सर्लाहीको बरहथवा नगरपालिका–२ निवासी पहाडी परिवारले आफ्नो छोराको स्मृति तथा आत्माको चीर शान्तिको कामना गर्दै मानव सेवाश्रममा मिष्ठान्न भोजन गराएका छन् ।बरहथवा नगरपालिका–२ का हरि पहाडी दम्पतीले आफ्ना छोराको स्मृति तथा आत्माको चीर शान्तिको कामना गर्दै हरिवन नगरपालिका–१ कैलाशपुरीस्थित रहेको मानव सेवा आश्रममा आश्रीत असहाय तथा सहारा विहीन नागरिकहरूलाई मिष्ठान्न भोजन गराएका हुन। ।दिवंगत छोराको पुण्यतिथिको अवसर पारेर पहाडी परिवारले आश्रममा आश्रित असहाय,ज्येष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति तथा सडक मानवहरूलाई श्रद्धा,स्नेह र आत्मीयताका साथ स्वादिष्ट तथा मिष्ठान्न भोजन गराएका हुन्।
आडम्बरयुक्त फजुल खर्च गरेर जन्मदिन वा स्मृति दिवस मनाउने कुरीतिलाई निरुत्साहित गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आश्रममा भोजन गराइएको पहाडी परिवारले जनाएको छ।ठूला–ठूला भोजभतेर र तडकभडकमा गरिने खर्चलाई कटौती गरी आश्रममा रहेका असाहायहरूसँग खुसी साट्दा मनमा अलौकिक शान्ति र सन्तोष मिल्ने अनुभूति पहाडी परिवारले व्यक्त गरेका छन्।
भोजन ग्रहण गराउनुअघि दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै आश्रमका आश्रितहरूलाई आफ्नै हातले आदरपूर्वक मिष्ठान्न परिकारहरू पस्किएर खुवाइएको थियो। मीठो र आत्मीय वातावरणमा भोजन गर्न पाउँदा आश्रममा आश्रीत वृद्धवृद्धा तथा आश्रितहरूका अनुहारमा खुसीको चमक छाएको थियो।

शोक र स्मृतिलाई पनि समाजसेवामा रूपान्तरण गर्ने पवित्र कार्यको मानव सेवा आश्रम कैलाशपुरीका प्रतिनिधिहरुले उच्च प्रशंसा गरेका छन्।आफ्ना दिवंगत प्रियजनको सम्झनामा असहाय र भोका मानिसहरूलाई भोजन गराउनुभन्दा ठूलो धर्म र सच्चा श्रद्धाञ्जली अरू केही हुन नसक्ने आश्रमका प्रतिनिधिले बताएका छन् ।
साथै,यस्ता परोपकारी कार्यले नै समाजमा अनाथ र असहायहरूका लागि आशा र भरोसाको दीप बाल्न मद्दत पुर्याउने भन्दै आश्रमका प्रतिनिधिहरुले पहाडी परिवारप्रति आभार समेत व्यक्त गरेका थिए ।मानव सेवा आश्रम कैलाशपुरीले विगत लामो समयदेखि सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टकर जीवन बिताउन बाध्य असहाय,मनोरोगी तथा अभिभावक विहीन व्यक्तिहरूको उद्धार, संरक्षण,उपचार र पुनर्मिलनको पवित्र अभियान सञ्चालन गर्दै आएको छ।आश्रममा हाल दर्जनौँ असहायहरूले आश्रय,ममता र नयाँ जीवन पाइरहेका छन्।
चाडपर्व,जन्मदिन,वैवाहिक वर्षगाँठ वा स्मृति दिवस जस्ता अवसरहरूमा यसरी नै मानव सेवा आश्रममा सहयोग गर्ने संस्कृति पछिल्लो समय व्यापक रूपमा विस्तार हुँदै गएको छ। कैलाशपुरीको मानव सेवा आश्रममा सम्पन्न यस मिष्ठान्न भोजन कार्यक्रमले समाजमा भाइचारा,करुणा,मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।