लो केही वर्षको रकम भुत्तानी नै गरेका छैन् ।