करिब साँढे आठ करोडमा निर्माण भएको बसपार्क मलंगवा नगरपालिकालाई हस्तान्तरण

1k Shares

सर्लाहीको मलंगवा नगरपालिका २ मा निर्माण भएको बसपार्क  एक कार्यक्रमका बिच मलंगवा नगरपालिकालाई हस्तान्तरण गरिएको छ । संघीय आयोजना कार्यान्वयन ईकाइ धनुषाले  बुधबार आयोजना गरेको एक कार्यक्रमका बीच ईकाइका प्रमुख प्रदिप खनालले नगर प्रमुख नागेन्द्र प्रसाद यादवलाई बसपार्क हस्तान्तरण गरेका हुन ।
उक्त बसपार्कको निर्माणले नगर व्यवस्थित हुनुका साथै नगरको विकासमा समेत टेवा पुर्याउने नगर प्रमुख यादवले बताए । नगरपालिकाको सभा हलमा आयोजना भएको एक कार्यक्रममा सुविधासम्पन्न बसपार्क निर्माण गरी हस्तान्तरण गरेकोमा ईकाइ प्रमुख र निर्माण कम्पनीलाई नगर प्रमुख यादवले धन्यवाद दिएका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए ।
मलंगवा नगरपालिका २ स्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीको छेउमा निर्माण भएको उक्त बसपार्कको जम्मा क्षेत्रफल २५ रोपनी रहेको छ ।  ८ करोड ३१ लाखमा कन्काई इन्टरनेशनल विल्डर्स सुरुङ्गा,झापाले सुबिधा सम्पन्न बसपार्क निर्माण गरेको थियो ।
नवनिर्मित बसपार्कमा एकैसाथ ५२ वटा ठूला र २० वटा साना गरि ७२ वटा गाडीहरु पार्किङ गर्न सक्ने क्षमता रहेको र यसमा अढाई तल्ले टर्मिनल भवन,पब्लिक शौचालय ,खानेपानीको व्यवस्था,यात्रु प्रतिक्षालय,वर्कसप एरिया,पार्किङ लगायतका सुविधाहरु रहेको निर्माण कम्पनीले जनाएको छ ।
नव निर्मित सुबिधा सम्पन्न बसपार्कको यही माघ १८ गतेभित्र विधिवत रुपमा एक समारोहको आयोजना गरि उद्घाटन गरिने मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए ।

सम्बन्धित समाचार