सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित रहेको “जोया वाटर इन्डस्ट्रिज”ले उत्पादन गरेको “न्यु कृष्णा”पानीको बोतलमा फोहर तथा अखाद्य लेदो भेटिएको छ ।केही महिना पहिला मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानुनी मन्त्रीले स्थलगत अनुगमन गर्दा रु १० हजार जरिवाना सहित सिल गरेको जोया वाटर ईन्डस्ट्रिजको उत्पादन न्यु कृष्णा पानीको बोतलमा फोहर तथा अखाद्य लेदो भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाका पत्रकारहरु तथा सञ्चारकर्मीहरुसंग दशैँ,तिहार र छठको शुभकामना अदालन प्रदान कार्यक्रममा वितरण गरिएको उत्त पानीको बोतलमा फोहर तथा अखाद्य लेदो भेटिएपछि सरोकारवाला निकायको ध्यानाकर्षण भएको छ ।यस अघि प्रेम पानीको नामबाट उत्पादन भएको उक्त पानी उद्योगलाई उद्योगले उपभोक्ता अधिकारको दुरुपयोग गरि गुणस्तरहिन पानी उत्पादन गरेको भन्दै पटक–पटक कार्बाही गरिएपनि पानीको नाम मात्रै परिवर्तन गरिएको तर धन्दा पुरानै रहेको पाईएको हो ।उपभोक्ताको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको पिउने पानी जस्तो संवेदनशील वस्तुमा घोर लापरवाही र बेथिति देखिएपछि जिल्लाका सरोकारवालाहरुको तादरुकतामा प्रश्न खडा भएको छ।
जार तथा बोतलको प्रशोधित पानीलाई सुरक्षित मानेर उपभोग गर्दै आएका आम उपभोक्तालाई सिधै अखाद्य र विषसमान पानी बिक्री गरेर उद्योगले जनस्वास्थ्यमाथि ठाडो खेलबाड गरेको स्थानीय जानकारहरुले बताएका छन्।बजारमा बिक्रीका लागि पठाइएको सिलबन्दी बोतल भित्रै स्पष्ट रूपमा देखिने गरी फोहोर र लेदो तैरिरहेको भेटिएपछि उद्योगको गुणस्तर नियन्त्रण र सरसफाइमाथि गम्भीर प्रश्न उब्जिएको हो ।
स्थानीय उपभोक्ताहरूका अनुसार,किनेर खान लागिएको पानीको बोतलभित्र कालो र लेदोयुक्त पदार्थ तैरिरहेको देखिएको छ।सामान्य सरसफाइ र गुणस्तरको न्यूनतम मापदण्ड समेत पालना नगरी बजारमा पानी पठाउनु उद्योगीहरूको चरम गैर जिम्मेवारीपन र नाफाखोरी मानसिकताको उपज रहेको स्थानीय जानकारहरुको भनाई छ।उनीहरुका अनुसार पिउने पानीमा यस किसिमको गम्भीर लापरवाही हुनु सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड मात्र नभई ज्यानै जोखिममा पार्ने अपराध सरह हो।बजारमा निर्बाध रूपमा बिक्री वितरण भइरहेका यस्ता दूषित पानीका कारण हैजा, झाडापखाला,टाइफाइड जस्ता घातक सरुवा रोगहरूको जोखिम उच्च बन्ने चिकित्सकहरुले बताएका छन्।उद्योग प्रशासनले बजारमा स्वच्छ र सुरक्षित पानी पु¥याउनुको साटो गुणस्तरहीन पानी बिक्री गरेर उपभोक्ताको अधिकारमाथि खुलेआम प्रहार गरिरहेको छ।
यस घटनाले स्थानीय प्रशासन,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र सरोकारवाला निकायहरूको अनुगमन प्रणालीमाथि पनि औँला उठाएको छ।बजारमा खुलेआम अखाद्य वस्तु बिक्री भइरहँदा सम्बन्धित निकाय मौन बस्नु वा फितलो अनुगमन गर्नुले यस्ता गैर जिम्मेवार उद्योगीहरूलाई थप प्रोत्साहन मिलेको स्थानीयको आरोप छ।सर्वसाधारणको जीवनसँग खेलबाड गर्ने“जोया वाटर इन्डस्ट्रिज”लाई तत्काल कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न स्थानीयले माग गरको छन्।साथै,उक्त उद्योगबाट उत्पादित पानीको प्रयोगशाला परीक्षण गरी गुणस्तरहीन पाइएमा उद्योगको उत्पादन तत्काल रोक्न र अनुमति पत्र खारेज गर्न सर्वसाधारणले जोडदार माग गरेका छन्।जनस्वास्थ्यमाथि भइरहेको यस्तो खेलबाड नियन्त्रणका लागि सम्बन्धित निकायले अविलम्ब कठोर कदम चाल्न अति आवश्यक छ ।