न्यायाधीश बम हत्या प्रकरणका दोषी थापा घरैबाट पक्राउ

234 Shares

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका बेला कारागारबाट फरार भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोक निवासी अन्दाजी ४८ वर्षिय बाबु थापा भन्ने मेघराजलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र ईलाका प्रहरी कार्यालय हरिवनको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथ देवलबाट भागेका थापालाई प्रहरीले बुधबार बागमती नगरपालिका–१ मिलनचोक स्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।
थापा घर फर्किएको सूचना पाएपछि परिचालित प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउका क्रममा उनको साथबाट दुई थान पेस्तोल,तीनवटा म्यागजिन र १५ राउन्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
गत २४ भदौमा कारागारबाट फरार भएपछि थापा नेपाल र भारतका विभिन्न स्थानमा लुकेर बसेको प्रहरीको भनाइ छ।पहिचान लुकाउन भेष बदल्ने र सम्पर्कका लागि आवश्यकता अनुसार अरूको मोबाइल प्रयोग गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनको खोजी तिब्र पारेको थियो ।न्यायाधीश बम हत्या प्रकरणमा थापा यसअघि पनि लामो अनुसन्धानपछि पक्राउ परेका थिए ।दुई वर्ष सात महिनाको निगरानी र खोजीपछि प्रहरीले २०७१ मा उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो।तत्कालीन समयमा उक्त पक्राउलाई प्रहरीको महत्वपूर्ण उपलब्धि मानिएको थियो।
चुरेभावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष थापा पार्टीको आन्तरिक नेतृत्व विवादसँग जोडिएको न्यायाधीश बम हत्या प्रकरणमा दोषी ठहर भएका व्यक्ति हुन्।न्यायाधीश बमको २०६९ जेठ १८ गते ललितपुरको यूएन पार्क क्षेत्रमा गोली हानी हत्या गरिएको थियो । बंगलामुखी मन्दिरमा दर्शन गरेर फर्कंदै गर्दा उनको सवारीसाधन रोकेर गोली प्रहार गरिएको थियो ।प्रहरीका अनुसार हत्याको पृष्ठभूमिमा चुरेभावर राष्ट्रिय पार्टीको नेतृत्व विवाद र सर्वोच्च अदालतको अन्तरिम आदेश जोडिएका थिए।निर्वाचन आयोगले केशव मैनालीको सट्टा थापा नेतृत्वको समूहलाई वैधानिकता दिएपछि मैनाली सर्वोच्च अदालत पुगेका थिए ।
त्यसपछि न्यायाधीश बमको एकल इजलासले आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।उक्त आदेशले आफ्नो राजनीतिक भविष्य समाप्त हुने ठानेर थापाले हत्याको योजना बनाएको अनुसन्धानको निष्कर्ष थियो।तत्कालीन अनुसन्धान अधिकारीहरूले पनि राजनीतिक विवाद र न्यायिक आदेशलाई हत्याका प्रमुख कारणका रूपमा औंल्याएका थिए । 

सम्बन्धित समाचार